वैदेशिक रोजगारीबाट फर्किएर कृषिमा रमाउँदै ढकाल, दूध बेचेरै वार्षिक ४० लाख आम्दानी

उत्कृष्ट कृषकको रूपमा सम्मानित हुन सफल

मंगलबार, ०२ पुस २०८१, १५ : ४५

काठमाडौं- मेलम्ची नगरपालिका– १२ ढकालखहरेका ३६ वर्षीय राजकुमार ढकाल मध्यम वर्गीय परिवारका व्यक्ति हुन् । उनको परिवारमा उनीसहित श्रीमती, उनका बुबाआमा, भाइबुहारी ३ छोरा र २ छोरी गरी ११ जनाको संयुक्त परिवार रहेको छ । ढकाल बिहानैदेखि गाई भैँसीको स्याहार सुसारमा व्यस्त रहन्छन् ।

राजकुमारका परिवारले व्यावसायिक रूपमा कुखुरा तथा गाई भैँसी पाल्न थालेको ९ वर्ष पुगेको छ ।  अहिले उनी दूध बिक्री गरेर वार्षिक  ४० लाख बढी आम्दानी गर्दै आएका छन्।

9b806241-1d17-40ea-9df7-e2376ddac1ab

दैनिक एक सय पचास लिटरभन्दा बढी दूध उत्पादन गरेर बिक्री गर्ने उनी स्थानीयस्तरमा अगुवा कृषकका रूपमा चिनिन्छन् । लामो समय विदेश बसेर आए पनि सोचे जस्तो आम्दानी नभएपछि उनी कृषि पेसामा आकर्षित भएको बताउँछन्। 

०७२ सालमा १ हजार वटा कुखुराबाट सुरु गर्दै नमुना पोल्ट्री फर्म सञ्चालन गरेका उनले त्यसमा २५ सयसम्म कुखुरा हालेर तीन वर्ष बोइलर कुखुरा पालेका थिए । त्यसपछि कुखुरा पाल्न छोडेर उनलाई गाई भैँसी पाल्ने रहर जागेपछि तीन वटा भैँसी, २ वटा गाई र एउटा बिउको राँगो बाट व्यावसायिक पशुपालन सुरु गरे । 

०७५ देखि ५ रोपनी जग्गामा ७ लाखको लगानीमा व्यावसायिक पशुपालन सुरु गरेका उनको फार्ममा अहिले २१ वटा भैँसी, एउटा  राँगो, ५ वटा बाख्रा र १० वटा गाई छन् ।f917788a-505a-4400-96d8-9ef784fd6acf

वैदेशिक रोजगारीको लागि मलेसिया गएका ढकालले त्यहाँ सोचेजस्तो आम्दानी नभएपछि उनी १ वर्षमै भागेर स्वदेश फर्किए ।स्वदेश फर्किएपछि पनि के गर्ने भन्ने अन्यौलता उनको मनबाट हटेन । र, फेरि उनी कतार गए । कतारमा उनले विमानस्थलमै काम पाए पनि सोचेजस्तो तलब नपाएपछि ३० महिनामै उनी फेरि स्वदेश नै फर्किए। विदेशी भूमिमा साढे तीन वर्ष समय बिताएका  विदेशबाट फर्कँदा जम्मा पाँच लाख रकम लिएर फर्किएको उनी बताउँछन् ।

९० लाखको लगानी

गाई भैँसीपालनका लागि उनले विदेशबाट कमाएर ल्याएको र ऋण गरेर रु ९० लाखको लगानी गरेको बताउँछन्। उनको गोठमा मुर्रा क्रस जातको भैँसी छ भने होलस्टाइन र जर्सि गरेर दुई वटा जातको गाई छ ।  दूध बोक्नलाई बोलेरो समेत किनेका उनले लक्ष्मी सनराईज बैंकबाट ऋण लिएको बताउँछन् । 

fbb2c0fd-04a7-41aa-aa5d-d35ee6977c7c

लगानी गरेर व्यवसाय गर्दा घरपरिवारले सुरुमै विश्वास नगरेको र असहयोग भएको उनी सुनाउँछन्। “सुरुमै यत्रो लगानी गर्छु भन्दा त घर परिवारबाटै नगरौँ भन्ने कुरा आएको थियो”, उनले भने । 

