काठमाडौं - नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन, लगानी र सम्भावनाबारे सरोकारवाला निकायसँग बृहत् अन्तरक्रिया सम्पन्न गरेको छ ।
भैरहवामा आयोजित कार्यक्रममा चेम्बर लुम्बिनी प्रदेशले मुख्यमन्त्री चेत नारायण आचार्य, प्रदेशका मन्त्री, निजी क्षेत्रका प्रतिनिधीसँग वृहत् अन्तर्क्रिया आयोजना गरेको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भैरहवा विमानस्थल स्थायी रूपमा सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्ने बताए । ‘लुम्बिनीमा लगानी: अवसर र चुनौती’ विषय कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले विमानस्थल सञ्चालनका लागि केन्द्र सरकारसँग समन्वय गर्ने प्रतिबद्धता समेत जनाए ।
प्रदेश सरकारलाई बलियो बनाउने गरी आन्तरिक समन्वय एवं लगानीको वातावरण सिर्जना गर्ने गरी काम भइरहेको उनको भनाई छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा संचालन गर्नका लागि सरकार प्रयासरत रहेको उनको भनाई छ ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले निजी क्षेत्रमा लगानीको वातावरण बन्नुपर्ने बताए । लुम्बिनी प्रदेश लगानी र प्राकृतिक श्रोतको दृष्टिकोणले उत्कृष्ट प्रदेश रहेको वरिष्ठ उपाध्यक्ष मल्होत्राको भनाई छ । लुम्बिनी प्रदेश चेम्बरका अध्यक्ष टंक प्रसाद पोख्रेलल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरोकारवाला निकायबिच पूर्ण समन्वय र पहल कदमी लिनुपर्नेमा जोड दिए ।
भारतीय पर्यटकलाई चेकजाँचका नाममा अनावश्यक दुख दिने काम बन्द गर्नुपर्ने उनको भनाई छ । लुम्बिनी प्रदेशमा लगानी भित्र्याएर पर्यटक आकर्षित गर्नुपर्नेमा उनले जोड दिए । भैरहवा विमानस्थल पूर्णरूपमा सञ्चालन गर्नका लागि सबैको पहल आवश्यक रहेको अध्यक्ष पोख्रेलले जोड दिए ।
प्रतिक्रिया