काठमाडौं- जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबिच बढ्दो तनावका बीच भारतले पाकिस्तानबाट आयात हुने सबै सामानमा प्रतिबन्ध लगाएको छ।
पाकिस्तानमा उत्पादन हुने र पाकिस्तानबाट भारत आउने सामानहरूमा तत्काल लागू हुने गरी प्रतिबन्ध लगाइएको हो। यस सम्बन्धमा वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले एक सूचना जारी गरेको छ।
सूचनाअनुसार विदेश व्यापार नीति २०२३ मा एक प्रावधान थपिएको छ। जसमा भनिएको छ, ‘अर्को आदेश नभएसम्म तत्काल लागू हुने गरी पाकिस्तानबाट आउने वा निर्यात हुने सबै सामानहरूको प्रत्यक्ष वा अप्रत्यक्ष आयातमा प्रतिबन्ध लगाइएको छ।’
अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश पर्यटक थिए। यस आक्रमणपछि भारत र पाकिस्तानले एकअर्का विरुद्ध धेरै कदम चालेका छन् र दुई देशबिच तनाव कायमै छ। -एजेन्सी
प्रतिक्रिया