काठमाडौं– नेपाली राजनीतिमा प्रधानमन्त्री केपी ओलीको बेग्लै खालको विशेषता रहेको छ । उनी सकेसम्म अरुको अस्तित्व स्विकार गर्दैनन् । यस्तो स्वभावलाई सामन्ती पनि भनिन्छ । तर ओलीको राजनीतिक यात्रा ‘सामन्तहरुको टाउको गिंडेर’ भएको हो । उनी एमालेमा प्रमुख नेता (अध्यक्ष) नबन्दासम्म नेतृत्व परिवर्तनको चर्को आवाज उठाउने गर्दथे । तर पार्टीसत्तामा आएपछि उनको बोली फेरिएको छ । एमालेबाट माधव–झलनाथ बाहिरिएपछि त उनलाई चुनौति दिने नै कोही छैन । अहिले एमालेमा ओली जे बोल्छन् त्यही बिधि बन्छ । उनले आफूले मन नपराएको जो कोहीलाई पनि भिम रावल बनाउन सक्छन् । पुरै जिन्दगी एमालेमा बिताएका नेताहरुको राजनीतिक भविष्य समाप्त पारिदिन सक्छन् । त्यसैले एमालेमा कोही पनि राजनीतिक जीवन जोखिममा पार्न चाहँदैन ।
ओली दुई कार्यकाल एमालेको अध्यक्ष भैसकेर पनि तेस्रो कार्यकालका लागि पनि निर्विकल्प मानिएका छन् । उनीसँग प्रतिष्प्रधा गर्न सम्भवतः कोही पनि तयार हुनेछैन । भिम रावल बन्न को तयार होला र ? नेपालका मुख्य दलहरुमा आन्तरिक लोकतन्त्र शुन्यप्रायः छ । अध्यक्षका विरुद्ध कसैले आवाज निकाल्यो भने पनि उसको राजनीतिक जीवन जोखिममा पर्ने खतरा रहन्छ । त्यसैले बरु चाकडी गर्दा फाइदा हुने भएकोले दलहरुमा चाकडीप्रथा सुरु भएको छ । पार्टीमा लोकतान्त्रिक अभ्यास नभएपछि त्यसको प्रभाव राज्य सञ्चालनमा पनि पर्दो रहेछ । ओली अहिले त्यही अभ्यास गरिरहेका छन् । उनी पार्टी मात्र होइन सरकार पनि एकलौटी ढंगले नै चलाउने प्रयाश गरिरहेका छन् । विद्या भट्टराईको राजीनामा र कान्छारामको बर्खास्तगी यसैका उदाहरण हुन । शेरबहादुर देउवाको एकल समर्थन रहेसम्म ओली डगमगाउने छैनन् । देउवालाई जसरी पनि ओलीबाट सकुशल सत्ता प्राप्त गर्नुछ ।
ओली आफ्ना संभावित प्रतिष्प्रधीहरुलाई भन्दैछन् ‘एमालेको अध्यक्ष बन्न अर्झै १५/२० वर्ष पर्खनुपर्छ ।’ उनको यो दम्भले एमालेमा मात्र होइन नेतृत्व परिवर्तनको अपेक्षा गरेका अन्य दलका नेता /कार्यकर्तालाई पनि निराश बनाएको छ । त्यसको अहंकार उनले सरकार सञ्चालनमा पनि देखाउन थालेका छन् । मैले जे गरे पनि हुन्छ भन्ने दम्भ उनमा देखिएको छ । उनले मन्त्रिपरिषद्को बैठक पनि आफ्नो निवास बालुवाटारमा राख्न थालेका छन् । आफ्नो निवासमा मन्त्रिपरिषद्को बैठक राख्नु बलमिच्याइँ नै हो । प्रधानमन्त्रीका यस्ता काम कारबाहीहरु आफ्नो व्यक्तिगत महत्व बढाउन गरिएको जस्तो देखिन्छ । यसले मुलुकलाई राम्रो गर्दैन । व्यवस्थालाई पनि यस किसिमका क्रियाकालापले राम्रो गर्दैनन् । जनताले लडेर ल्याएको लोकतान्त्रिक व्यवस्थामा एउटा प्रधानमन्त्रीको एकाधिकार र मनपरी शैली शोभनीय हुन सक्तैन । प्रधानमन्त्रीकै सिको गरेर मन्त्रीहरुले पनि निवासबाटै मन्त्रालयको काम गर्न थाले भने के होला ?
