विषाक्त लोकतन्त्रमा मौलाएका ‘फूलहरु’

मंगलबार, २५ मंसिर २०८१, १५ : ३७

काठमाडौं - दुनियाँमा विभिन्न किमिका शासन व्यवस्थाहरु छन् । ती मध्ये लोकतन्त्र सर्वाधिक रुचाइएको शासन पद्धति मानिन्छ । यसका परिभाषाहरु पनि विभिन्न किसिमले गरेको पाइन्छ । अमेरिकी पूर्व राष्ट्रपति अब्राहम लिङ्कनको लोकतन्त्र सम्बन्धीको परिभाषा आजको दिनसम्म सर्बस्विकार्य मानिएको छ । ‘जनताद्वारा, जनताको लागि, जनताको’ शासन पद्धति नै प्रजातन्त्र वा लोकतन्त्र हो भन्ने उनको भनाइ थियो । 

नेपालमा २०६२ / ६३ को जनआन्दोलनपछि स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई लोकतन्त्रको उच्चतम रुप मानिएको छ । यो व्यवस्था ल्याउन आजको माओवादी केन्द्रको उल्लेखनीय भूमिका रहेको छ । पछिल्लो समय राजनीतिक दलहरुको भूमिकालाई लिएर नागरिकहरुमा लोकतन्त्रप्रति नै वितृष्णा पैदा हुन थालेको हो कि भन्ने आभाष हुन थालेको छ । जे कुरालाई पनि लोकतन्त्रसित जोडेर व्याख्या गर्ने प्रचलनले वास्तविक लोकतन्त्रको मर्म नै के हो भन्ने प्रश्न पनि उठिरहेको छ । 

२०७९ सालको स्थानीय निर्वाचनपछि स्वतन्त्र व्यक्तिहरुले केही स्थानीय तहमा विजय हासिल गरे । काठमाडौंमा र्यापरको परिचय बनाएका बालेन्द्र शाह, धरानमा नागरिक अगुवा मानिएका हर्क साम्पाङ र धनगढीमा गोपाल हमाल ती पालिकाहरुको प्रमुख पदमा विजयी भए । प्रतिनिधिसभातर्फ भर्खरै पार्टी बनाएर राजनीतिमा आएका रवि लामिछाने विजयी भए । रविको पार्टी त संसदको चौथो ठूलो दलको रुपमा समेत स्थापित भयो । उनी देशको उपप्रधानमन्त्री सहित गृहमन्त्री बने । धनगढीका मेयर हमाल बाहेक रवि, हर्क र बालेनको चर्तिकलाबारे कोही अनभिज्ञ छैन । उनीहरु एकपछि अर्को काण्ड रचेर चर्चित बनिरहेका छन् । लाग्छ, उनीहरु यस्तै चर्चा बटुल्न मात्र राजनीतिमा आएका हुन । तिनै पात्रमध्ये रवि अहिले सहकारी ठगी लगायतका मुद्धामा प्रहरी हिरासतमा छन् । 

माथि उल्लेखित तिनैजना पात्रहरु हर्क, बालेन र रवि चर्चामा आउने अर्को कारण  माओवादी अध्यक्ष प्रचण्डले उनीहरुप्रति गरेको सार्वजनिक टिप्पणी हो । प्रचण्डले उनीहरु ‘लोकतन्त्रका सुन्दर फूल’ भनेर टिप्पणी गरेका थिए । प्रचण्डको भनाइ र उनीहरुको गतिविधिले आम मानिसमा लोकतन्त्रप्रति झन ठूलो भ्रम सिर्जना भएको छ । ती ‘फूल’ हरुले के गरे भन्ने संक्षिप्त चर्चा गरौं । 
सुरुवाति दिनहरुमा काठमाडौंका मेयर बालेन शाहप्रति मानिसहरुको बुझाई अत्यन्त सकारात्मक आशावादी रह्यो । उनी पढेलेखेका र केही गर्नै भनेर राजनीतिमा आएका नव युवक । इन्जिनियरीङ्गका विद्यार्थी भएकोले उनले विकासका पछिल्ला मोडलहरुबारे पनि राम्रो जानकारी राख्छन् भन्ने ठान्नु स्वभाविक नै हुन्छ । उनले तदनुकूलको व्यवहार पनि प्रदर्शन गरे । उनको विज्ञतामा कसेको विमति नहोला । तर उनले आफ्नै मतदाताहरुप्रति गरेको व्यवहार भने आलोचनाको घेराबाट मुक्त हुन सकेन । उनकै कारण राजधानी गरीबहरुको बन्न सकिरहेको छैन । सडकमा मकै पोलेर आफ्नो गुजारा चलाउने निकै गरीबहरुप्रति उनी आक्रामक बने । बालेनले तिनै भूईमान्छेहरुको उठिवास लगाए । सानोतिनो व्यापार गर्ने सडक व्यवसायीहरुलाई पनि लखेटे । उनी अझै गरी खाने वर्गलाई राजधानीबाट निकाल्ने योजनामा छन् । अर्थात शहर धनीहरुको मात्र हो भन्ने मान्यता स्थापित गर्न खोजिरहेका छन् । 

