प्रिय कमरेड अध्यक्ष ,
तपाईले २०५२ सालमा जनयुद्धको घोषणा गर्दा हामी जस्ता भूईमान्छेमा एक प्रकारको उमङ्ग र खुशी छाएको थियो । हामी र हामी जस्तै मान्छेहरु जनयुद्धमा लामबद्ध भयौं । साँच्किै जनयुद्ध यो शताब्दीकै रोमाञ्चकारी र ऐतिहासिक घटना बन्न पुग्यो । तपाईको कुशल नेतृत्वप्रति समर्पित भएर लाग्ने अन्य नेताहरु र तपाईको एउटा आदेशमा ज्यान दिन तयार हुने योद्धाहरुको कारण जनयुद्धले उचाई लिदै गयो । दुनियाँमा कम्युनिष्ट सत्ताहरु ढलेको र कम्युनिष्ट आन्दोलन रक्षात्मक बनेको प्रतिकूल विश्व परिस्थितिका बाबजुद पनि जनयुद्धले उठाएको बिद्रोहको रातो झण्डा सगरमाथाको चुचुरोमा फहराउन सक्यो । पार्टीको आफ्नै सेना निर्माण गरेर छापामार युद्ध सञ्चालन हुनु अवश्य पनि सामान्य कुरा थिएन । राज्यसँग रणनीतिक सन्तुलनको अवस्थामा पुगेर संझौता गर्न बाध्य पार्नु बाँकी विश्वको लागि आश्चर्यजनक घटना थियो ।
अध्यक्ष कमरेड, दस वर्षसम्म चलेको युद्धले पूर्व घोषित लक्ष्य त हासिल गर्न सकेन । तर पनि आफ्नो शक्तिको महशुस गराउन भने सफल भयो । संझौतामा युद्ध टुंगिएको कारण पनि नयाँ जनवादी सत्ता स्थापना हुन सकेन । तर शान्ति संझौतापछिको पार्टी विल्कुल बदलिएको छ । पार्टीभित्रै विभिन्न वर्गहरुको उदय भएको छ । अहिले हाम्रो पार्टीका नेताहरुको रवाफ र जीवनशैली कुनै बुर्जुवा नेताहरुको भन्दा कम छैन । अझ बढी नै होला । तपाईलाई राम्रोसँग थाहा हुनुपर्ने हो, युद्धमा लडेका अधिकांश युवाहरु आज देशमा छैनन् । उनीहरु कष्टपूर्ण जीवन बाँचिरहेका छन् । २०५२ सालमा जन्मेको बच्चा पनि अहिले २९ वर्ष पुगिसकेको छ । शान्ति संझौतापछिको शिशु पनि बालिग भैसकेको छ । यो बीचमा मुलुकले ठूला ठूला घटनाहरु देखिसक्यो । आज देशले परिवर्तनको काँचुली फेरिसकेको छ । जनयुद्ध नै पछिल्लो राजनीतिक परिवर्तनमा मुख्य कारक रहेको कुृरामा कुनै शंका छैन । जनयुद्धका ऐजेण्डाहरुमा देशको राजनीति घुमिरहँदा पनि माओवादी पार्टी भने दिनानुदिन कमजोर हुँदै गएको छ । यसको कारण तपाईले एकान्तमा गहिरोसँग सोच्नु भएको छ ? आफ्नै तागतले राज्यलाई संझौतामा आउन बाध्य पार्ने पार्टी तपाई नेतृत्वमा रहँदा विभाजनको शिकार भयो । माओवादीको कार्यकर्ता भनेर चिनाउन पनि लाज लाग्ने अवस्थामा कसले पुर्यायो ? आज तपाईमा पनि हिजो जस्तो ‘प्रचण्ड’ तेज छैन । माओवादी नेता कार्यकर्ताको यति नैतिक बल पहिले गुमेको अवस्था थिएन । यसको दोष कसलाई दिनुहुन्छ ? वैद्य, बाबुराम वा विप्लवलाई ? अलि अलि फुटेर जानेको भागमा पनि पर्ला तर मुख्य नेतृत्वकर्ता भएकोले इतिहासमा पार्टी एकतावद्ध गर्न नसक्ने नेताको रुपमा तपाईलाई स्मरण गरिनेछ ।
अध्यक्ष ज्यू, जनयुद्धको दौरान तपाई आधार इलाकाका वस्तीहरुमा अवश्य पनि पुग्नुभएको छ । त्यहाँका जनताको जीवनस्तरलाई राम्रोसँग साक्षात्कार पनि गर्नुभएकै होला । जनयुद्धले आफ्नै मौलिक संस्कृतिको समेत निर्माण गरेको थियो । कम्युनिष्ट संस्कार, संस्कृति र परम्पराको बारेमा यसै पनि तपाई जानकार नै हुनुहुन्छ । तर आज त परिस्थिति निकै फेरिएको छ । तपाईहरु अहिले भात खानुहुन्न । भुजा ज्यूनार गर्नुहुन्छ । कमरेड होइन, सर बन्नुभएको छ । यस्तै यावत परिवर्तन तपाईहरुको जीवनशैलीमा देख्न सकिन्छ ।
शान्ति प्रक्रियापछि पार्टी पटक पटक सरकारमा गएको छ । तपाई पनि तीनपटक प्रधानमन्त्री बनिसक्नुभयो । तर हामी जस्ता भूईमान्छेको लागि तपाईको राज्यले के दियो ? यसो भनिरहँदा कसैले केही नपाएको त होइन । तपाईृलाई मन परेका मान्छेहरुलाई त समाजवाद आइसकेको छ । उनीहरुले पटक पटक अवसर पाएकै छन् । तिनीहरुको वर्ग नै फेएिको छ । ठूला ठूला महल, महंगा गाडी, बैंक व्यालेन्स, विदेश पानी पँधेरो । पार्टीमा पनि उनीहरुकै बोलबाला । यति भए के चाहियो ? किन चाहियो समाजवाद ?
