महायज्ञबाट रु ८० लाख ४३ हजार संकलन

शनिबार, ३० चैत्र २०८१, १३ : ४५

काठमाडौं - चाँगुनारायण नगरपालिका–३ झौखेलेको एक टहरामा आश्रित ४८ असाह्य, बेवारिसे र सडकमा भेटिने बेसाहारा मानवका लागि खाना, नाना तथा छानाको स्थायी व्यवस्थापनका लागि मानवकल्याण धाम निर्माणार्थ महायज्ञमा रु ८० लाख ४३ हजार ७१६ संकलन भएको छ ।

मध्यपुरथिमि नगरपालिका–५ राधेराधेमा मानवकल्याण समाजले यही चैत २१ गते सुरु गरी २७ गते सम्पन्न श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ–२०८१ मा भएको रु २५ लाख १८ हजार ७५५ खर्च कटाएर कूल रु ५५ लाख २५ हजार १६ बचत गरेको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष नरेश रञ्जितले जानकारी दिए । संकलित रकमलाई जग्गाको व्यवस्थापन नभएसम्मका लागि समितिले बैंकमा बचत खातामा जमा गर्ने र जग्गाको व्यवस्था भए लगत्तै भवन निर्माण सुरु गरिने उनले जानकारी दिए ।

महायज्ञ मूल आयोजक समितिका संयोजक गोपीकृष्ण न्यौपानेले महायज्ञमा दाताहरुको भौतिक उपस्थितमा नगद, बैक ट्रान्सफर र क्युआरमार्फत दान प्राप्त भएको उनले जानकारी दिए। महायज्ञबाट संकलित रकम मानवकल्याण समाजको भवन निर्माणमा खर्च गरिने जानकारी दिँदै उनले भवन निर्माणमा पनि बाँकी रहेको रकम अक्षयकोष निर्माण गरी राखिने बताए ।

भवन निर्माणका लागि जग्गा व्यवस्थापन गरेलगत्तै बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकारले भवन निर्माणमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकाले सहज हुने विश्वास रहेको उनले बताए । महायज्ञकी कथावाचिका एवं समाजकी संस्थापक अध्यक्ष सुमी मानवले पत्रकारसमक्ष हातमा एक झोला नगद र खामबन्दी एक मुठो रकम महायत्र मूल आयोजक समितिलाई हस्तान्तरण गरे । 

उनले भने, “मैले कथा वाचन गरिरहँदा भक्तजनले भागवत पुस्तकमा चढाएर जम्मा भएको रु ७६ हजार छ, आयोजक समितिले दक्षिणास्वरुप मलाई दिनुभएको यो रकम मैले खाम खोलेर हेरेको छैन, म यो दक्षिणा पनि लिन्न, यो रकम त्यही कोषमा राखिदिन म महायज्ञ मूल आयोजक समितिलाई हस्तान्तरण गर्छु ।” समितिका कोषाध्यक्ष रञ्जितले कथावाचिका समेत रहेकी मानवलाई दक्षिणास्वरुप रु एक लाख एक हजार दिएकामा उनले उक्त रकम पनि नलिने र पस्तकमा चढाएका रकम उनको आफ्नै भए पनि सो रकमसमेत कोषका लागि हस्तान्तरण गरेर धाम निर्माणका लागि थप योगदान गरेको बताए । 

समितिका सचिव बेद खरेलले भक्तपुरलाई सडक मानवमुक्त बनाउने अभियानलाई सार्थकता दिन र कोही नहुने अनाथ मानवका लागि मानवीय सहयोग जुटाउने अभियानलाई महायज्ञले पूर्णता दिने निश्चित भएको बताए । विसं २०७४ मा स्थापना भएको मानवकल्याण समाजले बेवारिसे सडक मानवको उद्धार, सरसफाइ, स्वास्थ्य उपचार, पुनर्मिलन, परामर्श र आश्रममै निधन भएकाको दाहसंस्कारसमेत मानवकल्याण समाजका सचिव विजयकुमार पोखरेलले जानकारी दिए ।

विसं २०७२ देखि भक्तपुरबाट सडकमा बेवारिसे रहेका मानवलाई चाउचाउ, बिस्कुट तथा पानी बाडेर सुरु भएको यो अभियान २०७४ सालदेखि सहयोगी हातहरुको सहयोगले भाडाको घर लिएर आश्रम अहिले झौखेलको टहरामा बेसाहाराको आश्रयस्थल बनेको उनले बताए । समाजले हाल काठमाडौंको पशुपति, काभ्रेको पनौती, धुलिखेल, दाङको तुलसीपुर, बाराको निजगढमा गरी ५५ अनाथ बालबालिकादेखि असहाय गरी ५०५ जनालाई पालनपोषण गर्दै आएको छ । सात वर्षको यो अवधिमा दुई हजा् १०० सडक मानव तथा बेवारिसे मानवको उद्धार गरी परिवारमा पुनर्मिलन गराइएको छ । 

सालनालसहित झाडीमा भेटिएका शिशुदेखि, बलात्कारको पीडामा परेकी किशोरी, अनाथ बालबालिका, छोराछोरी विदेश र स्वदशमै सम्पन्न भएर पनि सडकमा आश्रय लिन पुगेका आमाबाबुलाई समाजले आश्रय दिँदै आएको छ ।

शनिबार, ३० चैत्र २०८१, १३ : ४५

प्रतिक्रिया