माइक्रोसफ्ट फेरि बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी

विहीबार, २८ चैत्र २०८१, १३ : ४८

काठमाडौं - माइक्रोसफ्टलाई फेरि विश्वको सबैभन्दा मूल्यवान पब्लिक कम्पनीमा परिणत  भएको छ । पछिल्ला केही दिनमा एप्पलको सेयर मूल्यमा आएको गिरावटका कारण माइक्रोसफ्टले पुनः यो उपाधि प्राप्त गरेको हो।

अमेरिकी सञ्चारमाध्यम सीएनबीसीका अनुसार, मंगलबार अमेरिकी सेयर बजार बन्द हुँदाको अवस्थामा माइक्रोसफ्टको बजार पुँजीकरण २.६४ ट्रिलियन अमेरिकी डलर पुगेको छ, जबकि एप्पलको पुँजीकरण २.५९ ट्रिलियन डलरमा झरेको छ।

गत चार कारोबार दिनमा एप्पलको सेयर मूल्य झण्डै २३ प्रतिशतले घटेको छ। विश्लेषकहरूका अनुसार, अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको भन्सार नीति र चीनमाथिको निर्भरता एप्पलका लागि ठूलो चुनौती बनेको छ। ट्रम्पको भन्सार शुल्क योजनाले समग्र बजारलाई दबाबमा राखेको भए पनि एप्पल विशेष रूपमा प्रभावित भएको बताइएको छ।

विशेषज्ञहरुको भनाइमा शुल्क वृद्धिका कारण अमेरिकी बजारमा आइफोन १६ प्रो म्याक्सको मूल्य ३५० डलरसम्म बढ्न सक्ने आंकलन गरिएको छ, जसको प्रत्यक्ष असर कम्पनीको सेयर मूल्यमा परेको छ।

हालैको बिक्री दबाब सुरु हुनु अघि एप्पल, माइक्रोसफ्ट र एनभिडियाको बजार पुँजीकरण ३ ट्रिलियन डलरभन्दा माथि रहेको थियो। तर अहिले यी तीनै कम्पनीहरूको पुँजीकरण पुनः ३ ट्रिलियन डलरभन्दा तल झरेको छ।
 

विहीबार, २८ चैत्र २०८१, १३ : ४८

प्रतिक्रिया