क्यानडाको श्रम बजार सुस्त, बेरोजगारी दरमा निरन्तर वृद्धि

शनिबार, २७ बैशाख २०८२, १४ : ४३

काठमाडौं– क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अंकले वृद्धि भई ६.९ प्रतिशतमा पुगेको छ । यसअघि मार्चमा पनि ०।१ प्रतिशत अंकको वृद्धिसँगै बेरोजगारी दर बढेको राष्ट्रिय तथ्यांक निकाय स्ट्याटिसटिक्स क्यानडाले शुक्रबार जानकारी दिएको छ ।

यो वृद्धिसँगै बेरोजगारी दर सन् २०२४ को नोभेम्बरमा पुगेको स्तरमा फर्किएको हो, जुन जनवरी २०१७ यताकै उच्चतम् दर हो । निकायका अनुसार, अप्रिल महिनामा रोजगारी खोजिरहेका व्यक्तिहरूले अघिल्लो वर्षको तुलनामा अझै बढी कठिनाइको सामना गर्नु परेको देखिएको छ । मार्चमा बेरोजगार रहेका ६१ प्रतिशत व्यक्ति अप्रिलमा पनि बेरोजगार नै रहेका थिए, जुन अघिल्लो वर्षको तुलनामा उच्च अनुपात हो ।

अप्रिलमा समग्र रोजगारीमा खासै परिवर्तन देखिएन भने रोजगारी दर ०।१ प्रतिशत अंकले घटेर ६०.८ प्रतिशतमा झरेको बताइएको छ ।

१५ देखि ६९ वर्ष उमेर समूहका कर्मचारीमध्ये १३.२ प्रतिशतले आफ्नो कार्यस्थलमा आगामी छ महिनाभित्र कर्मचारी संख्या घट्ने अपेक्षा व्यक्त गरेका छन् । 

यस्तै, अमेरिकी मागमा निर्भर क्यानाडेली निर्यात उद्योगमा कार्यरत कर्मचारीहरूमध्ये यो अनुपात १८.६ प्रतिशत रहेको स्ट्याटिस्टिक्स क्यानडाले जनाएको छ । -एजेन्सी

शनिबार, २७ बैशाख २०८२, १४ : ४३

प्रतिक्रिया