भरतपुर महानगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

शुक्रबार, २२ चैत्र २०८१, १५ : ५४

काठमाडौं - भरतपुर महानगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०८१\०८२ को दोस्रो चौमासिकमा भएका कार्यको सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ ।

शुक्रवार भरतपुर महानगरपालिकाको परिसरमा भएको सार्वजनिक सुनुवाइमा वडावासीहरूले भरतपुरमा भएको विकासको प्रशंसा गरे । उनीहरूले महानगरले थप सुशासन गर्नुपर्ने र अति आवश्यक योजनालाई अगाडि बढाउनुपर्नेमा सुझाव पनि दिएका थिए ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले ४ महिनाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । दोस्रो चौमासिकमा गौतमबुद्ध रंगशाला, महानगर प्रशासकीय भवन, पुङ्गी खोला, सिटीहल, केरुङ्गा नाला सौन्दर्यीकरण, मेशजाली फाउण्डेशन, ६ लेन सडक,फोहरमैला व्यवस्थापन, उज्यालो भरतपुर कार्यक्रमलगायतको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकलाई प्रश्नको उत्तर दिँदै प्रमुख रेनु दाहालले भरतपुरमा अल्पकालीन, मध्यकालिक र दीर्घकालीन महत्वका योजनाहरू एक साथ अघि बढाएको उल्लेख गरिन्। प्रमुख दाहालले अबको बाँकी कार्यकालमा धेरै कामहरू अगाडि बढ्ने र भरतपुरवासीलाई सन्तुष्ट बनाउने प्रयासमा महानगर अघि बढ्ने उनको भनाई थियो ।

प्रमुख रेनु दाहालले महानगरमा साझेदार निकाय, संघीय सरकार र प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणका कामहरूमा गुणस्तरलगायत कुनै पनि कुरामा गुनासो नआउने गरी काम गर्न निर्देशन दिइन् ।

कार्यक्रममा बोल्दै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगर योजनाबद्ध र सन्तुलित विकासको नीतिलाई अवलम्बन गर्दै दिगो र आत्मनिर्भर विकासको पक्षमा काम अगाडि बढाइरहेको बताए । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा र सुशासन कायम गर्दै अगाडि बढिरहेको बताउँदै उनले यसलाई कायम गर्न महानगरवासीको रचनात्मक सुझाव र खबरदारी निरन्तर रहनु पर्ने बताए ।

 कार्यक्रममा दोस्रो चौमासिक प्रगति प्रतिवेदन पेस गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले आर्थिक वर्ष ०८१÷\०८२ को विनियोजित ६ अर्ब ५६ करोड १ लाख ४३ हजार रहेकोमा रु १ अर्ब ९९ करोड खर्च भएको उल्लेख गर्नुभयो ।यो बजेटको ३६ दशमलव ४९ प्रतिशत हो ।

यसैगरी, महानगरले आर्थिक वर्ष ०८१ \०८२ को लागि रु १ अर्ब ८० करोड राजस्व संकलनको लक्ष्य लिएकोमा रु ७७ करोड १७ लाख ५४ हजार १३७ रुपैयाँ संकलन गरेको छ । जुन लक्ष्यको ४३ प्रतिशत हो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले महानगरले जनमुखी भई नागरिकलाई सन्तुष्ट पार्न सफल भएकोमा खुसी व्यक्त गरे ।

शुक्रबार, २२ चैत्र २०८१, १५ : ५४

प्रतिक्रिया