काठमाडौं - मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले प्रादेशिक छात्रवृत्ति वितरण गरेको छ ।
कलेजले आइतबार प्रादेशिक छात्रवृत्ति परीक्षामा सर्वोत्कृष्ट भएका पाँच वटा प्रदेशका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको हो । प्रादेशिक छात्रवृत्ति पाउनेहरूमा मधेस प्रदेशबाट अभिषेक कुमार यादव, बागमती प्रदेशबाट सुवास गिरी, गण्डकी प्रदेशबाट पार्वती पनेरु, लुम्बिनी प्रदेशबाट विजयकुमार यादव र सुदूरपश्चिम प्रदेशबाट सरोज देउवा रहेका छन् ।
कोसी प्रदेश र कर्णाली प्रदेशबाट भने प्रादेशिक छात्रवृत्ति छनौट बाँकी रहेको छ । नयाँ शैक्षिक सत्रको भर्ना अभियान अझै केही दिन बाँकी रहेकाले दुई प्रदेशको प्रादेशिक छात्रवृत्ति वितरण गर्न बाँकी छ ।छात्रवृत्ति पाउने विद्यार्थीहरूले क्रमशः इलेक्ट्रिक्स एण्ड इलेक्ट्रोनिक्स, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, विडिएच, सिभिल एण्ड रुलर इन्जिनियरिङ विषयमा अध्ययन गर्नेछन् ।
छात्रवृत्ति पाउने सबै विद्यार्थीहरूले सामुदायिक विद्यालय अध्ययन गरेका छन् । कलेजले प्रादेशिक छात्रवृत्ति प्रदान गरेर दूर दराजमा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई इन्जिनियरिङ शिक्षा हासिल गर्ने अवसर दिएकोमा विद्यार्थीहरूले कृतज्ञता व्यक्त गर्दै मेहनत गरेर अध्ययन गर्ने बताए ।
कलेजका सहायक प्राचार्य मोहन ध्वज केसीले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै पोखरा विश्वविद्यालयको छात्रवृत्ति मापदण्ड अनुसार प्रादेशिक छात्रवृत्तिको परीक्षा लिइएको बताउँदै कलेज सदैव जेहेन्दार र मेहनती विद्यार्थीहरूको पक्षमा रहेको बताए। कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले छात्रवृत्तिको मर्यादा र गरिमालाई कायम राख्ने गरी मेहनतका साथ अध्ययन गर्न सुझाए । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको इन्जिनियरिङ शिक्षामा पहुँच पुगोस् भन्ने हेतूले कलेजले प्रादेशिक छात्रवृत्ति दिँदै आएको प्राचार्य भण्डारीको भनाई छ ।
कलेजले हरेक वर्ष ७० लाख बराबरको प्रादेशिक छात्रवृत्ति वितरण गर्ने बताउँदै प्राचार्य भण्डारीले भने,‘नेपाल इन्जिनियरिङ कलेजले वर्षेनी गरिब तथा जेहेन्दार विद्यार्थीलाई विभिन्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यस वर्षपनि विभिन्न प्रदेशहरुबाट प्रादेशिक छात्रवृत्तिमा विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नुभएको छ । सामुदायिक विद्यालयमा पढेका विद्यार्थीहरूलाई इन्जिनियरिङ अध्ययन गर्न प्रेरित गर्नका लागि कलेजले यो छात्रवृत्ति प्रदान गरेको हो ।’
कलेजले हरेक वर्ष सामुदायिक स्तरमा कलेजका विकासमा उल्लेखनीय योगदान गर्दै आइरहेको चाँगुनारायण नगरपालिकाका ४ वटा वडाका दुई जना विद्यार्थी, कागेश्वरी मनहरा नगरपालिकाको वडा नं. ७ गरी ५ वटा वडा बाहेक चाँगुनारायण नगरपालिकाले सिफारिस गरेका गरिब, जेहेन्दार विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति र ५० प्रतिशत छुट सहितको छात्रवृत्ति दिँदै आएको छ ।
यसका अलावा कलेजमा कार्यरत शिक्षक कर्मचारीका सन्ततिहरूका लागि पनि छात्रवृत्ति दिँदै आएको छ । इन्जिनियरिङ अध्यनार्थ भर्ना हुने विद्यार्थीको आर्थिक, शैक्षिक अवस्था हेरेर विभिन्न छुटहरू पनि दिइने गरिएको छ । मुनाफारहित शैक्षिक संस्था भएकाले हरेक वर्ष कलेजले करिब १५ करोड बराबरको विभिन्न छात्रवृत्ति र छुटहरू दिँदै आएको छ ।
त्यसो त सामाजिक उत्तरदायित्व अन्तरगत गत वर्ष जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पबाट प्रभावित सामुदायिक विद्यालयका ५ जना विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको थियो । नेपालका दूर दराजमा रहेका विद्यार्थीहरूले सर्वसुलभ शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्राप्त गर्न सकुन् भनेर कलेज स्थापना भएको र आगामी दिनहरूमा पनि सोही अनुरूप विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्दै लैजाने प्राचार्य भण्डारीले बताए।
कलेजमा स्नातक तहमा इन्जिनियरिङ विधामा सिभिल, सिभिल एण्ड रुलर, कम्प्युटर, इलेक्ट्रिक्स एण्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, सिभिल फर डिप्लोमा होल्डर्स तथा आर्किटेक्टको पढाई हुने गरेको छ ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, कलेजको शैक्षिक नतिजा, विद्यार्थीले प्राप्त गर्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय अवसरहरूको मूल्याङ्कन गर्दै २०६० साल देखी लगातार स्थायी अनुमति दिँदै आएको छ ।
प्रतिक्रिया