समाचार टिप्पणी

सरकार छाडेपछि माओवादीको देश दौडाहा अभियान मोह

आइतबार, ०४ जेठ २०८२, १६ : ५६

प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र) अहिले देश दौडाहामा निस्किएको छ । यसअघि तराई मधेश जागरण अभियान सम्पन्न गरेको उसले अहिले फेरि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश दौडाहाका क्रममा नेता कार्यकर्ताहरुसँग भेटघाट र औपचारिक सभामा सम्बोधन गर्दै हिँडेका छन् । यस प्रकारका अभियानले आगामी ८४ को निर्वाचनमा उभार आउने माओवादीको अपेक्षा छ । यस अघिको तराई मधेश जागरण अभियानबाट हौसिएको माओवादीले त्यसलगत्तै यही शुक्रबारदेखि यो अभियान सुरु गरेको हो ।

विगतको साख र गुमेको विश्वास आर्जन गर्न देश दौडाहामा माओवादी नेतृत्व निस्किएको छ । शान्ति प्रक्रियामा आएको करिब दुई दशकको अवधिमा यो माओवादीको पहिलो जनता केन्द्रित अभियान हो । 

यसअघि अपवाद बाहेक चुनावको समयमा मात्रै माओवादी नेताहरु जनता समक्ष गएको देखिन्थ्यो । सहर केन्द्रित माओवादी नेताहरु ग्रामीण भेगमा जान निकै कञ्जुस्याइँ गर्दै आएका थिए ।तर, पछिल्लो समय सत्ताबाट गलहत्याइएको माओवादी आफ्नो बलबुताबाहेक अरु सबै भ्रम हो भन्ने निष्कर्षमा पुगेर पुनः जनता समक्ष फर्किएको छ ।आफ्नै कमजोर अंकगणितले सरकारबाट बाहिरिन बाध्य भएको माओवादीले फेरि गुमेको शक्ति यिनै विभिन्न अभियानबाट परिपूर्ति गर्ने दाउमा लागेको छ ।

पार्टी निर्माणको मूल आधार भनेकै बलियो संगठन हो । त्यसका लागि क्षमता अनुरुप नेता कार्यकर्ताहरुको उचित कार्यविभाजन गर्नु आवश्यक छ । त्यही संरचनाले नै पार्टीको सिंगो पंक्ति परिचालित गर्दै संगठन चलायमान बनाउँछ।तर, माओवादीको सांगठनिक संरचना यस विपरीत प्रचण्डमा निहित छ । उनको आफ्नो स्वेच्छा अनुरुप सांगठनिक जिम्मेवारी तय हुन्छ । प्रचण्डकोे सामान्य आलोचना गरे मात्रै पार्टीबाट बाहिरिएको नेताहरुको फेहरिस्त निकै लामो छ । अनेकौं शीर्ष नेताहरु माओवादीबाट बाहिरिएर घर न घाटको अवस्थामा पुगेका छन् । 

भनिन्छ– संसार बदल्नु छ भने त्यसको सुरुवात आफैंबाट गर्नुपर्छ । तथापि माओवादीमा भने प्रचण्डले आफूबाहेक अरुमा समस्या रहेको देखाउने गर्छन् । नेताकार्यकताहरु पनि दुई वटा अतिबाट ग्रसित छन् । एउटा आलोचना र अर्को प्रशंसा मात्रै गर्ने नेता कार्यकर्ताहरु भएकाले नै माओवादी विभाजित हुन पुगेको हो । त्यहाँ कतिपयमा प्रचण्डको देवत्करण गर्ने प्रवृत्ति व्याप्त छ भने विभाजित घटकहरु आलोचनाबाहेक अरु गर्न जानेका छैनन् ।  प्रचण्डको कडा आलोचना र अन्ध समर्थनकै उपज माओवादीको दुरावस्था निम्तिएको भन्दा अत्युक्ति नहोला ।

किनभने, आलोचना गर्नेलाई किनाराकृत गर्ने र प्रशंसा गर्नेलाई काखी च्याप्ने प्रचण्डको चरित्र हो । सोही कारण अहिले माओवादीमा उनका एसम्यानहरु मात्रै बाँकी छन् । वैचारिक विमती राख्नेहरु सबै बाहिरिसकेका छन् । पार्टीमा आफ्नो समस्या नदेखरे जहिल्यै बाहिरबाटै समाधानको प्रयत्न गर्ने प्रचण्ड प्रवृत्तिको पछिल्लो संस्करण यी दुबै जागरण अभियान हुन् ।आफू र आफ्नो नेतृत्व क्षमतामा रहेको समस्या लुकाउन जागरण अभियानको नाममा भीडभाड बटुल्ने अभियानमा उनी लागेका छन् ।

आइतबार, ०४ जेठ २०८२, १६ : ५६

प्रतिक्रिया