काठमाडौं– नेपाली अटो बजारमा चिनियाँ, भारतीय, अमेरिकन तथा युरोपियन ब्रान्डका इभी (इलेक्ट्रिक भेइकल) ले स्थान बनाएका छन् । विश्व बजारमा नै विद्युतीय सवारी साधनको संख्या बढ्दै गएसँगै नेपालमा पनि त्यसैको प्रभाव देखिन थालेको छ ।
सबै ब्रान्डले बजारमा उत्तिकै नयाँ नयाँ मोडलहरु ल्याइरहेका भएपनि चिनियाँ मोडलहरु भने सर्वाधिक रुचाउन थालिएको बीवाईडीका अध्यक्ष यमुना श्रेष्ठले बताइन् । हालै मात्र ३० औँ वार्षिकोत्सव मनाएको बीवाईडी पनि विश्वव्यापी रूपमा एक करोड एनईभी उत्पादन गर्न सफल भइसकेको छ ।
विश्वव्यापी रूपमा १ करोड एनईभी उत्पादन गर्ने पहिलो गाडी निर्माता कम्पनी पनि बीवाईडी बनेको छ । नेपालमा बीवाईडीका ६ हजार भन्दा बढी सवारी साधनहरु आइसकेको श्रेष्ठले जानकारी दिइन् ।
नेपालमा भित्रिने विद्युतीय सवारीको बढ्दो संख्याले यसप्रतिको बढ्दो आकर्षण प्रष्ट हुन्छ । नेपालीहरुमा दिनप्रतिदिन बढ्दो मात्रामा विद्युतीय सवारी प्रतिको रुचि राख्न थालेका छन् । बीवाईडीलाई पनि ग्राहकहरुले बढी रुचाइरहेको भन्दै श्रेष्ठले बीवाईडीको प्रविधिमाथि ग्राहकहरूको विश्वास बढिरहेको बताइन् ।
नेपालमा बीवाईडीका एट्टो ३, डल्फिन र सिल जस्ता आधुनिक मोडेलहरूले अहिले बजार लिइरहेका छन् । यी गाडीहरूमा अत्याधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्च स्तर, र उत्कृष्ट प्रदर्शनको कारणले नेपाली ग्राहकहरूको रोजाइमा परेको हुनसक्ने श्रेष्ठको बुझाई छ ।
उनले भनिन्,‘बीवाईडीले हालसम्म गरेका उपलब्धि हाम्रो लागि गर्वको कुरा हो । यसले हाम्रो मिहिनेत र ग्राहकहरूले हामीलाई गर्नु भएको विश्वासको प्रतिफल पनि हो । हामीले बजारलाई अझै चुस्त बनाउन जरुरी रहेको छ यसमा ध्यान दिएर अघि बढिरहेका छौँ ।’ विश्वभर अन्य सवारी हट्दै जाने र ईभीले ठूलो बजार ओगट्दै गएको समयमा नेपालमा सोही सोचेअनुरुप हुन भने नसकेको श्रेष्ठले बताइन् ।
‘विस्तारै नेपालमा ईभीले मार्केट त बनाएको छ । तर सोचेको जति मात्रामा भने अझै बनाउन सकेको छैन । नेपालमा ईभी अटोमोबाईल्स भित्रिएको थुप्रै वर्ष भइसकेको छ ।’, उनले भनिन्, ‘तर टु व्हीलर (दुई पाङ्ग्रे) मा बाईक,स्कुटर र फोर व्हीलर (चार पाङ्ग्रे) मा कार, ट्याक्सीको अलि राम्रो बजार बन्दै गएपनि ट्रक, बसहरुमा पनि अझै त्यति रुचि बढेको छैन । यसको पनि बजार त्यही अनुसार बढ्नु पर्ने हो तर विद्युतीय सावारीको बारेमा चेतना बढाउन नै नपूगेको जस्तो चै लाग्छ ।’
लागतको कुरा गर्ने हो भने अन्य सवारीको तुलनामा ईभीको मूल्य कम नै रहेको पाइन्छ । विश्व बजारमा पनि ‘भ्यालू अफ मनी’ को अवधारणा बनाएर मानिसहरु ईभीमा आकर्षित भएका थिए । मूल्यका हिसाबले पनि नेपाली बजारमा ईभीको माग अझै बढ्नु पर्ने हो । तर यस्तो नहुनुमा सरकारले उचित नीति बनाउन नसक्नु नै मूख्य कारण रहेको श्रेष्ठको बुझाई छ । विद्युतीय सवारी मूल्य र सुरक्षाको मामिलामा एकदमै राम्रो हुने भएपनि सरकारले भन्सारमा लगाउने करका कारणले मंहगो हुन आउँछ । त्यो पनि लामोसमयसम्मका लागि करको नीति बनाएको छैन ।
अध्यक्ष श्रेष्ठले पनि सरकारले ६/६ महिनामा कर बढाउने घटाउने गर्दा मूल्य घटबढ हुने हुँदा ग्राहकले पनि ईभीप्रतिको धारणा बदल्ने गरेको बताईन् । विद्युतीय सवारी साधनको चार्जिङ स्टेसनका लागि पनि ब्रान्डहरुले आफैं इन्भेस्ट गर्नुपर्ने अवस्था छ यसमा पनि सरकारको सहयोग आवश्यक हुन्छ । सरकारले उचित नीति बनाउने हो भने वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोग अझै बढाउन सकिन्छ ।
प्रतिक्रिया