काठमाडौं- काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन दिएको छ ।
नगरले जनप्रतिनिधि, शिक्षक, नगरका कर्मचारी तथा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीलाई यही वैशाख मसान्तसम्ममा अनिवार्य रूपमा सामुदायिक विद्यालयमा आफ्ना बालबालिका भर्ना गरेको प्रमाणसमेत बुझाउन निर्देशन दिएको हो ।
नगरले शुक्रबार सार्वजनिक सूचनामार्फत सामुदायिक विद्यालय शैक्षिक सुधार योजनाअन्तर्गत मण्डनदेउपुर नगरभित्रका जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन दिएको छ ।
नगरले २०८१ चैत २६ गते नगर शिक्षा समितिको बैठकले गरेको निर्णय अनिवार्य रूपमा कार्यान्वयन गर्न–गराउन उर्दी नै जारी गरेको हो । करिब एक महिनाअघि नगरले निर्णय गरेको निर्णय सबैले कार्यान्वयन नगरेकाले सूचनामार्फत निर्देशननै जारी गरिएको नगरप्रमुख टोकबहादुर वाइबाले बताए । “निर्णय कार्यान्वयन गराउन नगर दत्तचित्त रहन्छ”, उनले भने ।
प्रतिक्रिया