काठमाडौं- कतारले अमेरिकी एयर फोर्स वनलाई एउटा विमान उपहार दिएको छ । अमेरिकाले यसलाई स्वीकार गरिसकेको छ । यो उपहार स्वीकार गर्ने डोनाल्ड ट्रम्पको निर्णयको निकै आलोचना भइरहेको छ । यसमा राष्ट्रपति ट्रम्पका केही ठुला समर्थकहरू पनि समावेश छन् । ‘रक्षा मन्त्रीले सबै संघीय नियम र विनियमहरू अनुसार कतारबाट बोइङ ७४७ स्वीकार गरेका हुन् ।’
पेन्टागनका प्रमुख प्रवक्ता शन पार्नेलले बुधबार भनेका थिए । विमानमा केही परिमार्जन गरिनेछ । यसपछि यसलाई आधिकारिक रूपमा प्रेसिडेन्टको हवाई यातायातको लागि प्रयोग गर्न सकिनेछ । ह्वाइट हाउसले उक्त उपहार वैध भएको बताएको छ । कतारको शाही परिवारले दिएको यो उपहारको अनुमानित मूल्य ४० करोड डलर छ ।
ट्रम्पको कार्यकाल सकिएपछि नयाँ विमान राष्ट्रपति पुस्तकालयमा पठाइने ह्वाइट हाउसले बताएको छ । राष्ट्रपतिको लागि प्रयोग गर्न सक्नुअघि यो कतारी विमानलाई थप सुरक्षा प्रणालीसहित स्तरोन्नति गर्न लगभग एक वर्ष लाग्न सक्ने बताइएको छ । यसमा आणविक विस्फोटको सामना गर्ने क्षमता र उडानको बिचमा इन्धन भर्ने क्षमता समावेश छ ।
यस्तो स्तरोन्नतिमा लाखौँ डलर खर्च हुनसक्ने सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडीजको डिपार्टमेन्ट अफ डिफेन्स एन्ड सेक्युरिटीका वरिष्ठ सल्लाहकार मार्क क्यान्सियनले भनेका छन् । एक हप्ताअघि कतारले विमान दिन लागेको घोषणाले ठुलो विवाद सिर्जना गरेको थियो । ‘उनीहरूले हामीलाई उपहार दिइरहेका छन् र यसलाई अस्वीकार गर्नु मूर्खता हुनेछ’ उपहारको बचाउ गर्दै ट्रम्पले भनेका थिए ।
अमेरिकी संविधानमा पारिश्रमिक खण्ड भनेर चिनिने एउटा प्रावधान छ । यसले विदेशी सरकारहरूलाई कांग्रेसको अनुमति बिना अमेरिकी सार्वजनिक अधिकारीहरूलाई उपहार दिन निषेध गरेको छ । उपहार लिने कुरामा अझैसम्म कांग्रेसले स्वीकृति दिएको छैन । विमान व्यक्तिगत रूपमा आफूलाई नभएर अमेरिकी रक्षा विभागलाई दिइन लागेकोले यो लिनु वैध भएको ट्रम्पको तर्क छ । पद छोडेपछि यसलाई प्रयोग नगर्ने कुरामा उनले जोड दिएका छन् ।
एयर फोर्स वनको फ्लीटमा हाल दुई वटा ७४७–२०० जेट छन् । यी विमान १९९० देखि प्रयोगमा छन् । यसका साथै अरू केही साना ७५७ विमानहरू पनि फ्लीटमा समावेश छन् । ह्वाइट हाउसले बोइङलाई दुई थान ७४७–८ विमानको ठेक्का दिएको थियो । तर कम्पनीले यसको डेलिभरीमा ढिला हुने बताइरहेको छ । यसकारण ट्रम्प बोइङप्रति असन्तुष्ट छन् ।
ट्रम्पको टोलीले उनको पहिलो कार्यकालमा नै ७४७–८ किन्न खोजेको थियो । तर कम्पनीले बारम्बार यसको डेलिभरीमा ढिलाइ गर्यो । अब पनि अर्को दुई तीन वर्षअघि कम्पनीले विमान दिने कुनै छाँट छैन । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल–थानीले यो उपहार सरकारले सरकारलाई दिन थालेको बताएका छन् ।
‘यसको व्यक्तिगत सम्बन्धसँग कुनै सम्बन्ध छैन । न त अमेरिकी पक्षबाट, न कतारी पक्षबाट । यो दुई रक्षा मन्त्रालय बिचको मामिला हो’ उनले भनेका छन् । -एजेन्सी
प्रतिक्रिया