फाेटाे : रासस
काठमाडाैं- कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका सिद्धराज सार्की उद्यमशीलताको उत्कृष्ट उदाहरण बनेका छन्। दुई दशकदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएका सार्कीले डेढ बिघा जग्गा भाडामा लिएर वार्षिक सात लाख रुपैयाँभन्दा बढीको तरकारी बिक्री गर्दैआएका छन्। यही आम्दानीले उहाँले परिवारको समृद्धि मात्र होइन, भविष्यका सपनाहरू पनि पूरा गर्दै गएका छन्।
तरकारीखेतीबाट आएको आम्दानीले सार्कीले आफ्नै नाममा एक कट्ठा जग्गा किनिसकेका छन्। “तरकारी बेचेर छोरीको बिहे गरें, ऋण तिरेँ, अनि घर खर्च पनि सहजै चलेको छ,” उहाँ बताउनुहुन्छ। कहिल्यै पैसाका लागि कसैको ढोका ढकढकाउन नपरेकोमा सार्की गर्व गर्छन्।
भारतमा दुई दशकसम्म पसिना बगाएका सार्कीले स्वदेशमै तेब्बर आम्दानी गर्न सकिन्छ भन्ने महसुस गरेपछि आफ्नै भूमिमा मेहनत गर्ने निर्णय गरे। सुरुमा नदीको बगरमा मौसमी तरकारीखेती गर्दा देखिएको सफलताले उहाँलाई व्यावसायिक खेतीतर्फ प्रेरित गर्यो।
केही रकम सापटी लिएर सुरु गरेको तरकारीखेतीले पहिलो वर्षमै राम्रो आम्दानी दिलाएपछि त्यो ऋण तिर्न सकियो, अनि थप लगानी गर्दै गए। “अब पैसाका लागि कसैलाई गुहार्नुपर्दैन,” उहाँ भन्छन्। आफ्नै खटनपटनले उहाँको खेतबारीमा अहिले गोलभेँडा, बन्दा, बोडी, खुर्सानी, मुला, भाण्टा, हरियो मटर लहलह झुलिरहेका छन्।
कृषि ज्ञान केन्द्रबाट तालिम लिई आधुनिक खेतीप्रति अझ निपुण बनेका सार्कीलाई नगरपालिकाले टनेलका लागि अनुदानसमेत उपलब्ध गराएको छ। प्लास्टिकको टनेलभित्र उत्पादित बेमौसमी तरकारीले उहाँलाई राम्रो नाफा दिन थालेको छ। सिँचाइका लागि विद्युतीय मोटर र बारी जोत्न पावर टिलरको माग गर्दै सार्की भन्छन्, “यदि यी सुविधाहरू थप उपलब्ध भए, आम्दानी दोब्बर बनाउन सकिन्छ।”
सार्कीको तरकारी सहजै स्थानीय बजारमै बिक्री हुन्छ। हरियो खुर्सानी मात्र एक महिनामा २० हजार रुपैयाँको बिक्री भएको छ भने गोलभेँडाले ५० हजारभन्दा बढी आम्दानी गराइसकेको छ।
मौसमीभन्दा बेमौसमी तरकारीबाट राम्रो मुनाफा हुने भएकाले उनि त्यसमा विशेष ध्यान दिन्छन्। आगामी दिनमा लौका, काँक्रा, तितेकरेला, फर्सी जस्ता तरकारीहरू रोप्ने तयारी गरिरहेको बताउने सार्कीले खेती विस्तार गर्दै आम्दानी दोब्बर बनाउने लक्ष्य राखेका छन्।
“अहिले वार्षिक ६ देखि ७ लाख कमाइ भइरहेको छ,” उनि भन्छन्, “अब यो आम्दानी दोब्बर बनाउने मेरो योजना छ।”
सिद्धराज सार्की जस्ता मेहनती किसानहरूको संघर्ष र सफलताले देखाउँछ कि परिश्रम, सीप र लगनशीलताले स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ। युवाहरूलाई रोजगारीका लागि विदेशिने सोच त्यागेर आफ्नै भूमिमा सुन फलाउने प्रेरणा दिन सक्ने उदाहरण बनेका छन् सार्की।
प्रतिक्रिया