काठमाडौं- दोर्दी खोला जलविद्युत कम्पनीको करिब साढे १९ लाख कित्ता अवितरित हकप्रद सेयर यही जेठ ११ गतेबाट बिक्रीमा राखिने भएको छ।
कम्पनीले चुक्तापुँजी १ः१ अनुपातमा १०० रुपैयाँ दरका कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर बिक्रीमा राखिएको थियो। त्यतिबेला बिक्री हुन बाँकी १९ लाख ४६ हजार ६७६ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो।
बिक्रीमा राखिने कुल सेयरमध्ये संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहको १ लाख ६५ हजार ९५६ कित्ता सेयर छन्। यी दुवै समूहको लकइन आउँदो असार ७ गते सकिँदैछ। त्यसैगरी सर्वसाधारण समूहकै लकइनमा नरहेको ४ लाख ९५ हजार ६७९ कित्ता सेयर पनि बिक्रीमा राखिनेछ।
बिक्रीमा राखिने सेयरमा जोकोही व्यक्ति तथा संस्थाले सेयर खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ता खरिद गर्न बोलपत्र पेस गर्न सक्नेछन्।
लगानीकर्ताले काठमाडौंको नक्सालमा रहेको सानिमा क्यापिटलका साथै सानिमा बैंकका शाखाहरु विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, भरतपुर, हेटौँडा, पोखरा, बुटवल, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, महेन्द्रनगर र गरिमा विकास बैंकको बागलुङ शाखामा बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र जेठ १९ गते बैंकिङ समयसम्म पेस गर्न सक्नेछन्।
प्रतिक्रिया