शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयको शैक्षिक गतिविधि ठप्प

विहीबार, ०४ बैशाख २०८२, ११ : २६

काठमाण्डौ – सरकार र शिक्षकबीच यसअघि भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा आज १६औं दिन पनि शिक्षकहरुले सडक आन्दोलनलाई निरन्तरता दिँदैछन् ।

सरकारले विद्यालय शिक्षा विधेयक पारित गर्नेसमेतका प्रयोजनका लागि संघीय  संसद्को अधिवेशन यही वैशाख १२ गते बोलाइसकेको छ । तर शिक्षक महासंघले सङ्घीय संसद्को अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित भएपछि मात्रै आन्दोलन रोकिने बताउँदै आएको छ ।

शिक्षकहरूले माग गरिरहेको शिक्षा ऐनको विधेयक विगत १८ महिनादेखि संसदमा टुंगो लाग्न सकेको छैन ।

शिक्षकहरूको निरन्तरको आन्दोलनका कारण देशभरको शैक्षिक गतिविधि प्रभावित भएको छ । शिक्षकहरूको आन्दोलनले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियानमा प्रत्यक्ष असर परेको छ ।

सामुदायिक विद्यालयका शिक्षकहरु भर्ना अभियान स्थगित गर्दै विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी हुन काठमाण्डौ आएका छन् । कतिपय विद्यालयले जिल्लाबाटै भए पनि आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै विद्यालयमा सबै शैक्षिक गतिविधि बन्द गरेको जानकारी गराएका छन् ।

आन्दोलनका कारण सामुदायिक विद्यालयमा अध्ययनरत ७० लाख विद्यार्थीको  पठनपाठन प्रभावित भएको छ ।

 
 
 
 
 
 
विहीबार, ०४ बैशाख २०८२, ११ : २६

प्रतिक्रिया