कम्युनिष्टहरू नसुध्रिए ०८४ मा जनताले बढार्ने झलनाथ खनालको चेतावनी

शनिबार, १० जेठ २०८२, १५ : ५६

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले कम्युनिष्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्ने बताएका छन् । नेता खनालले सबैभन्दा ठुला पार्टी भनिएका कांग्रेस र एमाले समेत आफ्नो पार्टीको स्वार्थ पुरा गर्न भ्रष्टाचार मा चुर्लुम्म डुबेको बताए । 

शनिबार नेकपा (एकीकृत समाजवादी) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ द्वारा आयोजित पार्टी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका गल्तीलाई सच्याउँदै र अनुभवबाट सिक्दै एक्लै चुनाव लड्ने गरी कार्यकर्तालाई निर्देशन दिए ।  नेता खनालले एकीकृत समाजवादी  कांग्रेस र माओवादीसँग सत्ताका लागि मिल्न गएका कारण राष्ट्रिय पार्टी हुन नसकेको समेत स्पष्ट पारे ।

उनले भने, ‘हाम्रो पार्टी राष्ट्रिय पार्टी नहुनुमा कांग्रेस र माओवादीसँग सत्ताको लागि मिल्न गएको र विगतको चुनावमा हाम्रो विचार, सिद्धान्त र लक्ष्यलाई जनतासँग प्रस्ट पार्न नसकेकोले हो ।’

उनले पार्टी नेतृत्वले गरेको गलत निर्णयका कारणले पनि एकीकृत समाजवादी  राष्ट्रिय पार्टी बन्न नसकेको बताए ।  नेता खनालले नेकपा एमालेलाई दक्षिणपन्थीहरूले नेतृत्व गरिरहेका कारण पार्टी अधोगति र पतनको बाटोतिर हिँडिरहेको समेत बताए ।

शनिबार, १० जेठ २०८२, १५ : ५६

प्रतिक्रिया