काठमाडाैं- म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको धौलागिरी आधार शिविरसम्म पुग्न पर्यटकलाई अझै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ। कोखेभिर र धौलागिरी भ्यु प्वाइन्ट हिलजस्ता स्थानमा पदमार्गको अभावका कारण यात्रुहरूलाई ५० देखि १०० मिटर लामो भीर डोरी र खरको गाँज समाएर पार गर्नुपर्छ। हालै धौलागिरी आधार शिविर पुगेर फर्किएका पोखराका पर्यटन व्यवसायी तारा गर्बुजा पुनका अनुसार, यो जोखिमका कारण पर्यटकको आवागमनमा कमी आएको छ।
बेनी–चिमखोला–घ्याँसीखर्क हुँदै सुगुरथलासम्मका क्षेत्रमा जलविद्युत् आयोजनाले निर्माण गरेको सडकमा चार घण्टाको सवारी यात्रा सम्भव भए पनि कोखेभिर र धौलागिरी भ्यु प्वाइन्टमा सुरक्षित पदमार्ग नहुँदा आधार शिविरसम्म सहज पहुँच बन्न सकेको छैन। यदि यी क्षेत्रमा सुरक्षित पदमार्ग र राहुघाट नदीमा अस्थायी साँघु वा स्थायी झोलुङ्गे पुल निर्माण गर्न सकिएमा धौलागिरी आधार शिविरलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सकिने गर्बुजाले बताए।
भारतीय सेनामा कार्यरत ललित गर्बुजाको अगुवाइमा मण्डली युवा क्लब, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरूको टोली गत माघ महिनाको अन्तिम साता समुद्री सतहदेखि ४,०५० मिटर उचाइमा रहेको आधार शिविर पुगेर फर्किएको थियो। टोलीले पदमार्ग सुधार, पुल निर्माण तथा संकेतचिन्ह राख्न आवश्यक पहल गर्न स्थानीय जनप्रतिनिधिलाई सुझाव दिएको छ।
धौलागिरी हिमालको काखबाट चुचुरोसम्म नजिकबाट नियाल्न पाउनु आधार शिविरको प्रमुख आकर्षण हो। यहाँबाट सुन छहरा, निलिबराह, कालीबराह तालको अवलोकन गर्न सकिन्छ। यार्सागुम्बा संकलनका लागि वैशाख–जेठ महिनामा स्थानीयहरू पनि यस क्षेत्रसम्म पुग्ने गर्छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु. १ करोड ५४ लाख लागतमा ससलधारा हुँदै आधार शिविर जोड्ने १८ किलोमिटर लामो पदमार्ग निर्माणको योजना २०७९/८० मा सुरु गरी २०८०/८१ मा सम्पन्न गरेको थियो। तर, सर्वेक्षणका क्रममा भीरयुक्त स्थानहरूलाई छुटाइएकाले अहिले पनि यात्रा कठिन बनेको वडा अध्यक्ष थकप्रसाद पाइजाले जानकारी दिए।
रघुगङ्गा गाउँपालिका–७ ले प्रदेश र संघीय सरकारसँग थप बजेटको माग गरेको छ। कम्तीमा अक्करे भीरजस्ता जोखिमयुक्त स्थानहरूमा सुरक्षित पदमार्ग बनाउने योजनामा काम भइरहेको वडा अध्यक्ष पाइजाले बताए। गण्डकी प्रदेश सरकारले कालीबराह–धौलागिरी आइसफल पदमार्ग निर्माणका लागि रु. २० लाख तथा नेपाल पर्यटन बोर्डले रु. ५ लाख बजेट बिनियोजन गरिसकेको छ।
धौलागिरी आइसफल पदमार्गअन्तर्गत धौलागिरी आधार शिविर, निलिबराह ताल, कालीबराह ताल, सोवाङधुरी लगायतका प्रमुख पर्यटकीय गन्तव्य छन्। यहाँ डाँफे, मुनाल, हिमचितुवा, झारल, नाउर, घोरलजस्ता दुर्लभ वन्यजन्तुहरूको अवलोकन गर्न सकिन्छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रुईसे डाँडादेखि धौलागिरी आइसफलसम्मको पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा छनोट गरेको छ। तर, आवश्यक पूर्वाधार र व्यवस्थापनको अभावका कारण यो पदमार्ग औपचारिक रूपमा सञ्चालनमा आउन सकेको छैन।
धौलागिरी आधार शिविर पुग्ने ससलधारा पदमार्ग निर्माण भए पनि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटो मार्ग तथा अन्य पहिचान गरिएका पदमार्गहरूमा स्तरोन्नति आवश्यक छ। सम्बन्धित निकायहरूले आवश्यक बजेट तथा पूर्वाधार निर्माणमा ध्यान दिएमा धौलागिरी आधार शिविर नेपालको प्रमुख साहसिक तथा प्राकृतिक पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ।
प्रतिक्रिया