आन्दोलनमा चिकित्सक संघ, देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प

सोमबार, २३ असार २०८२, १३ : १८

काठमाडौं– उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलनरत नेपाल चिकित्सक संघले सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पारको छ । 

उपचारमा लापरबाही गर्ने डाक्टर र अस्पतालहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि संघले चरणबद्ध आन्दोलन थालेको हो ।

देशभरका डाक्टर तथा स्वास्थ्यकर्मीहरुले अघिल्लो हप्तादेखि हातमा कालोपट्टी बाँधेर काम गर्दै आएकोमा सङ्घले आज आकस्मिक बाहेकका सेवा बन्द गरेको हो । संघले चिकित्सकीय मुद्दा हेर्ने अधिकार मेडिकल काउन्सिलमा मात्रै सीमित गरिनुपर्ने माग गर्दै आवश्यक परे थप कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनीसमेत दिएको छ । डाक्टरहरूको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन् । 

नेपाल चिकित्सक संघका महासचिव डा. सन्जिव तिवारीलाई अदालतको अवहेलना गरेको भन्दै पाटन उच्च अदालतले सात दिनभित्र अदालतमा उपस्थित हुन भनेपछि चिकित्सकहरूले आन्दोलन सुरु गरेका हुन् । 


नेपाल चिकित्सक संघको आह्वानमा भएको यो आन्दोलनमा नौ वटा स्वास्थ्य संस्थाले ऐक्यबद्धता जनाएका छन् ।

 
 
 
 
 
सोमबार, २३ असार २०८२, १३ : १८

प्रतिक्रिया