काठमाडौं - नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले पार्टीको पदाधिकारी संख्या बढाउने भएको छ । २१ सदस्यीय पदाधिकारीमा दुई जना थपेर २३ पुर्याउने तयारी गरिएको छ । यसको उद्देश्य पूर्व उपराष्टपति नन्दबहादुर पुन र पूर्व प्रदेश प्रमुख अमिक शेरचनलाई उपाध्यक्ष बनाउने तयारी रहेको बताइन्छ ।
पुन देशको उपराष्टपति भैसकेको व्यक्ति किन फेरि एउटा राजनीतिक दलको उपाध्यक्ष बन्न पर्यो ? यसलाई सामान्य रुपमा लिन नसकिने माओवादीकै एक केन्द्रीय नेताले बताएका छन् । देशको सम्मानित स्थानमा पुगेको व्यक्ति दलीय राजनीतिमा आएको घटना बिरलै देखिन्छ । माओवादीमा चुलिएको अन्तरबिरोध र फेरि शक्तिमा पुगेर आफ्ना दुई पुत्रहरुको संंरक्षणको लागि पार्टी राजनीतिमा सक्रिय बन्न पुनलाई एक किसिमको दवाव नै छ । उनका छोराहरु जितेन्द्र र दीपेश सहकारी तथा सुन काण्ड लगायतमा मुछिएका छन् । उपराष्टपति रहँदा विवादमा नआएका पुनको व्यक्तित्वमा छोराहरुकै कारण विभिन्न प्रश्नहरु उठिरहेको बेला सक्रिय राजनीतिमा आउने तयारीले त्यस आशंकालाई बल पुर्याएको मानिन्छ ।
पुनलाई पार्टीमा फर्काउने अर्को पर्दा पछाडि रहेको कारण पार्टीमा बढ्दै गएको अन्तरबिरोध हो भनिन्छ । संस्थापनपक्षमा रहेका नेता वर्षमानको विकल्प तयार पार्न पुनलाई सकिय बनाउन एकथरीका नेताहरुले चासो देखाएका हुन । पुनले भित्रभित्रै छुट्टै गुट बनाउन खोजेको खुमलटारको आशंका रहेको छ । उनी पटक पटक विभिन्न काण्डमा मुछिन थालेका छन् । चिनियाँ व्यापारीसँगको मलकाण्ड र सुन काण्डमा पनि उनी संलग्न रहेको कुरा आएपछि प्रचण्डको किचेन क्याविनेट पुनलाई साइड लगाउने उपाय खोजिरहेको बताइन्छ ।
दुवै नेता रोल्पाका भएको र दुवै जना जनजाति समुदायका भएकोले एकलाई अर्काको विरुद्ध उभ्याउन सजिलो हुने खुमलटारको बुझाई रहेको माओवादी वृत्तमा चर्चा छ ।
अर्का नेता अमिक शेरचन तत्कालीन जनमोर्चा नेपालका अध्यक्ष हुन । उनी २०६२ / ६३ को जनआन्दोलनताका जनमोर्चाको अध्यक्षको हैसियतमा क्रियाशील थिए । उनी लुम्बिनी र गण्डकी प्रदेशको प्रदेश प्रमुख भैसकेका व्यक्ति हुन । उनी पनि मुलुकको सम्मानित पदमा पुगिसकेका व्यक्ति हुन । उमेरका हिसाबले पनि उनी अब सकिय राजनीति गर्न सक्ने अवस्थामा नरहेको बताइन्छ । अहिले पनि उनलाई हिंड्न सहयोगीको आवश्यक्ता पर्ने गर्दछ । यस्तो अवस्थाका शेरचनलाई किन पार्टीको पदाधिकारी (उपाध्यक्ष) मा ल्याउन लागिएको होला भन्ने जिज्ञासामा एक स्रोत भन्छ, पार्टीमा चेक एण्ड व्यालेन्स मिलाउन अध्यक्षले यो रणनीति अपनाउनुभएको हो । नारायणकाजीलाई साइजमा राख्न अमिक दाईलाई उपाध्यक्ष बनाउन लागेको हो ।
माओवादी अध्यक्ष प्रचण्ड पार्टी भित्र होस वा बाहिर अन्तरविरोधमा खेल्न माहिर मानिन्छन् । पार्टीमा जहिले पनि एउटा नेताका विरुद्ध अर्कोलाई भिंडाएर राजनीतिक लाभ लिन खप्पिस प्रचण्डको विगत संझनेहरु यस घटनालाई अस्वभाविक मान्दैनन् । विगतमा कहिले बाबुराम त कहिले मोहन वैद्यलाई एक अर्काका विरुद्ध उभ्याउँदै आएका प्रचण्डले अहिले पनि आफू मातहतका नेताहरु जो नेतृत्वमा आउने संभावना राख्छन् उनीहरुलाई प्रयोग गर्दै आएका छन् । त्यसको शिकार पछिल्लो पटक वर्षमान र जनार्दन शर्मा भएका छन् । त्यसैले पुन र शेरचनको इन्टी पनि प्रचण्डको यही रणनीति अन्तर्गत नभएको होला भन्न सकिन्न ।
प्रतिक्रिया