काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन तथा शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरेका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त तथा २०औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ओलीले सबै सुखी होउन् भन्ने बुद्धका सन्देशको अर्काे रुप नै आफूहरुले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा भएकाले यसलाई पूरा गर्न सबैमा आग्रह गरे ।
अभिभावको लगानी, माया र मेहनतबाट दीक्षित हुने अवस्थासम्मको सफलता प्राप्त गरेकामा अभिभावक र विद्यार्थीलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले बुद्ध दर्शन, आचरण तथा शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरे । “मानवीय गुण भनेको ढाँटछल, जालझेल र प्रपञ्च होइन । मानवीय गुण भनेको शान्ति, करुणा र प्रेमको गुण हो”, प्रधानमन्त्री ओलीले भने, “घृणाले घृणा, अशान्तिले अशान्ति र शत्रुताले शत्रुता बढाउने तथा प्रेमले प्रेम, शान्तिले शान्ति र राम्रोले राम्रो नै बढाउने बुद्धदर्शनलाई हामीले पछ्याउनुपर्छ । नराम्रो मार्गमा हिँड्न हुन्न भन्ने थाहा पाइपाइकन पनि त्यस बाटोमा मान्छे हिँडिरहेको हुन्छ । त्यसबाट लाभ हुँदैन भन्ने थाहा पाएर गलत कामको लत बसाउनु हुँदैन । असल मार्गमा हिँड्न सक्नुपर्छ ।”
प्रधानमन्त्री ओलीले लुम्बिनी बुद्धको जन्मथलो र बौद्ध दर्शनको पनि थलो भएको उल्लेख गर्दै यसलाई पावनभूमिका रुपमा विकसित र प्रचारप्रसार गर्न सरकारले पहल गर्दै आएको बताए। उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गरेको र दोस्रो कार्यकालमा पाँच हजार जना सहभागी हुनसक्ने ध्यान केन्द्र बनाउने काम गरेको स्मरण गरे ।
समारोहमा कुलपति ओलीबाट भिक्षुणी धम्मावती गुरुमाँलाई मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधि प्राप्त दुई सय ८९ विद्यार्थी दीक्षित भएका थिए । प्रधानमन्त्री ओलीले जीवनमा कसैको कुभलो नचिताउने तथा सधैँ सकारात्मक चिन्तन र व्यवहार प्रदर्शन गर्नुहुने गुरुमाँले मानार्थ विद्यावारिधिको सम्मान स्वीकार गरेर विश्वविद्यालयलाई थप सुपरिचित गराएको बताए ।
याे सँगै, भित्री काठमाडौंमा आमाहरूले हुर्केका छोराछोरीलाई सुनाउने कथाकी पात्र हुन्, धम्मावती गुरुमाँ । जुन बेला काठमाडौंमा थेरवादी बौद्ध धर्म राम्ररी स्थापित भइसकेको थिएन, धेरैका लागि नौलो थियो, त्यही बेला ललितपुरकी एक १४ वर्षीया बालिकाले तय गरेको अद्वितीय यात्राको कथा हो यो ।