अहिले भने व्यवसाय बढ्दै गएर त्यसले प्रतिफल दिन थालेपछि ढकालको परिवारमा खुसी छाएको छ । उनको हिम्मत र आँटले व्यावसायिक सफलता हासिल गरेपछि परिवार नै खुसी बनेको छ । व्यावसायिक रूपमा गाई भैँसी पाल्ने योजना बनाएर गाउँ फर्किएपछि उनलाई कहिल्यै पछुताउनुपरेको छैन । ढकाललाई उनकी श्रीमती अम्बिकाको पनि दरिलो साथ छ। त्यस्तै उनलाई उनको बुबा आमा भाइ बुहारी लगायत सबै परिवारको उत्तिकै साथ रहेको छ ।  

dd1aeb0f-b42f-4baf-949f-81e80845d8bd

“हामी घरको चार जना र कामदार तिन जना गरी ७ जना मिलेर पशुपालनमा जुट्ने गरेका छौँ”, उनले भने, “सधैँ सबै काम चार जनाले मात्रै गर्न नसक्ने भएकोले ३ जना कामदार राखेका छौँ र उनीहरूलाई पनि काममा लगाउने गरेका छौँ ।” गाई भैँसीको दूध हातले दुहुने गरेको भन्दै गाई भैँसीको दूध दुहुन ३–४ घण्टा लाग्ने उनले बताए । 

दैनिक १ सय ४० देखि १सय ६० लिटरसम्म दूध उत्पादन गर्दै आएका ढकालले वार्षिक रु. ४० लाखभन्दा बढी आम्दानी हुने गरेको बताए । गाउँ ठाउँ नगरपालिकामै मिहिनेती कृषकको रूपमा परिचित रहेका ढकालले ०८० फागुनमा काभ्रेपलान्चोकमा आयोजित कृषि महोत्सवमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उत्कृष्ट कृषकको रूपमा सम्मान समेत पाएका थिए । 

e38b3115-8aed-43ec-b0ad-d6a789576abd

२० रोपनी जग्गामा घाँस खेती

ढकालको परिवारले गाई  भैँसीसहित त्यसका लागि अत्यावश्यक घाँसखेती पनि गरेका छन् । उनले २० रोपनी जग्गामा घाँसकोे बिरुवा रोपेका छन् । बाख्रा र गाई भैंसीलाई खुवाउन अघिल्ला वर्ष पराल किन्नु परे पनि अहिले भने थोरै  मात्रामा किन्न परेको उनी बताउँछन् । 

7ca7302e-bf38-4df2-821f-06a07959aacf

“खेत बारीमा घाँस बढेपछि बाख्रा, गाई भैंसीलाई परालको मात्रै भर पर्नुपरेको छैन”,उनले भने । उनले सुपर नेपियर, स्मार्ट नेपियर, स्टाईलो, सिओथ्री, सिओफो, स्याटेरिया सोम्बा जस्ता विभिन्न जातका घाँसको खेती गरेका छन् । 

दूधको व्यापार गर्न आफ्नै डेरी सञ्चालन

राजकुमारको परिवारको काम भैंसी पालेर दूधमात्रै बेच्ने होइन दूग्धजन्य सामग्री बनाएर बिक्री गर्न पनि उनले आफैं डेरी सञ्चालन गरेका छन्। मेलम्ची बजारमा आफ्नै डेरीबाटै दूध बेच्दै आएका उनलाई दूध बेच्न अन्यत्र जान पर्दैन। उनको आफ्नै फार्मबाट दैनिक एक सय ६० लिटर दूध उत्पादन हुँदा समेत कहिलेकाही डेरीमा दूध नपुगेर समस्या हुने गरेको उनी बताउँछन् । 

received_424827937247272

उनको डेरीमा दूध, दही, मोही, घिउ, पनिर, नौनी, चिया बेकरी आइटम,कोल्ड ड्रिन्क ईत्यादि पाइन्छ । डेरीबाट पनि राम्रै आम्दानी भइरहेको ढकाल बताउँछन् ।  

झन्डै ३० वर्ष अन्यत्र संघर्ष गरेका उनलाई मुहारमा खुसी आउन कृषिकर्मबाट ५ वर्ष नै काफी भयो । मलेसियाको तातो घाममा काम गरेर फर्किएका उनी गाउँमै कृषि पेसा अंगाले यता खुसी र सन्तुष्ट देखिन्छन् । 

सुरुमा सात लाख लगानी गरेर कुखुरापालनबाट आफ्नो व्यवसाय सुरु गरेका उनी सबैलाई निरन्तर कर्म गर्न सुझाउँछन् । मेहनत र निरन्तरताले एक दिन अवश्य सफलता दिलाउने उनी विश्वास गर्छन् । 

मंगलबार, ०२ पुस २०८१, १५ : ४५

प्रतिक्रिया