अखिल(क्रान्तिकारी)मा अन्ततः उमेरहद पक्षधरकै जित

आइतबार, १४ पुस २०८१, २३ : २९

काठमाडौं- नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा उमेरहदका पक्षधरहरुको जित भएको छ । आइतबार बेलुका सार्वजनिक भएको मतपरिणाम अनुसार २१  मत उमेरहदको पक्षमा बढी परेसँगै अब अखिल(क्रान्तिकारीमा)मा ३२ वर्षे उमेरहद कायम हुने भएको हो ।

देशभरबाट संकलित मत परिणाम अनुसार उमेरहदको पक्षमा ९०० मत खसेको छ भने त्यसको विपक्षमा ८७९ मत खसको थियो । ३२ वर्षे उमेरहदको पवधान लागू हुने भएसँगै अखिल(क्रान्तिकारी)को नेतृत्वमा अब नयाँ युवापुस्ताको आगमन भएर संगठन चलायमान हुने अपेक्षा गरिएको छ । अर्कोे पक्षले धाँधली र कीर्ते प्रतिनिधि छनोट गरेर रोक्ने अनेकौं प्रयत्न गर्दा पनि अन्ततः उमेरहद पक्षधरकै जित भएको एक विद्यार्थी नेताले बताए ।

6186695e-17ee-49ae-a477-ffb0cfa27de7

अखिल(क्रान्तिकारी)को केन्द्रीय निर्वाचन समितिले ३२ वर्षे उमेरहदको प्रावधान अनुसार आगामी नेतृत्व चयनका लागि निर्वाचनको नयाँ कार्यतालितका समेत तय गरेको छ । नयाँ पदाधिकारीसहितको नेतृत्व चयनका लागि माघ ५ गते उम्मेदवारको मनोनयन दर्ता र १२ गते निर्वाचन गरिने  प्रमुख निर्वाचन अधिकृत मुक्ति नारायण प्रधानले जनाएका छन् ।

शनिबार राति मतगणना सकिए पनि नतिजा सार्वजनिक गर्ने समयमा उमेरहदको विपक्षमा रहेकाहरुको अवरोधपछि आइतबार बेलुकामात्रै मतपरिणाम घोषणा गरिएको हो । अखिल(क्रान्तिकारी)को आन्तरिक निर्वाचनमार्फत देशभरबाट संकलित मत परिणाम सार्वजनिक हुन नसकेपछि माओवादीले आजै पदाधिकारीको बैठक बोलाएर मतपरिणाम सार्वजनिक गरी सोही अनुसारको प्रावधान लागू गर्ने निर्णय गरेको थियो ।

अखिल(क्रान्तिकारी)को गत असोजमा आयोजित २३ औं राष्ट्रिय सम्मेलनमा नेतृत्वका आकांक्षीको विवादपछि पदाधिकारी चयन गर्न नसकेर स्थगित भएको थियो । त्यसको करिब तीन महिनापछि आन्तरिक निर्वाचनमार्फत उमेर हदको टुंगो लगाएर नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको थियो । तर, शनिबार उमेरहदको पक्षमा नतिजा आएपछि त्यसको विपक्षमा रहेकाहरुले अवरोध गर्दै अन्तिम समयमा मतपरिणाम सार्वजनिक गर्न रोकेका थिए ।

 

आइतबार, १४ पुस २०८१, २३ : २९

प्रतिक्रिया