नेपाल भ्रमणमा रहेका भाजपाका नेता भगतसिंह कोश्यारीको उच्च राजनीतिक भेटघाटको ‘गुप्त अन्तर्य’

शनिबार, २७ बैशाख २०८२, १४ : ००

काठमाडौं - भारतीय जनता पार्टी (भाजपा) का पूर्व उपाध्यक्ष भगत सिंह कोश्यारीले काठमाण्डूमा उच्च राजनीतिक भेटघाट गरिरहे पनि त्यसको उद्देश्यबारे खासै चर्चा भएको पाइँदैन।

सुदूरपश्चिम प्रदेशसँग सिमाना जोडिएको भारतीय राज्य उत्तराखण्डका मुख्यमन्त्री भइसकेका कोश्यारी नेपाली नेताहरूसँग सम्पर्कमा रहने भाजपा नेताहरूमा पर्छन्।

उनले बीबीसीसँगको कुराकानीमा नितान्त व्यक्तिगत भ्रमणमा आएको प्रतिक्रिया दिए।

बद्रीनाथ मन्दिर निर्माण समितिले निम्ता दिएपछि आफू नेपाल आएको उनको भनाइ छ।

नेपालमा आफ्ना धेरै साथीहरू रहेको र भ्रमणमा आएका बेला भेटघाट गर्ने गरेको बताए।

‘यहाँ मेरा धेरै साथीहरू छन् – राइट (दक्षिणपन्थी), लेफ्ट (वामपन्थी) र सेन्टर (मध्यपन्थी), सबैसँग भेट हुन्छ’

उच्च राजनीतिक भेटघाटबारे उनले भने, ‘बिहानदेखि साँझसम्म यहाँ भिड लागेको छ, केही ठूला मान्छे छन्, उनीहरूको घरमै भेटेर आउँछु, नमस्ते आदान प्रदान भइहाल्छ, त्योभन्दा धेरै केही होइन।’

कोश्यारी र प्रधानमन्त्रीसँगको भेटमा के कुरा भयो ?

महाराष्ट्रको राज्यपाल हुनुअघि उनी सन् १९५० को सन्धि पुनरावलोकन लगायतका विषयमा सिफारिस दिन गठित नेपाल(भारत प्रबुद्ध समूह (ईपीजी) मा भारतीय पक्षको टोली नेता थिए।

ईपीजीको अन्तिम बैठकले आफ्नो प्रतिवेदन सुरुमा भारत र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरे पनि भारतले नबुझ्दा हस्तान्तरण भएको छैन।

कतिपयले त्यो विषयका कारण पनि कोश्यारी नेपालमा सार्वजनिक रूपमा राजनीतिक टीकाटिप्पणी गर्ने अवस्थामा नरहनु स्वाभाविक ठानेका छन्।

तैपनि उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका छन्।

तर उनले भेटघाटमा राजनीतिक कुराकानी भएको कुरा अस्वीकार गरेका छन्। उनी आफैले फेसबुकमा भेटघाटको फोटो राखेका छन्।

प्रधानमन्त्रीदेखि प्रमुख विपक्षी दलका नेतासँगको भेटवार्ताको विषयमा भने उनले एउटा भाषा लेखेका छन्, ‘नेपाल–भारत सम्बन्ध, सांस्कृतिक विरासत र आपसी समन्वय जस्ता विभिन्न मुद्दाहरूमा सकारात्मक चर्चा भयो।’

प्रधानमन्त्रीसँग पनि कुनै विशेष कुरा नभएको उनको भनाइ छ। ‘कुनै खास भएन, अझै राम्रो बनाउनुस्, ठिक गर्नुस् भनेँ ’ राजनीतिक कुराकानी गर्न छाडिसकेको बताउँदै कोश्यारीले भने, ‘मैले अब राजनीतिक विषयमा बोल्नै छाडेँ, भारतमा बोल्नेहरू धेरै छन्।’

राष्ट्रपतिसँग शिष्टाचार भेट भएको नेता कोश्यारीले उल्लेख गरेका छन्
कोश्यारीसँग कांग्रेसका नेता एनपी साउदले पनि भेट गरेका थिए। उनका अनुसार कोश्यारीसँग नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धदेखि कश्मीर घटनाबारे छलफल भएको थियो।

‘आतङ्ककारीहरूले नेपाली युवाको हत्या गरेको बताउँदै उहाँले नेपालप्रति समवेदना प्रकट गर्नु भयो,’ नेता साउदले बताए।

