काठमाडौं–अहिले मुलुक राजावादी र गणतन्त्रवादीको दुई कित्तामा विभाजित भएको छ । गणतान्त्रिक व्यवस्था स्थापनाको करिब दुई दशक पछि राजावादीहरुको सक्रियता निकै बढेको छ भने पूर्वराजा ज्ञानेन्द्र शाहले पनि आफ्नो भूमिका पनि बढाउँदै लगेका छन् ।
पूर्वराजाले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा आफूलाई साथ दिन सार्वजनिकरुपमा आह्वान गरेपछि राजावादीहरु निकै उत्साहित हुँदै सक्रियता बढाएका छन् । त्यसयता पूर्वराजा पोखराबाट काठमाडौं फर्किन लाग्दा गत फागुन २५ गते उर्लिएको जनमानसले पनि राजसंस्थाप्रति नेपाली जनताले पुनः मोह बढाएको संकेत गरेको छ ।
सोही जनताको उपस्थितिलाई लिएर राजसंस्था पक्षधर दल र संघ संगठनहरुले आन्दोलनलाई निरन्तरता दिने प्रयत्न गरिरहेका छन् । राजसंस्था पुनस्र्थापनाका लागि पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा जनआन्दोलन समिति समेत गठन भइसकेको छ ।
भोलि(शुक्रबार)राजावादीहरुले राजधानी केन्द्रित जनप्रदर्शन गर्न लागेका छन् भने गणतन्त्रको रक्षार्थ भन्दै समाजवादी मोर्चाले पनि सोही दिन प्रदर्शनको तयारी गरेको छ ।
दुबै पक्षको शक्ति प्रदर्शनको शंखघोषले मुलकुलाई राजनीतिक मुठभेडतर्फ लैजाने कतिपयको आँकलन छ । देशमा लामो समय पछि पैदा भएको यस प्रकारको धु्रवीकरणले गणतन्त्रकालका राज्यसञ्चालकहरुको असफलता दर्शाउँछ ।
राजनीतिक विश्लेसक पुरञ्जन आचार्य व्यवस्थाप्रति भन्दा पनि विद्यमान नेताहरुको असफलता र त्यसकै कारण उत्पन्न तीव्र असन्तुष्टिको उपज वर्तमान परिस्थिति निम्तिएको बताउँछन् । उनले गणतान्त्रिक व्यवस्थाको कुशासनकै कारण राजावादीको आन्दोलनमा जनताको उपस्थिति उल्लेख्य भएको बताए ।
उनी भन्छन्,‘विगतदेखिका कुशासन र तत्कालीन कारण चाहिँ सरकारका पछिल्ला निर्णयको उपज नै राजसंस्था पुनस्र्थापनाको पक्षमा जनता देखिएका हुन् ।’
यसमा मुख्य जिम्मेवार प्रमुख तीन पार्टी र त्यसका मूल नेतृत्व नै रहेको उनको बुझाई छ ।
आचार्यले अगाडि भने, ‘अहिले देखा परेको उद्दण्डता र असन्तुष्टिले निम्त्याउने भनेकै अराजकता हो । त्यसलाई बेलैमा सम्बोधन नगर्ने हो भने राजतन्त्र पुनस्र्थापना भन्दा पनि मुलुक थप जटिल अवस्थामा जाने खतरा छ ।’
राजसंस्था पुनस्र्थापनाको सम्भावना भने नरहेको उनको भनाइ छ । तर, यही अराजकता रहिरहे यसले संविधानदेखि व्यवस्था नै नरहने जोखिमपूर्ण अवस्था निम्त्याउने प्रबल सम्भावना भने रहेको उनले औंल्याए ।
कांग्रेस एमाले माओवादी केन्द्र लगायत वर्तमान व्यवस्थाका पक्षधरहरुको अक्षमताले गणतन्त्रप्रति जनताको अपेक्षा हराउँदै गएको छ । यसलाई नजिकबाट नियालेका राजावादीहरुले जनताको असन्तुष्टि र आक्रोशलाई नै व्यवस्थाविरुद्धको आन्दोलनमा परिणत गर्ने उपयुक्त समयका रुपमा लिएका छन् ।
अर्का वाम विश्लेषक श्याम श्रेष्ठ पनि नेताप्रति मौलाएको जनताको असन्तुष्टि र आक्रोशलाई राजावादीहरुले उपयोग गर्न खोजेको बताउँछन् । अहिलेको राजावादीको उत्साहले राजसंस्था ल्याउन सम्भव नरहेको तर वर्तमान दल र नेताको विकल्प खोजेको उनी बताउँछन् ।
उनी भन्छन्, ‘यसको सम्पूर्ण भागीदार वर्तमान दल र नेताहरु नै हुन् । जनताको असन्तुष्टि र आक्रोशलाई मत्थर पार्न जनपक्षीय सेवा प्रवाहमा जोड दिनुपर्ने बेलामा सरकारबाटै परिणाम देखाएका व्यक्तिलाई बर्खास्त गर्ने कार्यले जनतामा थप असन्तुष्टि बढाएको छ ।’ वर्तमान दल र नेताहरुकै उपज अहिले अवस्था निम्तिएको उनको ठहर छ ।
पछिल्लो समय सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती र काठमाडौंका मेयर बालेसँग जोरी खोज्ने कार्यले जनतामा झनै आक्रोश बढाएको उनले बताए । यही स्थिति कायम रहे मुलुक थप अराजकतामा गएर व्यवस्थामाथि नै संकट निम्त्याउने खतरा रहेको उनले औंल्याए ।
प्रतिक्रिया