काठमाडौं- नेकपा(माओवादी केन्द्र)का नेताहरुले सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा पुगेका रास्वपाका सभापति रवि लामिछानेको पक्षमा निरन्तर अभिव्यक्ति दिइरहेका छन् ।
मंगलबार चितवनमा आयोजित पार्टीको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले रविमाथि सरकारले प्रतिशोध साँधेको आरोप लगाएका छन् । उक्त खबरदारी सभामा प्रचण्डले अधिकांश समय रविकै पक्षमा र सरकारको विरुद्धमा अभिव्यक्ति दिएका थिए । उनले सहकारी ठगी प्रकरणमा सरकारले आफ्ना नेताहरुलाई जोगाएर सबै दोष रविमाथि लगाएको बताएका थिए ।
त्यस अघि पनि सामाजिक सञ्जालमार्फत निरन्तर रविकै पक्षमा प्रचण्डले पैरवी गर्दै आइरहेका छन् भने अर्का पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि रविको पक्राउलाई भेदभावपूर्ण व्यवहारको संज्ञा दिएका छन् । उनले कांग्रेस, एमालेका नेताहरुलाई जोगाएर रविलाई राजनीतिक प्रतिशोधपूर्ण तवरले पक्राउ गरिएको सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।
सत्ताबाट बाहिरिएर रन्थनिएका प्रचण्डले तारन्तार रविको पक्षमा अभिव्यक्ति दिनुको अन्तर्य भने अर्कै रहेको छ । स्रोतका अनुसार भारतको आडमा रविको दल रास्वपालाई समेटेर कांग्रेससहित फेरि सत्तामा फर्किने छिर्के दाउमा लागेका छन् । प्रचण्डले नातिनी स्मिताको बिहेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको शुभकामना सन्देश सार्वजनिक गर्नु आफूलाई भारतीय पक्षको साथ रहेको देखाउनकै लागि भएको स्रोतको दाबी छ ।
प्रचण्डको सचिवालयले भारतीय पक्षको प्रचण्डप्रति सहानुभूति कायम रहेको देखाएर सत्तारुढ दललाई तर्साउन पनि मोदीको शुभकामना सन्देश सार्वजनिक गरिएको बुझाइ सत्तारुढ दलका नेताहरुको पनि छ । एमालेका एक पदाधिकारीका अनुसार प्रचण्डले भारतीय पक्षसँग पारीवारिक तहको सुमधुर सम्बन्ध रहेको देखाएर सरकारलाई तर्साउन खोजेका हुन् ।
यस अघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई चिनियाँ कार्डको संज्ञा दिँदै प्रचण्डले भारतसँग सम्बन्ध बिगार्न नहुने अभिव्यक्ति दिएका थिए । आफ्नो प्रधानमन्त्रीत्वकालमा भारत भ्रमणमा जाँदा उज्वैन पुगेर गेरुवस्त्र धारण गरेका प्रचण्डले भारती पक्षलाई आफू हिन्दु राष्ट्रप्रति सकारात्मक रहेको सन्देश दिन खोजेका थिए ।अहिले फेरि मोदीको शुभकामना सन्देशलाई देखाएर भारतीय पक्षसँग आफ्नो निकटता प्रदर्शन गरिरहेका छन् ।
वर्तमान सत्ता गठबन्धनलाई भारत विरोधी देखाउन प्रचण्डले चीनसँग बिआरआई सम्झौताका लागि दबाबमूलक स्थिति सिर्जना गर्न भूमिका खेलेको बताइन्छ । प्रचण्डले सत्ता गठबन्धनका दल कांग्रेस एमालेबीच बिआरआईबारे व्याप्त असमझदारी बुझेर त्यसमा खेल्दै असन्तुष्टि बढाएर दरार ल्याउन हस्ताक्षरका लागि बाह्य दबाब सिर्जना गरेको भूराजनीतिका जानकारहरु बताउँछन् ।
बिआरआईमा कांग्रेस ऋण लिन नहुने पक्षमा अडिग रहेको थियो भने एमाले ऋण स्वीकार्न समेत तयार रहेको थियो । कांग्रेसको असहमतिका बीच ओली ऋण र अनुदान दुबै माध्यमबाट बिआरआई परियोजना कार्यान्वयन गर्ने सम्झौतामा हस्ताक्षर गर्न सफल भएका छन् ।
बिआरआई सम्झौता पछि कांग्रेस एमालेबीचमा दरार बढेको र असन्तुष्ट कांग्रेस गठबन्धनबाट बाहिरिएपछि आफ्नो पोल्टामा सत्ता फर्काउने दाउमा प्रचण्ड लागेको स्रोतको दाबी छ । त्यसका लागि भारतीय पक्ष आफ्नो अनुकूल रहेको र सत्तामा पुग्ने अंकगणितका लागि रास्वपालाई आफ्नो पक्षमा तान्ने रणनीति अन्तर्गत रविप्रति सहानुभूति प्रकट गरिरहेको बताइएको छ ।
आफ्नै पालामा रविलाई दुई पटक उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाएर दोहोरो राहदानीको मुद्दामा महान्यायाधिवक्ता प्रयोग गरेर उन्मुक्ति दिएका प्रचण्डले त्यसयता उनीप्रति सदाशयता राख्दै आएका छन् । सोही कारण रवि र रास्वपा आफूप्रति उदार रहेको बुझाइमा रहेका प्रचण्डले रविको गिरफ्तारीलाई पूर्वाग्रहपूर्ण बताउँदै उनकै पक्षमा उभिएका छन् ।
माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटालाई सहकारी ठगी प्रकरणको अनुसन्धान प्रक्रियामा रहेका रविको पक्षमा पार्टी आधिकारिक रुपमा उभिएको हो ? भनेर प्रश्न गर्दा उनले कुनै जवाफ दिएनन् । यस विषयमा आफूलाई कुनै जानकारी नभएको उनले प्रतिक्रिया दिए ।
प्रतिक्रिया