रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि हेर्न मिल्ने इजलासमा सुनुवाइ हुने

सोमबार, ०५ जेठ २०८२, १० : २८

काठमाडौं- पटक–पटक पेसी तोकिँदै हेर्न नमिल्ने हुँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज हेर्न मिल्ने इजलासमा सुनुवाइ हुने भएको छ । 

आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमा उक्त पेसी परेपछि पाँचौंपटक हेर्न नमिल्ने भएको थियो । पटक–पटक हेर्न नमिल्ने भएपछि सोही इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न सर्वोच्च प्रशासनका नाममा आदेश गरेको थियो । 

लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटसँग उनी र पूर्वडीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनालाई विपक्षी बनाउँदै दायर अन्य दुई रिट लगाउमा रहेका छन् । 

वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही दिन लामिछाने र जोशीको तर्फबाट सहकारी प्रकरणमा अन्य दुई रिट पनि दर्ता भएका थिए ।

सोमबार, ०५ जेठ २०८२, १० : २८

प्रतिक्रिया