रसुवा बाढीको कहर : चीनसँगको प्रमुख नाका अवरुद्ध, नेपाल-चीन व्यापार पुनः ठप्प

मंगलबार, २४ असार २०८२, ११ : १७

काठमाडौं- नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ । बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।  उनले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्वार गर्न जाने क्रममा ११ जना उद्वारकर्मी नै फसेका बताए । 

राति परेको अविरल वर्षापछि तिब्बतबाट आएको बाढीले रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाउनुका साथै भन्सार यार्डमा रहेका सयौँ गाडी क्षति पुगेको छ। यससँगै नेपाल–चीन व्यापारिक मार्ग पूर्ण रूपमा ठप्प भएको छ।  यसले नेपाल–चीन व्यापारको प्रमुख मार्ग नै बन्द भएको छ ।

हेलिकप्टरमार्फत उनीहरूको उद्वार गर्न नेपाली सेनालाई अनुरोध गरिएको र बाढीले के कति क्षति पुर्यायो भन्ने सम्बन्धमा  तथ्यांक संकलन भइरहेको पनि  जानकारी दिए । यस्तै रसुवागढी हाइड्रोका कर्मचारीसमेत बाढीको चपेटामा परेका कारण उद्वारका पर्खाइमा रहेको उक्त आयोजनाले जनाएको छ ।

तातोपानी नाका २०७२ सालको भूकम्पपछि बन्द भएको थियो र साढ़े दुई वर्षअघि मात्र पुनः खुला भएको हो। तर, त्यो नाका हाल पनि सीमित मात्रामा प्रयोगमा छ।

 
 
मंगलबार, २४ असार २०८२, ११ : १७

प्रतिक्रिया