राज्य सञ्चालनको लागि प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा रहेको छ । तर उनी अधिकांश सरकारी भेटघाट र पार्टी संसदीय दलको बैठकसमेत बालुवाटारमा आयोजना गर्ने गर्दछन् । यो एक प्रकारको हठी र तानाशाही प्रवृत्ति नै हो । उनको हठ र मनपरीतन्त्रले एमाले पार्टीले अपनाएको जनताको बहुदलीय जनवादको आदर्शलाई कोमामा पुर्याएको छ । सामूहिक नेतृत्वको अभ्यास गर्ने एमालेको पार्टी पद्धतिमै बदलाव आउन थालेको छ । मुत्युसैयामा नपुगेसम्म पार्टीसत्तामा रहने नेपाली नेताहरुको आम प्रवृत्ति नै बनेको छ । साना ठूला सबै पार्टीहरुमा यो रोग देखिएको छ । भन्ने एक थोक र गर्ने अर्कै । यो आम नेपाली राजनीतिको चरित्र भएको छ । ओली त सरकारको प्रधानमन्त्री र एउटा ठूलो कम्युनिष्ट पार्टीको अध्यक्ष । उनी त उदाहरण बन्नुपथ्र्यो । उनको अहंकारी र सर्वसत्तावादी प्रवृत्तिले अन्य नेताहरुलाई पनि बल दिएको छ । यसले गणतन्त्रमाथि नै प्रश्न उठ्नु स्वभाविक छ । यस्तो प्रवृत्ति माओवादी केन्द्रमा पनि मौलाउँदो छ । प्रचण्ड रहेसम्म त्यहाँ पनि कसैले नेतृत्वमा पुग्ने सपना देख्नु व्यर्थ मानिन्छ ।
माओवादी पार्टी किन कमजोर भयो भन्ने सन्दर्भमा एक जना माओवादी पूर्व लडाकूको अनुभव र विचार जस्ताको तस्तै हेरौं । उनी भन्छन्,‘ हामी माओवादी । माओकै विचार र दर्शन अंगालेर लडियो । हाम्रो अध्यक्ष प्रचण्डलाई पनि हामी जनयुद्धको बेला माओकै अवतार ठान्थ्यौं । युद्ध बिसाएर शान्तिप्रक्रियामा आएपछि भने अध्यक्षमा परिवर्तन आउन थाल्यो । माओ कहिले पनि राजकीय जिम्मेवारीमा जानु भएन । उहाँ प्रधानमन्त्री पनि बन्नु भएन, राष्ट्रपति पनि बन्नु भएन । तर पनि उहाँको सम्मानमा कमी आएन । आज पनि चीन माओकै आदर्शमा हिंडिरहेको छ । विश्वमै उहाँको ख्याति छ । हाम्रो अध्यक्ष पनि पार्टी अध्यक्ष मात्रै बनेर बसेको भए । उहाँले पनि रोल्पालाई नै आफ्नो वासस्थान बनाएको भए । उहाँक्रै निर्देशनमा पार्टीका अन्य नेताहरुले सरकार चलाएर देशको मुहार फेर्नसक्थे कि । जस्तो बाबुरामजी, बादलजी, प्रभाकर लगायतका नेताहरुलाई सरकार चलाउने जिम्मा दिने र प्रचण्डले संरक्षकको भूमिका खेलेको भए नेपाल पनि चाइना बन्ने थियो र प्रचण्ड पनि माओ जस्तै सम्मानित बन्न सक्नुहुन्थ्यो होला । तर आज अवस्था निकै दयनीय भएको छ । त्यत्रो युद्ध लडेर इतिहास बनाएको माओवादी पार्टी र यसका नेताहरु जनताको नजरमा गिरेका छन् । यिनीहरु पनि एमाले–कांग्रेसका नेता जस्तै पद, प्रतिष्ठा र सम्पत्तिका भोका रहेछन् भन्ने बुझाइ जनताको रहेको छ । यस्तो देख्दा म जस्ता लडाकुको मुटु भक्कानिएर आउँछ । ’
साँच्चै ती माओवादी पूर्व लडाकूले कल्पना गरे जस्तै प्रचण्डले गरेको भए देशको यो अवस्था हुंदैन थियो कि ? माओवादी पार्टी पनि मुलुकको नेतृत्वबाट बाहिरिनुपर्ने थिएन कि ?
प्रतिक्रिया