आन्दोलनको चपेटामा मुलुक : अर्थतन्त्र चौपट, जनजीवन प्रभावित

आइतबार, ०७ बैशाख २०८२, १२ : २७

काठमाडौं– चैत पहिलो सातादेखि मुलुकमा आन्दोलनको मौसम सुरु भएको छ । राजनीतिक मात्रै नभएर अन्य पेशाकर्मीले पनि आन्दोलन जारी राखेका छन् । पछिल्लो समय व्यवस्था विरोधी राप्रपा, पेशाकर्मी शिक्षक महासंघ, अन्य पेशाकर्मी चिकित्सक लगायतले पनि श्रृंखला बद्ध रुपमा पनि आन्दोलन गरिरहेका छन् । मुलुकमा सल्किएको आन्दोलनको आगोले सामाजिक, राजनीतिक, साथै आर्थिक क्षेत्र पनि प्रभावित बनेको छ । 

लामो समयदेखि मन्दीको मार खेपेको अर्थतन्त्रको घाटीलाई नराम्रो सँग निमोठिरहेको छ । आन्दोलनका कारण व्यापार, व्यवसायका साथै आर्थिक क्षेत्रमा ठूलो प्रभाव परेको छ । खासगरी आन्दोलनका कारण ज्यालादारी वर्गले सबभन्दा ठूलो मार खेपिरहेका छन् । आन्दोलनकै कारण मजदुर वर्गको रोजीरोटी गुम्ने खतरा बढेको छ । १९ दिन देखि जारी शिक्षकहरुको आन्दोलनले त झन काठमाडौंको ट्राफिक व्यवस्थापन नै भद्रगोल हुन पुगेको छ ।
 
एकातिर सर्वधारणले सास्ती पाएका छन् भने अर्को तिर यातायात मजदुरहरुको रोजरिोटी नै गुम्ने अवस्था सिर्जना भएको छ । सरकारले संघीय राजधानी काठमाडौंका विभिन्न ठाउँलाइ निषेधित क्षेत्र घोषणा गरेको छ । जसका कारणले उक्त स्थानहरुको व्यापार, व्यवसाय प्रभावित बनेको छ । गत चैत्र १५ मा राजावादीले गरेको आन्दोलनका कारण सरकारी र निजी क्षेत्रमा ठूलो आर्थिक क्षति भयो । 

आन्दोलनकारीहरुले सुपरमार्केट, उद्योग, पसल र गाडीहरुमा आगजनी र तोडफोड गर्दा करौडौंको क्षति भएको छ । जसका कारणले निजी क्षेत्र स्तब्ध बनेको छ । आन्दोलनलाई सरकारले लगाम लगाउन नसक्दा निजी सम्पत्ति ध्वस्त भएको छ । तत्काल नै आन्दोलन रोकिने छनक देखिएको छैन्, जसका कारण देशको आर्थिक क्षेत्रमा झन ठूलो क्षति पुग्ने निश्चित छ । 

अर्थविद् डा. चन्द्रमणी अधिकारी आन्दोलनको प्रभाव, उद्योग, व्यवसाय, सहकारी, लघुवित्त लगायत सबै क्षेत्रमा परेको बताउँछन् । ‘अहिले खेतमा काम गर्ने बेला हो तर, मानिसहरु काम छोडेर आन्दोलनमा होमिएका छन् । जसका कारणले उत्पादन घट्ने सम्भावना पनि देखिएको छ’ उनले भने । आन्दोलनले तत्काल मात्र नभएर दीर्घकालसम्म पनि असर पार्ने सम्भावना रहेको उनले बताए ।

अर्थविद् अधिकारी अगाडि भन्छन्, ‘आन्दोलनका कारणले सरकार अस्थिर हुने सम्भावना छ साथै दलहरु विभिन्न कित्तामा विभाजित हुन्छन् जसका कारणले नीतिगत समस्या उत्पन्न हुन जान्छ र त्यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा देखिन्छ । ’ 

अर्का अर्थविद डा रामेश्वर खनालको तर्क भने अलि फरक छ । ‘कुनै आन्दोलनले अर्थतन्त्रमा सकारात्मक प्रभाव पनि पारेको हुन्छ, जस्तो कि मध्यपूर्वमा रुस र युक्रेनबीच चर्किएको युद्ध्ले ठूलो मात्रामा हतियार विक्री भयो, जसको कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव प¥यो’ उनले भने ।

अहिले चलिरहेको आन्दोलनको प्रकृतिले भने अर्थतन्त्रलाई खासै क्षति नपुर्याएको उनको भनाइ छ ।

उनले भने, ‘नेपालमा अहिले राजधानी केन्द्रित आन्दोलन भइरहेको छ जसका कारणले विभिन्न जिल्लाबाट मानिसहरु काठमाडौं आएका छन् । यहाँका होटल व्यवसाय र रेटुडेन्टहरुमा आर्थिक गतिविधि बढेको छ । यदि चक्का जाम, हडताल, हुन्थ्यो भने त्यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने थियो  ।’   

नेपालमा एक महिनाको अवधिमा भएको आन्दोलनले मात्र करौडोको क्षति पुगेको छ । त्यसको जिम्मेवार को हो ? जसको जीवन भरको कमाइ स्वाहा भएको छ उसले न्याय पाउँछ त भन्ने प्रश्न पनि सरकारमाथि सोझिएका छन् । 

 
आइतबार, ०७ बैशाख २०८२, १२ : २७

प्रतिक्रिया