काठमाडौं- प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा आशाको सञ्चार गराउने र देखाउने प्रमुख दायित्व मिडिया जगतकै रहेकोले त्यसतर्फ केन्द्रित हुन सबैलाई आग्रह गरेका छन् ।
सृजनात्मक पत्रकारिताको बढावा हुन नसक्दा समाजमा गाली संस्कृती र नकरात्मकता छाएकोले त्यसलाई हटाउन सञ्चारकर्मीको विशेष भूमिका हुने उनको धारणा थियो ।
राष्टिय समाचार समिति (रासस)ले आफ्नो ६४ औं वार्षिकोत्सवका अवसरमा प्रकासन गरेको फोटो किताब आइतवार राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले काउन्सिल अध्यक्ष बस्नेतलाई हस्तान्तरण गरेका थिए । सोही क्रममा अध्यक्ष बस्नेतले लोकतान्त्रिक गणतन्त्र स्थापनापछि भएका उल्लेख्य उपलब्धीलाई तस्वीर मार्फत जनमानसमा ल्याउन यो पुस्तक महत्वपूर्ण दस्तावेज हुने भन्दै राससको सरहाना गरे ।
त्यसक्रममा कार्यकारी अध्यक्ष झाले गणतन्त्र स्थापनापछि नेपालमा केही पनि भएन भन्ने गलत भाष्य चिर्न तथ्यसहित पुस्तक प्रकासन गरिएको बताए ।
‘वास्तवमा यो अवधिमा धेरै काम भएको छ । तर, मिडियाले भएका काम बाहिर ल्याउन सकिरहेको छैन । नराम्रो र हुँदै नभएको कुरा खोतल्नु मात्र पत्रकारिता होइन’, अध्यक्ष झाले भने ।
राससले यसअघि हाम्रो संस्कृति, हाम्रो सम्पदा र समृद्धिका लागि पूर्वाधार शीर्षकहरुमा तस्वीर प्रर्दशनी गरेको थियो । तिनै तस्वीरहरुको संग्रहको रुपमा ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ प्रकाशन भएको हो ।
प्रतिक्रिया