माओवादीको शान्तिपूर्ण अवतरण : प्रचण्डपथ कि बाबुरामपथ ?

मंगलबार, ०६ फागुन २०८१, १४ : १०

काठमाडौं - २०५७ तिर तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ उचाईमा पुग्दै गरेको अवस्था थियो । पार्टीका अध्यक्ष तथा सुप्रिम कमाण्डर प्रचण्ड थिए । विद्रोहको सफ्टवेयर तयार पार्ने अर्का दार्शनिक नेता थिए मोहन वैद्य । तर दुनियाँले माओवादीको नेताको रुपमा डा. बाबुराम भट्टराईलाई चिन्ने गर्दथ्यो । कारण,उनी पार्टीको खुलामोर्चा संयुक्त जनमोर्चाका अध्यक्ष थिए । मोर्चा तत्कालीन संसदमा नौ सिट जितेर तेस्रो स्थान हासिल गरेको थियो । मुलुकमा बहुदलीय व्यवस्था पुनस्र्थापना भएको पाँच वर्ष नबित्दै माओवादीले राज्यको विरुद्ध विद्रोहको घोषणा गर्यो । 

राष्ट्रिय–अन्तराष्ट्रिय रुपमा बाबुरामको चर्चा हुनथालेपछि प्रचण्डले पार्टीेको दोस्रो राष्ट्रिय सम्मेलनबाट एउटा नयाँ प्रस्ताव पारित गरे । अबदेखि माओवादी नेताहरुले लेखहरु लेख्दा प्रचण्डको विचार वा भनाइ उदृत गर्नुपर्ने निर्णय गरियो । यसै सम्मेलनले प्रचण्डको विचारलाई नेपाली क्रान्तिको सिद्धान्त बनाउने र त्यसलाई प्रचण्डपथ भनेर नामकरण गर्ने फैसला गर्यो । अनि प्रचण्डको तस्बिर सार्वजनिक गर्ने निर्णय पनि गर्यो । कम्युनिष्ट नेताहरुले लेख लेख्दा माक्र्स, लेनिन, माओ लगायतका नेताहरुको कोटेशन राखेर लेख्ने पुरानै चलन थियो । यसैलाई माओवादीले पनि पछ्याउने र प्रचण्डलाई विश्व नेताहरुको कोटीमा राख्ने पहल सुरु भयो । त्यसैबेलादेखि बाबुराम प्रचण्डको निशानामा पर्न थालेको माओवादी कार्यकर्ताहरु बताउँछन् । यसैबेलादेखि प्रचण्डमा महात्वाकांक्षा र निरंकुशताको बीउ रोपिएको माओवादी वृत्तमा चर्चा हुने गर्दछ ।  

माओवादीको आन्तरिक राजनीतिमा बाबुराम सँधै शंका र विवादको पात्र बने । प्रचण्ड पनि अन्तरबिरोधमा खेल्न सिपालु नेता हुन । उनी कहिले वैद्य र बाबुरामलाई लडाउने गर्दथे । कहिले अर्का पात्र बादललाई प्रयोग गर्दथे । उनी चानक्यनीतिका सफल प्रयोगकर्ता पनि मानिन्छन् । प्रचण्डको पार्टीसत्ता अहिले पनि यसरी नै चलिरहेको छ । उनी पार्टीमा अन्तरबिरोध सिर्जना गरिदिने र त्यसलाई आफू अनुकूल बनाउन माहिर छन् । अहिले जनार्दन, वर्षमान लगायतका पात्रहरुलाई पनि उही चानक्यनीतिकै अभ्यास गरिरहेका छन् । 

नाममा प्रचण्डपथ भने पनि उनी आफैं भने बाबुराम पथमा हिंडेका छन् । यसको भेउ पाउन माओवादीको चुनवाङ्ग बैठकको वरिपरी पुग्नुपर्ने हुन्छ । संविधानसभा हुँदै लोकतान्त्रिक गणतन्त्रमा जाने कि राजासँग मिलेर संसदवादी दलहरुसँग लड्ने भन्ने तीब्र बहस चुनवाङ्ग बैठकमा गएर समाधान भयो । अन्ततः माओवादीले लोकतान्त्रिक गणतन्त्रको ऐजेण्डा पारित गर्यो । जुन ऐजेण्डा बाबुरामले अघि सारेका थिए । यही बहस चलाउँदा उनी पार्टीको कारबाहीमा पनि परेका थिए । त्यसपछि नै माओवादी सात दलसँग १२ बुँदे समझदारी गर्न सहमत भएको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि प्रचण्डले नै प्रचण्डपथको सान्दर्भिकता देखेनन् । एमालेसँग एकता गर्ने क्रममा त उनी आफ्नो ब्राण्ड ‘माओवाद’ नै त्याग्न तयार भए । उनी घुमिफिरी बाबुराम पथमा आएका छन् । बाबुरामले लोकतान्त्रिक पद्धतिलाई आफ्नो पार्टीमा पनि अभ्यास गर्न सफल भए । पार्टी महाधिवेशनमा नेतृत्व चयन निर्वाचनद्वारा गरेर उनले आफ्नो वैचारिक परिपक्वताको परिचय पनि दिएका छन् ।

माओवादीमा भने अझै पनि व्यालेटप्रति विश्वास देखिदैन । बडो मुश्किलले विद्यार्थीको नेतृत्व चयन निर्वाचनबाट गरियो । पार्टीमा त अझै पनि मनोनयन परम्परा नै कायम छ । बरु लोकतान्त्रिकरणको आवाज उठाउनेहरुलाई तेजोबध नै गर्ने माओवादीको नीतिगत अभ्यास देखिन्छ । खुला राजनीतिमा आइसकेर पनि आन्तरिक पार्टी जीवनमा माओवादी प्रतिष्प्रधालाई स्विकार्न सकिरहेको छैन । यसले पार्टी किस्तारलाई नै रोकिदिएको माओवादीका एक पदाधिकारीले आजको अर्थलाई बताएका छन् । पार्टीको मुख्य नेतृत्व अझै पनि पार्टीमा जुझारु कार्यकर्ता होइन कि ‘भक्तहरु’ तयार पार्न उद्धत रहेको बताएका छन् । प्रतिष्प्रधाले पार्टीलाई कमजोर बनाउँदैन । एमाले – कांग्रेसले पनि प्रतिष्प्रधाबाटै नेतृत्व चयन गर्दै आएका छन् । जनतामा उनीहरुको पकड यही कारणले मात्र कमजोर भएको छैन । सक्षम र केही गरौं भन्ने उत्साही कार्यकर्ताहरुलाई अवसर नदिएसम्म कुनै पनि राजनीतिक पार्टीको भविष्य अबको नेपालमा दिगो छैन भन्ने माओवादी नेतृत्वले पनि बुझ्न जरुरी छ ।      

मंगलबार, ०६ फागुन २०८१, १४ : १०

प्रतिक्रिया