काठमाडाैं- चेतनाको अभाव, अशिक्षा र दुर्गम भौगोलिक अवस्थाका कारण निसीखोलाका विभिन्न गाउँमा अझै पनि स्वास्थ्य संस्थाको पहुँचमा नआइकनै घरमै सुत्केरी हुने महिलाहरूको संख्या उच्च रहेको छ। पछिल्लो एक वर्षमा मात्रै निसीखोला गाउँपालिकामा ६० भन्दा बढी महिला घरमै सुत्केरी भएका छन् भने दुई सुत्केरी महिलाले अकालमै ज्यान गुमाउनु परेको छ।
निसीखोलाका चुसिबाङ, तिघ्रापानी, भुर्वाङ र निसेलढोर जस्ता दुर्गम गाउँमा गर्भवती महिलाहरूको करिब ४० प्रतिशत घरमै सुत्केरी हुने गरेको तथ्यांकले देखाएको छ। पालिकाको तथ्यांकअनुसार गत वर्ष २१३ जना महिलाले स्वास्थ्य संस्थामार्फत सुत्केरी भए पनि घरमै हुने सुत्केरीको यकिन तथ्यांक संकलन गर्न कठिनाइ भइरहेको छ।
निसीखोला स्वास्थ्य शाखाका प्रमुख जुनी घर्तीमगरका अनुसार स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन भए पनि सबै गर्भवतीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन सकिएको छैन। उनले भनिन्, "घरमै सुत्केरी हुनेको संख्या मुख्य रूपमा दुर्गमका तीन गाउँमा बढी छ। तथ्यांकअनुसार गत वर्ष मात्र आठ जना महिलाले घरमै सुत्केरी गरे भने चालु आर्थिक वर्षमा हालसम्म सात जना महिलाले घरमै सुत्केरी गरेका छन्। कतिपय त घुम्ती गोठमै सुत्केरी भएका घटना पनि छन्।"
अशिक्षा, गरिबी, र अस्पतालमा जाने इच्छाशक्तिको अभावले गर्दा निसीखोला गाउँपालिकामा घरमै सुत्केरी हुनुपर्ने अवस्था आएको छ। स्वास्थ्य शाखा प्रमुख मगरका अनुसार यहाँका अधिकांश घरमै सुत्केरी हुने महिला दलित समुदायका रहेका छन्। बालविवाहसमेत प्रमुख चुनौती रहेको बताउँदै उनले थपिन्, "कतिपय महिलाहरू गर्भवती भएको जानकारी नै गराउन चाहँदैनन्। परिवारको समेत साथ नपाइने अवस्था छ, त्यसैले उनीहरू अस्पताल जान चाहँदैनन्।"
निसीखोला गाउँपालिका-६, चुसिबाङमा मात्रै पछिल्लो वर्ष १२ आमामध्ये ६ जना घरमै सुत्केरी भएका छन्। स्थानीय महिला स्वास्थ्य स्वयंसेविका मनिमला घर्तीका अनुसार घरमै सुत्केरी हुने महिलाहरू विशेष गरी न्यून आय भएका तथा दलित समुदायका छन्।
स्वास्थ्य शाखाका अनुसार, गत वर्ष संस्थागत सुत्केरीमध्ये ५८ जना २० वर्षभन्दा कम उमेरका थिए भने चालु आर्थिक वर्षमा १८ जना किशोरीले सन्तान जन्माइसकेका छन्। बालविवाहलाई लुकाउनकै लागि पनि कतिपय किशोरीहरू अस्पताल नजाने गरेको पाइन्छ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले निसीखोलाका दुर्गम गाउँलाई लक्षित गर्दै पोषण सचेतना कार्यक्रमलाई तीव्रता दिएको जनाएको छ। स्वास्थ्य मन्त्री कृष्ण पाठकले भने, "स्वास्थ्य पहुँच अभावकै कारण मातृ तथा शिशु मृत्युदर उच्च छ। यसलाई न्यून गर्न हामी पोषण सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै छौं।"
बागलुङका अन्य स्थानीय तहहरू शून्य होमडेलिभरी उन्मुख बनेका छन्। बरेङ र तमानखोला गाउँपालिकाले शून्य होमडेलिभरी नीति कार्यान्वयन गरिरहेका छन् भने चार नगरपालिकामा पनि संस्थागत सुत्केरी दर उच्च रहेको स्वास्थ्य अधिकृत लक्ष्मी शर्माले जानकारी दिए।
सरकार र स्थानीय तहको निरन्तर प्रयासका बाबजुद पनि निसीखोला गाउँपालिकामा घरमै सुत्केरी हुनुपर्ने बाध्यता स्वास्थ्य क्षेत्रकै लागि गम्भीर चुनौती बनेको छ। स्वास्थ्य संस्थाको पहुँच विस्तार, चेतना अभिवृद्धि, बालविवाह न्यूनीकरण र गर्भवती महिलाहरूलाई प्रेरित गर्ने प्रभावकारी कार्यक्रम आवश्यक रहेको विज्ञहरूले सुझाएका छन्।
प्रतिक्रिया