काठमाडाैं- शनिबारको दिन, कोही परिवारसँग रमाइरहेका छन्, कोही साथीभाइसँग घुमघाममा व्यस्त छन्। तर, हरिहरपुरगढी गाउँपालिकाको कृषि शाखामा कार्यरत कर्मचारीहरूलाई सार्वजनिक बिदाको पर्वाह छैन। उनीहरू हाइब्रिड मकैको बीउ उत्पादनको महत्वपूर्ण अभियानमा खटिरहेका छन्।
गाउँपालिकाको कार्यालय परिसरमा फैलिएको २२ कट्ठा जमिनमा ‘रामपुर हाइब्रिड–१०’ नामक मकैको बीउ उत्पादन भइरहेको छ। यो कार्य सफल बनाउन भाले प्रजनन लाइन (आरएमएल १८) र पोथी प्रजनन लाइन (आरएमएल १५०) छरिएको छ। मङ्सिरको पहिलो सातामा छरिएका यी बीउहरू अहिले जवान हरिया बोटका रूपमा लहलहाएका छन्।
हाइब्रिड मकै उत्पादन प्रक्रिया विशेष सावधानीका साथ सम्पन्न गरिन्छ। यसका लागि पोथी प्रजनन लाइनमा उम्रिएका ‘धानचमरा’ हटाउनु आवश्यक हुन्छ। मकैको भाले फूललाई धानचमरा भनिन्छ, जसको परागसेचन आवश्यक नपर्ने भएकाले हटाउनुपर्ने हुन्छ।
यस कार्यमा संलग्न कर्मचारीहरू उत्साहित देखिन्छन्। उनीहरूले बाँया हातले धानचमराको फेद बलियोसँग समातेर, दायाँ हातले एकै झट्कामा थुत्ने प्रविधि अपनाएका छन्। निकालिएका धानचमराहरू बोरा वा थैलामा राखेर व्यवस्थित रूपमा व्यवस्थापन गरिन्छ।
गाउँपालिकाका कृषि अधिकृत प्रवेश देवकोटा भन्छन्, “मकैको दानाको अत्यधिक माग छ। परम्परागत खेतीबाट मात्र यो माग पूरा गर्न सम्भव छैन। हाइब्रिड मकैले झन्डै दोब्बर उत्पादन दिने भएकाले यसको प्रवर्द्धन गरिँदैछ।”
उनका अनुसार, हाइब्रिड मकै उत्पादनले सिन्धुली जिल्लालाई नै आत्मनिर्भर बनाउनेछ। स्थानीय किसानलाई निःशुल्क बीउ वितरण गरिने योजना बनाइएको छ, जसले उनीहरूको उत्पादन वृद्धि गर्दै आम्दानी बढाउन मद्दत गर्नेछ।
यो अभियान सफल बनाउन प्रदेश बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र (बागमती प्रदेश), राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम (रामपुर, चितवन), कृषि विकास कार्यालय (सिन्धुली) तथा हरिहरपुरगढी गाउँपालिकाको संयुक्त पहल रहेको छ।
बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हेटौँडाका प्रमुख राजन ढकालका अनुसार नेपालमा हाइब्रिड मकैको बीउ आयातमा प्रत्येक वर्ष ठूलो रकम खर्च हुने गर्छ। “स्वदेशमै हाइब्रिड मकै उत्पादन गर्न सकेमा आयातमा निर्भरता घट्छ, महँगो विदेशी बीउ खरिद गर्नु पर्दैन,” उनले बताए।
गाउँपालिका प्रमुख वज्रध्वज वाइवाले हरिहरपुरगढीलाई हाइब्रिड मकै उत्पादनको प्रमुख केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। उनले भने, “पहिले यहाँ धानबाहेक अरु पाइँदैन भन्ने थियो। अब यहाँका किसानलाई आफ्नै पालिकाबाट मकैको बीउ उपलब्ध गराउँछौँ। हाम्रै पालिका देशका लागि हाइब्रिड मकै उत्पादनको आधार बन्नेछ।”
स्थानीय किसान पनि निकै उत्साहित छन्। उनीहरू अब बाहिरबाट महँगो बीउ किन्ने झन्झटबाट मुक्त हुने आशामा छन्। यसले उत्पादन लागत घटाउने मात्र नभई, आत्मनिर्भर कृषि प्रणालीको जग बसाउनेछ।
नेपालमा मकैखेती तराईदेखि उच्च पहाडसम्म हुने गरेको छ। वर्तमानमा कुल मकैखेती क्षेत्रफलको २० प्रतिशत भाग हाइब्रिड मकैले ओगटेको अनुमान छ। अब यो प्रविधि मधेस मात्र होइन, मध्यपहाडी क्षेत्रमा पनि व्यापक रूपमा विस्तार हुँदै गएको छ।
हरिहरपुरगढीमा भइरहेको यो महत्वपूर्ण अभियानले नेपाललाई हाइब्रिड मकै उत्पादनमा आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान दिनेमा कुनै शंका छैन।
प्रतिक्रिया