काठमाडौं- तत्कालीन नेकपा(माओवादी)का शीर्ष नेता डा.बाबुराम भट्टरार्ईका विश्वासपात्रका रुपमा विश्वदीप पाण्डे र गंगानारायण श्रेष्ठ चिनिन्थे । यी दुबै हरेक प्रतिकूल परिस्थितिमा पनि बाबुरामलाई साथ दिएका पात्र हुन् ।
माओवादी युद्धकालमा बाबुराममाथि कारबाही गरिएको बेलादेखि पछिल्लो समय नयाँ शक्ति हुँदै समाजवादी पार्टीमा समेत यी नेताद्वय बाबुरामसँगै थिए । तर, बाबुरामको अस्थिरता र पार्टीले दलीय आकार ग्रहण नगर्दा एकपछि अर्को नेताले उनलाई छाड्ने क्रम निरन्तर बढ्यो । सोही क्रममा देवेन्द्र पौडेल, देवेन्द्र पराजुली, कल्पना धमला लगायतले बाबुरामको साथ छाडे ।
बाबुरामको पारिवारिक सदस्य जसरी युद्धकालदेखि सँगै रहेका विश्वदीपले पनि गत वर्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टिका लगाएर अन्तिमसम्म साथ दिएका उनी पनि फर्किए । त्यसपछि माओवादीमा एकता गर्ने विषयमा बाबुरामसँग सहमति हुन नसक्दा गंगानारायण पनि छुट्टिएर अलगै नेसपा गठन गरे । उनले उपेन्द्र यादवको दलमा बाबुराम समाहित भएर बाहिरिँदा सँगै आएका महिन्द्रराय यादवसँग मिलेर अलगै नेसपा गठन गरेका थिए ।
अहिले सोही दल पनि माओवादीसँग एकता गर्ने हतारोले विभाजित हुन लागेको छ । गंगानारायण तत्काल एकता गर्ने पक्षमा छन् । उनी माओवादी केन्द्रकै चुनाव चिन्ह लिएर सिन्धुलीबाट बागमती प्रदृशसभा सदस्यमा निर्वाचित भएका हुन् । अर्का यादव भने सर्लाही-२ बाट माओवादीको चुनाव चिन्ह लिएर निर्वाचित भएका हुन् ।
गंगानारायणले यही जेठ १२ गते प्रचण्डसँग एकता गर्ने निर्णय गरिसकेका छन् भने अध्यक्ष रहेका यादव भने तत्काल एकता नगर्ने अडानमा रहेका छन् ।पार्टी एकताको विषयमा साझा सहमति हुन नसकेपछि बाबुरामबाट विभाजित भएको नेसपा फेरि फुट्ने निश्चित भएको हो ।
प्रतिक्रिया