सात दशकअघि धनाढ्य नेवार परिवारकी एक्ली छोरी गणेशकुमारी शाक्यले निर्णय गरेकी थिइन्, घर त्यागेर भिक्षुणी बन्ने । उनले ललितपुरको सुमंगल विहारमा बर्माबाट आएका भिक्षुबाट बौद्ध धर्मको प्रारम्भिक शिक्षा प्राप्त गरेकी थिइन् । थप अध्ययनका लागि बर्मा जानुपर्थ्यो । आमाबुबाबाट अनुमति नपाएपछि उनले निर्णय गरिन्, घरबाट भागेर बर्मा जाने । उनले २००६ सालमा तय गरेको त्यो यात्रा अन्तत: नेपाली थेरवादी बौद्ध धर्मको इतिहासमा कोसेढुंगा सावित भयो ।
आफ्ना दुई साथीसँगै ललितपुरबाट उनी थानकोट पुगिन् । त्यसपछि हिँडेर भीमफेदी । त्यहाँबाट भारतको कुशीनगर । त्यहीं उनी भिक्षुणी भइन् । भिक्षुणी भएपछि उनको नाम रह्यो, धम्मावती । त्यहाँबाट उनीहरू बर्मा जान तयार भए । तर उनीहरूसँग कुनै आधिकारिक कागजात थिएन । यत्तिकैमा उनका दुई साथी पनि छुटे । धम्मावतीले निर्णय गरिन्, जंगलको बाटो भएर बर्मा जाने । त्यसैअनुसार नागाल्यान्ड र आसामको जंगली बाटो भएर उनी बर्मा पुगिन् । लगभग एक साताको त्यो पैदल यात्रा वास्तवमा कति धेरै कठिन थियो, आज अनुमान गर्न पनि सकिन्न । बर्माको विहारमा रहेर उनले १६ वर्ष बौद्ध धर्मको अध्ययन गरिन् र २०२० सालमा नेपाल फर्किन् । अहिले नेपालको भिक्षुणी परम्परामा सबैभन्दा ठूलो र आदरणीय नाम हो, धम्मावती गुरुमाँ ।
काठमाडौं आएपछि उनले भित्री काठमाडौंको नःघल टोलमा स्थापित गरिन्, धर्मकीर्ति विहार । असनबाट ठमेलतिर लाग्ने बाटोमा पर्छ, नस्घल टोल । धर्मकीर्ति थेरवादी महिला भिक्षुणीहरूको विहार हो । नेपालमा जति धेरै सम्मानसँग उनको नाम लिइन्छ, त्योभन्दा पनि धेरै बढी सम्मान धम्मावती गुरुमाँलाई बर्मामा छ । राजनीतिक परिवर्तनसँगै बर्मा अचेल म्यानमार भएको छ, तर धम्मावती गुरुमाँप्रतिको आदर ज्युँका त्युँ छ ।
यो कथामा जोडिन आउने अर्की पात्र हुन्, आङ साङ सु ची । उक्त विहारसँग लामो समयदेखि सम्बन्ध रहेका बौद्ध विद्वान् मदनरत्न तुलाधरको भनाइ सापटी लिने हो भने सु चीलाई हल्का फुल्का नेपाल भाषा बोल्न पनि आउँछ ।
अचेल बानी छुटेको हुनुपर्छ, नत्र उनले नेपालभाषा मज्जाले बुझ्थिन् । गत वर्ष एसिया प्यासिफिक सम्मेलनका लागि काठमाडौं आउँदा सु ची फेरि एकपल्ट त्यही धर्मकीर्ति बिहार पुगिन् र धम्मावती गुरुमाँप्रति भावपूर्ण सम्मान पोखिन् ।
त्यो क्षण वास्तवमै दुर्लभ थियो । सु ची म्यानमारकी स्टेट काउन्सिलर हुन्, प्रधानमन्त्री सरहकी । अझ उनी नोबेल शान्ति पुरस्कार प्राप्त महिला पनि हुन् । तर जति बेला उनी धर्मकीर्ति विहार पुगिन्, उनको व्यवहार सामान्य थियो, शान्ति र सौम्यताले भरिएको । जतिले त्यो क्षणलाई नजिकबाट आत्मसात् गर्न पाए, सबैले फेरि पुराना दिन सम्झे, जब सु ची पहिलोपल्ट धर्मकीर्ति विहार पुगेकी थिइन् ।
सु चीका श्रीमान् माइकल एरिस बेलायती हुन् । उनी हिमाली बौद्ध धर्मका ज्ञाता थिए । चार दशकअघि आफ्नो अनुसन्धानका क्रममा उनी नेपाल आएका थिए, सु चीसँगै । एरिस अनुसन्धानमा व्यस्त हुँदा सु ची भने धर्मकीर्ति विहारमा हुन्थिन् । अरू भिक्षुणीहरूलाई अंग्रेजी पनि सिकाउँथिन् ।