लोकतन्का अर्का फूल हुन धरानका मेयर हर्क साम्पाङ । उनको उद्दण्डताको बारेमा धेरै चर्चा गर्नुपर्ने अवस्था छैन । उनी कहिले पत्रकारलाई जथाभावि भन्छन् त कहिले आफ्नै उप प्रमुखलाई तथानाम भन्छन् । उनले जनताले दिएको अमूल्य मतको सम्मान गर्नै जानेका छैनन् । उनी आफू बाहेक कोही पनि सद्दे मान्छे नभएको जसरी प्रस्तुत भैरहेका छन् । 

लोकतन्त्रका अर्का सबैभन्दा चर्चित ‘सुन्दर फूल’  हुन रवि लामिछाने । जो अहिले न्यायिक हिरासतमा छन् । उनीमाथिका आरोप अत्यन्त गम्भीर छन् । सामान्य मानिसहरुले दुखजिलो गरेर सहकारीमा जम्मा गरेको रकम हिनामिना गरेको आरोप छ उनलाई । आाफ्नो वचत फिर्ता नपाएको कारण कतिपय मानिसहरुको उठीवास भएको छ । कोही आत्महत्या गर्न बाध्य भएका छन् । कोही मानसिक रोगी भएका छन् । उनले भने तिनै मानिसहरुले जम्मा गरेको पैंसा सहकारीबाट ल्याएर टेलिभिजन कार्यक्रम चलाउँदा ५ / ६ लाख तलब खाएर महंगो गाडी तथा अन्य सुविधा समेत प्रयोग गरेका थिए । 

दोहोरो नागरिकता काण्डमा त उनी अदालतबाट दोषी ठहर भएपछि पद त्याग्न समेत बाध्य भएका थिए । त्यतिबेला प्रधानमन्त्री प्रचण्डले उनलाई महान्यायाधिवक्तालाई प्रयोग गरेर दोहोरो राहदानी काण्डमा उन्मुक्ति दिलाएका थिए । सत्ता जोगाउनकालागि प्रचण्डले उनलाई जोगाइरहे । एक हदसम्म ओलीले पनि उनलाई ‘काँधेकुरी’ चढाएकै हुन ।  जसको कारण रविमा झन आँट बढ्दै गयो । रविका बारेमा एकजना विश्लेषकले पंक्तिकारसित भनेका थिए ,‘ रवि त सबै कलामा निपुण रहेछ । पैंसा भएको महिला भेटाए जति भए पनि श्रीमती बनाइहाल्ने । जुनसकै सहकारीबाट पनि पैंसा ल्याइहाल्ने । त्यो पनि करोडमा । राजनीतिमा पनि चतुर नै देखियो । केपी , प्रचण्ड जस्ता नेतालाई पनि आफ्नो बचाउमा उपयोग गर्न सक्ने । ’ 


माओवादी केन्द्रका युवा नेता रजमान तामाङ समाजमा अराजकता बढ्नुमा नेतृत्वकै दोष देख्छन् । ‘गरीब, दुखी र भूईमान्छेहरुलाई बा“च्न नदिनेहरु कसरी लोकतन्त्रका सुन्दर फुल हुन्छन् ? यस्तो प्रवृत्ति त राक्षसी प्रवृत्ति हो ’ प्रचण्डले भनेका सुन्दर फूहरुप्रति व्यंग्य गर्दै आफ्नो फेसबुक वालमा उनले लेखेका छन् । तामाङले भने जस्तै लोकतन्त्रमा राक्षसी प्रवृत्तिलाई स्विकार्न सकिंदैन । 