अध्यक्ष ज्यू, तपाई आफै पनि एउटा सर्वहारावर्गीय अनुशासनमा कति रहनुभएको छ ? कहिल्यै सोच्नुभएको छ ? दिनभरि जता गए पनि राम रमाईलो छ । जयजयकार छ । साँझ बिस्तरामा पल्टेपछि एकछिन सोच्नुहोस् न । मेरो नेतृत्वमा लडेका युवाहरुको के अवस्था छ ? आम नेपाली गरीब जनताका छोराछोरीको हालत के छ ? तपाई हिजो रोल्पा रुकुमका बस्तीमा बस्दा के खानुहुन्थ्यो ? कस्तो पहिरन थियो ? अझ अगाडि जाने हो भने चितवनको शिवनगरमा बस्दा के थियो तपाईको अवस्था ? दुई चार जना साथीभाइ पाहुना आउँदा व्यवस्थापन गर्न के के गर्नुपथ्र्यो ? जब तपाई युद्धमोर्चाको नेतृत्व गर्नुहुन्थ्यो, त्यतिबेला तपाईको घाँटीमा न टाइ थियो न त सुट थियो । तपाईले जुन वर्गको लागि हतियार उठाउनुभयो के त्यो वर्गको उत्थान भैसक्यो ? आज तपाई के सिकाउँदै हुनुहुन्छ ? जहाँ जाँदा पनि तपाई टाइसुटमै देखिनुहुन्छ । बिराटनगरको गर्मीमा पनि तपाईलाई टाईसुटमै देख्दा लाग्यो, तपाईमा पनि गम्भीर साँस्कृतिक विचलन आइसक्यो । साँच्चि अध्यक्ष कमरेड तपाईको कतिवटा सुट छ ? जुत्ता कति छन् ? कसै कसैले नेपालमा सबैभन्दा धेरै पैंसा प्रचण्डसँगै छ भनेको सुन्दा हामीलाई पारो तातेर आउँथ्यो । विदेशमा तपाईको पैंसा लगानी गर्ने कोही विश्वासिलो मान्छे छ कि भनेर खोजी भएको चर्चा पनि नचलेको होइन । कुरा अझैं बाँकी नै छ । कटुवाल प्रकरणको बेला ‘सुकिलामुकिला’ को म नेता होइन भनेको तपाईले नै होइन ? आज त घुमिफिरी तपाई नै सुकिला मुकिलाको वर्गमा पुग्नुभएको छ । के टाइसुट हाम्रो वर्गीय संस्कृति हो ? के तपाईको पार्टीलाई भोट हाल्ने जनता यही संस्कृतिको अभ्यासकर्ता हुन ?
