काठमाडौं– आगामी आर्थिक वर्ष २०८२\८३ को नीति तथा कार्यक्रम आज संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा प्रस्तुत हुँदैछ ।
संघीय संसद्को बैठक आज दिउँसो ३ बजे बजेका लागि बोलाइएको छ । सोही बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।
त्यसअघि सभामुख देवराज घिमिरेले दिउँसो २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यहरुलाई आसनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन आग्रह गरेका छन् ।
यसअघि नै सत्ता साझेदार राजनीतिक दलका बीचमा अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भइसकेको छ ।
यस्तै नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा नीति तथा कार्यक्रम केन्द्रित हुने जनाइएको छ । संघीय संसद् सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची तय गरिसकेको छ ।
यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । प्रि–बजेट छलफलका रूपमा त्यसलाई लिइएको छ । त्यसपछि नेपालको संविधानअनुसार आगामी, जेठ १५ गते आर्थिक वर्ष २०८२\८३ को बजेट संघीय संसद् बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने छन् ।
प्रतिक्रिया