कोश्यारी निकट रहेका एक नेपाली जानकारले सक्रिय राजनीतिबाट टाढिए पनि उनी राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) को उच्च मर्यादाक्रममा रहेको बताए।

‘मलाई लाग्छ, शिष्टाचार भेटघाटमा मात्र भ्रमण सीमित छैन,’ उनले आफ्नो बुझाइ सुनाए।

पत्रकार युवराज घिमिरे यस्ता भेटघाटबारे नेपालमा कुनै कूटनीतिक प्रोटोकल परिभाषित नभएको बताउँदै ‘निजी भ्रमण’ को रूपमा मात्र मान्न नसकिने उल्लेख गर्छन्।

दिल्ली ‘उदासीन रहेका’ नेपाल–भारत सम्बन्धका चार मुद्दा

उनका अनुसार एक महिनाअघि गणेशमान सिंह फाउन्डेसनको कार्यक्रममा अन्य भारतीय नेता केसी त्यागी र सुधिन्द्र भदोरियासँगै कोश्यारी पनि नेपाल आउने योजना रहेको सूचना थियो।

‘भारतको आधिकारिक प्रतिनिधि घोषित भएर आउँदा हल्ला हुने भयो, त्यसो भएर उनी यो बेला अनौपचारिक रूपमा आधिकारिकतासँगै आएका छन्,’ घिमिरे भन्छन्,‘ूनेपालमा आन्तरिक राजनीति र अवस्थाको जानकारी लिन आएका हुन्।’

राप्रपालाई बेवास्ताको सन्देश के ?
राजावादीहरूले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन्
यसअघि बीजेपीका नेता चौथाइवालेले सबै जसो दलका नेताहरूसँग भेट गरे पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूसँग भेट गरेका थिएनन्।

नेता कोश्यारीले पनि राप्रपा नेताहरूसँग भेटघाट नगर्ने उनी निकट मानिएका नेपाली बताउँछन्।

‘भारतले यहाँको राजनीतिलाई निर्देशित गर्ने गरेको भन्ने प्रभाव हटाउन राप्रपा राजा फर्काउने आन्दोलनमा रहेको राप्रपासँग नभेटेको हुनसक्छ,पत्रकार घिमिरेको बुझाइ छ, ’अर्को कुरा प्रधानमन्त्री केपी शर्मा ओली अनुमान गर्न नसकिने छन् र उनलाई चिढाउन हुन्न भन्ने शिक्षा भारतले लिएको छ।ू

उनका भनाइमा ‘सम्भवतः नेपालमा भारतको भूमिकामाथि उठ्ने गरेका प्रश्न र खस्किएको उसको विश्वसनीयताको पछिल्लो अवस्था जाँचबुझ गरेर कोश्यारी’ फर्किने छन्।

परराष्ट्रमन्त्री आरजु राणा देउवालाई दिल्लीले किन दियो यस्तो ‘महत्त्व’

किन कि नेपालमा भारतको कूटनीतिक विश्वसनीयता गुमेको आकलन भारतमा पनि छ भन्ने घिमिरे ठान्छन्।

‘आफैले आतङ्ककारी भनेको माओवादीलाई अभिभावकत्व दिएको आरोप र धर्मनिरपेक्षताको मुद्दामा भारतको तत्कालीन संस्थापनले पश्चिमा शक्तिहरूसँग सहकार्य गरेको विषय,’ तेस्रो कारण उल्लेख गर्दै पत्रकार घिमिरे भन्छन्, ‘भारतीय प्रधानमन्त्रीको सन्देश मान्दा पनि तत्कालीन राजा ज्ञानेन्द्र शाहले पाएको कूटनीतिक धोका, त्यस यता बेहोरिरहेको क्षति न्यूनीकरण आकलनको प्रारम्भिक जिम्मेवारी पनि कोश्यारीलाई दिइएको हुनसक्छ।
तर भविष्यमा परिस्थिति फरक आउँदा राजसंस्था र हिन्दू राष्ट्र पक्षधरसँग पनि भारतले डिल गर्नुपर्ने अवस्था आउन सक्ने उनको बुझाइ छ।

कतिपय राजावादी नेताहरूले पनि आफूहरूले आन्दोलन बढाउन सकेमा अन्तर्राष्ट्रिय चासो र महत्त्व स्वतः आर्जन गर्न सकिने बताउँदै आएका छन्।उनीहरूले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन्।

शरद केसी (बीबीसी) 

शनिबार, २७ बैशाख २०८२, १४ : ००

प्रतिक्रिया