धादिङ माओवादीमा भाँडभैलो : जिल्ला पार्टी नेतृत्वविहीन, पार्टी कार्यालय भवन निर्माणमा आर्थिक हिनामिना

आइतबार, ०४ जेठ २०८२, १० : २२

काठमाडौं- नेकपा(माओवादी केन्द्र) धादिङ जिल्ला समितिको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । पार्टीको आन्तरिक विवादले नयाँ जिल्ला समिति चयन हुन सकेको छैन भने पार्टी कार्यालयको भवन निर्माणमा समेत आर्थिक अनियमितता भएको आरोप लागेको छ ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्मकट्टेल पक्षको दबाबले गत बैशाख ३१ गतेको विस्तारित भेलाले नयाँ नेतृत्व चयन गर्न नसकेर स्थगित भएको थियो । जम्मकट्टेल पक्षले पुरानै मनराज भण्डारीलाई नै नेतृत्वमा दोहोर्याउन चाहेका छन् । अर्का नेता जगत सिम्खडा पक्ष भने नयाँ नेतृत्व चयन गर्नुपर्ने पक्षमा उभिएको छ । यी दुई पक्षको आन्तरिक विवादले धादिङ माओवादी नेतृत्वविहीन बन्न पुगेको हो । 

पछिल्लो समय धादिङमा एकछत्र बर्चस्व कायम गरेका जम्मकट्टेलले आफ्ना विरोधीलाई तह लगाउन केन्द्रीय सदस्य रामबहादुर भण्डारीलाई उपयोग गरेका छन् । यसअघि यिनै भण्डारीले जिल्लाबाट पूर्वप्रहरी प्रमुख रवीन्द्रप्रताप शाहलाई समानुपातिक सांसद सिफारिस गरिएको भन्दै पार्टी कार्यालय तोडफोड गरेका थिए ।

अहिले जम्मकट्टेलले धादिङका संस्थापक नेता पुष्पविक्रम मल्ल र जगत सिम्खडाको विरुद्धमा उनै भण्डारीलाई परिचालन गरेर निवर्तमान संयोजक मनराज भण्डारीलाई नै पार्टी नेतृत्वमा निरन्तरता दिन खोजिरहेका छन् ।

धादिङको माओवादी नेतृत्व यिनै जम्मकट्टेलकै एकाधिकारको कारण दुई खेमामा विभाजित भएको छ । जम्मकट्टेललाई केन्द्रीय सदस्य भण्डारी सहित निवर्तमान संयोजक मनराज भण्डारीले साथ दिएका छन् भने अर्का नेता जगत सिम्खडालाई पुष्पविक्रम मल्ल र धनबहादुर बुर्लाकोटी लगायत त्यहाँका पुराना संस्थापक नेताहरुले साथ दिएका छन् ।

पूर्वमुख्यमन्त्री एवं धादिङकै माओवादी नेता जम्मकट्टेलले भने नयाँ नेतृत्व चयन नहोउञ्जेल हालकै संयोजकले पार्टी सञ्चालन गर्ने बताएका छन् । उनले पालिका अधिवेशन सम्पन्न भएपछि जिल्ला कमिटी विधानतः भंग भएको र माथिल्लो कमिटीले सचिव र संयोजक चयन गर्ने सामाजिक सञ्जामार्फत जानकारी दिएका छन् ।

आन्तरिक गुटबन्दीले नयाँ नेतृत्व चयन गर्न गर्न नसकेर थलिएको धादिङ माओवादीको पार्टी कार्यालय भवन निर्माणमा पनि विघटित धादिङ जिल्ला संयोजक मनराज भण्डारीले आर्थिक अनियमितता गरेको आरोप लागेको छ ।

निवर्तमान संयोजक रहेका भण्डारीले भवन निर्माणको हिसाब किताब बुझाउन नसकेपछि जिल्ला ईन्चार्ज रहेका पुष्पविक्रम मल्ल लगायतले हिसाब बुझाउन ताकेता गरेका थिए । तर, भण्डारीले हिसाब बुझाउन नसकेपछि पार्टीमा आन्तरिक उजुरी समेत परेको थियो। माओवादी प्रदेश कार्यालयमा दिइएको उजुरी उपर कुनै सुनुवाई नभएपछि अहिले अर्को पक्षले केन्द्रमा उजुरी गर्ने तयारी गरेपछि विवाद बल्झिएको हो ।

केन्द्र, प्रदेश र स्थानीय तहबाट संकलित रकम हिनामिना भएको आरोप लागेको छ । माओवादी धादिङका एक नेताले दिएको जानकारी अनुसार बाग्मती प्रदेश सरकारबाट आएको ४० लाख, निलकण्ठ नगरपालिकाको ३० लाख , गजुरी  गाउँपालिकाको ३० लाख र त्रिपुरा सुन्दरी गाउँपालिकाबाट संकलित ८ लाख गरी जम्मा १ करोड रकम बराबरकोे काम भएको थियो ।

जम्मकट्टेल मुख्यमन्त्री हुँदा पार्टी कार्यालय निर्माणका लागि छुट्याइएको उक्त ४० लाख रकम जिल्ला संयोजक रहेका भण्डारीले हिनामिना गरेको आरोप लागेको थियो । त्यसको छानबिनका लागि पहल स्वयम् जम्मकट्टेलल नै गरेका थिए । अहिले फेरि उनै भण्डारीलाई काखी च्यापेर पुष्पविक्रम मल्ल र जगत सिम्खडा विरुद्ध प्रयोग गर्न जम्मकट्टेलले संयोजकमा दोहोर्याउन चाहेको धादिङका एक माओवादी नेताले बताए ।

सोही संकलित रकमले दुई तला ढलान सम्पन्न गरिएको र त्यसपछिको बाँकी काम रामशरण खत्रीले हेर्नेगरी जिम्मा दिइएको थियो । त्यसका लागि प्रदेश सरकारले २ करोड बजेट छुट्याएपछि ठेक्का प्रक्रिया अघि बढाएर बाँकी काम भइरहेको छ । 

यस विषयमा थप जानकारी लिन माओवादी धादिङका निवर्तमान संयोजक भण्डारीलाई बारम्बार सम्पर्क गर्दा पनि उनको फोन उठेन ।

आइतबार, ०४ जेठ २०८२, १० : २२

प्रतिक्रिया