सु चीका कान्छा छोरा किम एरिसको जन्म काठमाडौंमै भएको थियो । सुत्केरी सु चीलाई धम्मावती गुरुमाँले आफ्नै छोरी जस्तै स्याहारिन् । यसै क्रममा उनले बौद्ध धर्मबारे ज्ञान पनि पाइन् । अहिले पनि धर्मकीर्ति विहारमा जानुपर्छ र त्यसको वरिपरि रहेका पाका आमाहरूलाई भेट्नुपर्छ, उनीहरूसँग सु चीबारे सुनाउने धेरै कथा हुने गर्छ । उनीहरूले सु चीलाई नजिकबाट देख्ने, बोल्ने र संगत गर्ने अवसर पाएका छन् ।
यो सबै चर्चा फेरि एकपल्ट किन भन्दा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार पाँचदिने राजकीय भ्रमणमा म्यानमार जाँदैछिन् । त्यस क्रममा पक्कै पनि सु चीसँग भेट हुनेछ । कुराकानी पनि हुनेछ । त्यसमा पक्कै पनि धम्मावती गुरुमाँको त्यो यात्राबारे कुरा निस्कनेछ, अनि सु चीले नेपालसँग रहेको आफ्नो आत्मीय सम्बन्धबारे पनि चर्चा गर्ने्छिन् । आफू पनि महिला भएको नाताले राष्ट्रपति भण्डारीका लागि यो उत्तिकै घतलाग्दो विषय हुनेछ ।
म्यानमार आफैंमा थेरवादी बौद्धमार्गीको बाहुल्य भएको देश हो । बौद्ध धर्मको इतिहासमा पुरानो वर्माको ठूलो महत्त्व छ । सबैभन्दा पहिला बुद्धको शरणमा जाने तपस्सु भल्लुक दाजुभाइ थिए । उनीहरू बर्मेली व्यापारी थिए । उनीहरूले गौतम बुद्धलाई भेट्दा संघको स्थापना पनि भएको थिएन । बुद्धले उनीहरूलाई चिह्नका रूपमा एक मुठ्ठी केश दिएका थिए । त्यस अगाडि तपस्सु भल्लुकले बुद्धलाई भोजन दान दिएका थिए । यो थियो, सातु र महको भोजन ।
बर्मामा के विश्वास गरिन्छ भने गौतम बुद्ध स्वयं त्यहाँ पुगेका थिए । उनी बोधिज्ञान प्राप्तिको तीन महिना पाँच दिनपछि नै बर्मा पुगेको मानिन्छ । यस अर्थमा बर्मेली बौद्ध धर्मको इतिहास बुद्ध जत्तिकै पुरानो छ । ऐतिहासिक रूपमा भने राजा अशोकको पालामा बौद्ध धर्म बर्मा पुगेको मानिन्छ । थेरवादी परम्पराअनुसार बर्मामा पाँचौं र छैटौं संगायना भएको थियो । सन् १८७१ मा भएको पाँचौं संगायनाकै क्रममा सम्पूर्ण त्रिपिटक संगमरमरमा कुँदिएको थियो ।
विपश्यना ध्यानको पुनरुदय बर्माबाटै भएको हो । नेपालमा थेरवादी बौद्ध धर्मको स्थापना, प्रचार र प्रचारमा पनि बर्माको महत्त्वपूर्ण योगदान छ । नेपालका सुरुआती समयका प्रमुख भिक्षु र भिक्षुणीले बर्मामै बौद्ध धर्मको अध्ययन गरेका थिए । यसको सबैभन्दा राम्रो उदाहरण त धम्मावती गुरुमाँ नै रहिन् । अहिले पनि बर्मामा गएर बौद्ध धर्मको अध्ययन गर्ने परम्परा कायम छ । धम्मावती गुरुमाँले बरोबर भन्ने गरेकी छन्, ‘नेपाल र बर्माको सम्बन्धको सबैभन्दा ठूलो आधार भनेकै धार्मिक र सांस्कृतिक नाता हो ।’
प्रतिक्रिया