२०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट निर्वाचित रोल्पाका बर्मन बुढा भोटो र कछाड लगाएर संसद प्रवेश गरेका थिए । उनलाई खिसीटिउरी गर्ने तथाकथित शहरियाहरुलाई ‘आफू यस्तै पोशाक लगाउने जनताको प्रतिनिधि भएकोले कुनै हिनताबोध नभएको’ भनेर जवाफ दिएका थिए । उनी संसदको आफ्नो कार्यकालभरि नै यही पोशाकमा देखा परे । तर यति नै कारणले उनको सम्मानमा कमी आएन । एउटा कम्युनिष्ट नेताको लागि बर्मन बुढाको जीवनयात्रा एउटा महत्वपूर्ण सन्दर्भ सामग्री हो । महात्मा गान्धीले गरीब भएर वा पैंसा नभएर टाइसुट नलगाएका होइनन् । उनी बेलायतको नाम चलेको विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरेका सुपठित नेता थिए । बेलायतमा भएकोबेला उनी पनि टाइसुट लगाउँथे । जब उनी हिन्दुस्तान फर्केर अंग्रेज बिरोधी आन्दोलनको नेतृत्व गरे तब फ्याँकिदिए उनीहरुको टाइसुट । उनको सम्मान अहिले पनि उत्तिकै छ । गरीब भारतीयहरुको मनोदशा बुझेर पनि होला महंगा टाइसुटमा गान्धीको रुची भएन । तर भूईमान्छेको नेतृत्व गरेका तपाईको जीवनशैली कहाँ पुग्यो ?
आज नेपाली युवाहरु रोजगारी नपाएर खाडी मुलुकमा जान बाध्य छन् । तिनीहरु आफ्नो घरखेत बन्धकी राखेर वैदेशिक रोजगारीको लागि दिनहुँ एयरपोर्टमा लाइन लागेका छन् । काठमाडौंको सस्तो बजारमा एक हजारमा नयाँ कपडा किन्छन् । ५५ डिग्रीको तापक्रममा काम गरेर ऋण तिर्छन् । तिनै दुखी श्रमिकहरुले पठाएको रेमिटान्समा तपाई जस्ता नेताहरुले मस्ती गर्नुहुन्छ । अरु पार्टीको त कुरा नगरौं । तपाई त तिनै सर्वहारा गरीब किसानको नेता हैन ? तपाईको मन पोल्दैन ? यस्तो गरीब मुलुकको नेता भएर ट्रम्प र पुटीन जस्तो शैली अपनाउन ? तपाईले त सी जिनपिङ्गबाट सिक्नुपर्ने हो । माओ र लेनिनबाट सिक्नुपर्ने हो । चीनियाँ राष्ट्रपति सी जो किसानहरुको बीचमा जाँदा सामान्य पहिरनमा हुन्छन् । विश्वको प्रमुख आर्थिक शक्ति भएर पनि उनी सादा जीवनशैलीमा रमाउँछन् ।
अध्यक्ष ज्यू, तपाईलाई अहिले सत्ता बाहिर हुँदा जनता र कार्यकर्ताको अलि बढी याद आएको होला । त्यही भएर देश दौडाहा पनि गरिरहनुभएको छ । कांग्रेस–एमालेलेलाई झुक्काएर ८४ सम्मै सत्तामा रहन सकिन्छ कि भन्ने तपाईको मनसुवा सफल भएन । उनीहरु पनि तपाई भन्दा कहाँ लाटो छन् र ? उनीहरु एक भएर रगतसँग साटिएका माओवादी आन्दोलनका उपलब्धीहरुलाई समेत समाप्त पार्न खोजिरहेका छन् । तर तपाई भने आफ्नै नेता÷कार्यकर्ताहरुलाई कित्ताबन्दी गर्न उक्साइरहनुभएको छ । कित्ताबन्दी किन गर्नुपर्यो ? पार्टीमा विभाजन ल्याउने, गुट बनाउने अवस्था तपाई आफैले सिर्जना गर्दै हुनुहुन्छ । के यसो गर्दा महान् जनयुद्धप्रति न्याय हुन्छ ? जनयुद्धका हजारौं घाइते, अपाङ्ग र बेपत्ता परिवारप्रति न्याय हुन्छ ? उनीहरुको घाउमा मलम लाग्छ ? बरु तपाईबाट तिनीहरुले एकताबद्ध र बलियो माओवादी पार्टीको अपेक्षा गरेका छन् । अफसोच, अध्यक्ष ज्यु, तपाई भने सानो कोटरीमा रमाउन खोज्दै हुुनुहुन्छ । कुनै दिन इतिहासले राम्रोसँग हिसाब किताब गर्नेछ । त्यतिबेला निधारमा हात लगाएर केही हुनेछैन । पश्चातापको आगोमा जल्नुको के विकल्प होला र त्यतिबेला । तसर्थ, हामी भूईंमान्छेहरु जो हिंजो तपाईको विचार, भावना र क्रान्तिको आलोकमा आफ्नो जवानी सिद्धयायौं, हाम्रो लागि केही सोचिदिनुहुन्छ कि ?
(लेखक माओवादी कार्यकर्ता हुन् र उनको आग्रहमा नाम गोप्य राखिएको छ, सम्पादक)
प्रतिक्रिया