सिरिया बिद्रोहीको कब्जामा , राष्ट्रपति देश छोडेर भागे

आइतबार, २३ मंसिर २०८१, १३ : ०३

काठमाडौं - गृहयुद्धबाट गुज्रिरहेको सिरियामा विद्रोहीहरुले कब्जा गरेका छन् । त्यहाँका राष्ट्रपति बसर अल असादले देश छाडेका छन् ।समाचारमा जनाइए अनुसार हायात तहरिर अल – शाम नामक इस्लामवादी विद्रोही समूह राजधानी दमास्कस प्रवेश गरेसँगै राष्ट्रपति असाद भागेका हुन् । 

राष्ट्रपति असाद भागेर कहाँ गए भन्नेबारे स्पष्ट जानकारी भने हुन सकेको छैन । उनी इरान गएको हुनसक्ने धेरैको अनुमान छ । 
सिरियाका सरकारी अधिकारीहरुले राष्ट्रपति असाद एउटा विमानमार्फत उडेको पुष्टी गरेका छन् । 

हिजबुल्लाहका सेना र अन्य सुरक्षा बलले पनि दमास्कस अन्तराष्ट्रिय विमानस्थलमा छाडिसकेको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । हिजबुल्लाहले लामो समयदेखि राष्ट्रपति असादको समर्थनमा कामकारवाही गर्दै आएको थियो । विद्रोही अल– शाम समूहले यसअघि होम्स शहरमा कब्जा गर्दा पनि हिजबुल्लाह सेना त्यहाँबाट भागेका थिए । 

राष्ट्पति असाद भागेसँगै उक्त विद्रोही समूहले कालो युगको अन्त्य भएको दावी गरेको छ । साथै सो समूहले राष्ट्रपतिको बर्हिगमनले ‘तानाशाही युग’को अन्त्य भएको बताएको छ । 

त्यस्तै अल–शाम समूहले टेलिग्राम च्यानलमार्फत राजधानीबासीलाई त्रसित नहुन आग्रह गर्दै अब नयाँ युगको शुभारम्भ हुन गइरहेको सन्देश पनि जारी गरेको छ । तर, नागरिकहरुमा भने आतंक पैदा भएको छ । 

विद्रोही समूह हायत तहरीर अल– शाम सन् २०१२ मा गठन भएको थियो । सुरुमा यो समूहको नाम अल– नुस्रा थियो । सन् २०१३ मा अल– कायदासँग एकता गरेको यस समूह पुनः २०१६ मा छुट्टिएर हायत तहरीर अल– शाम बनेको हो । कतिपय युरोपियन देहरुले अहिले पनि यस समूहलाई अल– कायदाकै एक भाग मान्ने गरेका छन् ।
एजेन्सी

आइतबार, २३ मंसिर २०८१, १३ : ०३

प्रतिक्रिया