काठमाडौं- मध्यपहाडी लोकमार्ग अभियानको क्रममा रुकुम पूर्व पुगेका माओपादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार पूर्वसहकमी डा.बाबुराम भट्टराईलाई ‘बुद्धि नभएको डाक्टर’ भन्दै कडा आलोचना गरे । उनको उक्त आलोचना व्यक्तिगत तहमै ओर्लिएर गरिएको थियो ।
प्रचण्डकै पूर्वसहकर्मी रहेका बाबुराम नै यस्ता पात्र हुन्, जसले माओवादीलाई शान्तिप्रक्रियामा ल्याएका थिए । उनै बाबुराम जसले प्रचण्डलाई गत निर्वाचनमा गोरखाको आफ्नै निर्वाचन क्षेत्र समेत सुम्पिएका थिए । तिनै बाबुरामकै निम्नस्तरको आलोचनामा प्रचण्ड उत्रिएपछि यो विषय अहिले निकै चर्चा परिचर्चा हुन थालेको छ ।
यी दुईको सम्बन्धका आयाम केलाउन माओवादी जनयुद्धतर्फ फर्कन पर्ने हुन्छ । प्रचण्डले नेतृत्व गरेको जनयुद्धलाई शान्तिप्रक्रियामा ल्याउन उनै बाबुरामको मुख्य भूमिका रहेको थियो ।
युद्धरत माओवादीको चर्चित चुनवाङ बैठकको रणनीतिकार यिनै बाबुराम हुन् । उनैले तत्कालीन सात दलसँग मिलेर निरकुंश राजतन्त्र विरुद्ध संघर्ष गर्ने योजना अनुरुप माओवादीले लोकतान्त्रिक गणतन्त्रको नीति तय गरेको थियो । त्यसकै उपज १२ बुँदे सहमति हुँदै ६२–६३ को जनआन्दोलन हुँदै आजको अवस्थामा मुलुक पुगेको हो ।
यो पनि पढ्नुस्
माओवादीको शान्तिपूर्ण अवतरण : प्रचण्डपथ कि बाबुरामपथ ?
बाबुरामले माओवादी शान्ति प्रक्रियामा ल्याउन मात्रै भूमिका खेलेनन् । माओवादी जनयुद्धको उचाइ आर्जन गर्नु पनि उनकै उपज हो । समानान्तर सरकारको प्रमुख भएर युद्धकालमा काम गरेका भट्टराईको प्रबुद्ध व्यक्तित्वले नै आम युवा माओवादीतर्फ आकर्षित भएका थिए ।
माओवादी युद्धकालमा पार्टीभित्रै लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पेश गर्दा बाबुरामले प्रचण्डबाट कारबाही समेत भोगेका थिए । अन्ततः चौतर्फी प्रतिकूलतापछि प्रचण्ड बाबुरामकै एजेण्डामा बाध्य भएर सहमत भएका हुन् । शान्तिप्रक्रियामा आएयता पनि पार्टीभित्रको अन्तरसंघर्षमा अर्का नेता मोहन बैद्यसँग नजिक हुँदै बाबुरामलाई कमजोर बनाउने प्रयत्न गरिरहन्थे ।
वैद्यको विद्रोहको लाइन र बाबुरामको शान्ति र संविधानको एजेण्डाको बीचमा बसेर प्रचण्डले आफू अनुकूल ती दुई नेताहरुलाई उपयोग गर्दै आइरहेका थिए । वैद्यको विद्रोहको लाइन अनुरुप अलगै पार्टी खालेर विभाजित भए भने प्रचण्ड बाबुराम एउटै पार्टीमा रहेका थिए ।
बाबुराम र प्रचण्ड माओवादी आन्दोलनमा एक अर्काका परिपूरकका रुपमा चित्रित गरिए पनि प्रचण्डसँग वैचारिक रुपमै असहमत भएर २०७२ को संविधान निर्माण पछि बाबुराम अलग भएका हुन् । माओवादी जनयुद्धको शान्तिपूर्ण अवतरण गराएर संविधानसभाबाट संविधान निर्माण बाबुरामकै एजेण्डा हुन् । अहिले बाबुरामले पार्टी छाडेर अलग भएपनि माओवादी केन्द्र बाबुरामकै शान्तिपूर्ण राजनीतिक एजेण्डाकै आधारमा चलेको छ ।
जनयुद्धदेखि संविधान निर्माणको एउटा चरण सम्पन्न भइसकेकाले अब समृद्धिको यात्रा तय गर्नुपर्ने भन्दै बाबुरामले कम्युनिष्ट विचारधारा परित्याग गर्दै नयाँ शक्ति निर्माण गरेका थिए । अहिले नयाँ शक्ति जसपा हुँदै उनी नेपाल समाजवादी पार्टीको नेतृत्व गरेका छन् । प्रचण्ड भने पूर्ववत् माओवादीकै प्रमुख घटकको नेतृत्वमै छन् ।
प्रतिक्रिया