लोकतन्त्रमा लोकको सर्वोपरी हितलाई महत्व दिइन्छ । उन्मत्त सा“ढे जस्तो आचरण भएकालाई सुन्दर फूल मान्न सकिदैन । बरु त्यस्ता व्यक्तिहरु लोकतन्त्रका बिझाउने का“डा हुन । लोकतन्त्रका आफ्नै मूल्य, मान्यता र पद्धतिहरु हुन्छन् । त्यसैले लोकतन्त्र भनेको भिंडतन्त्र होइन । लोकतन्त्रका लागि लडेका ठूला नेताहरु पनि कतै भिंडतन्त्रलाई प्रोत्साहन गर्न त लागिरहेका छैनन् भन्ने प्रश्न पनि यतिबेला टड्कारो रुपमा उठिरहेको छ । लोकतन्त्रको बगैंचामा फूलेका ‘फूलहरु’ ले जे हर्कत गरे पनि भिंड तिनीहरुकै पक्षमा उर्लिएको छ । रविकै उदाहरण काफी छ । उनी माथि लागेका अभियोगहरु हल्का छैनन् । उनीमाथि सम्पत्ति शुद्धिकरण र संगठित अपराधमा पनि अनुसन्धान भैरहेको छ । एकपछि अर्को प्रमाण बाहिर आइरहेका छन् । उनले अस्विकार गरेका कसुरहरु पनि प्रमाणसहित अनुसन्धान अधिकारीहरुले फेला पारेपछि रवि ‘हैरान’ भएका छन् । तर पनि उनका समर्थकहरु आ“खा चिम्लेर भनिरहेका छन, ‘अघि बढ र िदाइ, जनता तिम्रो साथमा छ ’ । 

 त्यसैले पछिल्लो समय लोकतन्त्र नै विकृत हुन थालेको हो कि समाज नै विकृत भएको हो ? या लोकतन्त्रमा फुलेका ती सुन्दर फूलहरु नै दोषी हुन ? यो समयक्रममा प्रष्ट हुने नै छ । यस सन्दर्भमा सरुभक्तको उपन्यास ‘पागल वस्ती’ को कथानक स्मरण गर्नु उपयुक्त हुनेछ । उपन्यासको कथासार यस्तो छ : एउटा पागल व्यक्ति मानव वस्तीमा जान्छ । उसलाई सबैले पागल भन्छन् । तर पागल भनिएको व्यक्ति पागल थिएन । उसलाई सबैले पागल भनेकोले उ पागल हुन्छ । तर यथार्थमा सिंगो वस्ती नै पागल थियो । 

२०४२ सालतिर प्रजातन्त्रका पिता भनिएका गणेशमान सिंहले ‘जनता भेंडा हुन’ भन्दा उनको आलोचना पनि भएको थियो । सिंह जस्तो शिखर व्यक्तित्वले किन त्यस्तो भनेका होलान् ? अहिलेका घटनाक्रमहरु जो सतहमा आएका छन् तिनलाई नियाल्दा यो प्रश्न अझै अनुत्तरित नै छ जस्तो लाग्छ । तर पनि मानिसहरुले आफ्नै ढंगले जनता, लोकतन्त्र र तिनका सञ्चालकहरुबारे मूल्याङ्कन भने अवस्य पनि गरिरहेका होलान् । 

लोकतन्त्र आज जनताको कारण होइन नेतृत्वकै कारण विकृत भैरहेको छ । यसको लागि प्रमुख दलका नेताहरु नै जिम्मेवार छन् । ती मध्ये प्रचण्ड पनि एक मुख्य नेता हुन । आफ्नो स्वार्थको लागि गरिएका सबै फोहरी खेलहरुलाई लोकतन्त्रको संज्ञा दिनेहरुले कसरी लोकतन्त्रको रक्षा गर्न सक्छन् ? जसका कारण लोकले प्रताडित हुनुपरेको छ, ती पात्रहरु कसरी लोकतन्त्रका सुन्दर फूल हुन सक्छन् ?  
 

मंगलबार, २५ मंसिर २०८१, १५ : ३७

प्रतिक्रिया