काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन् ।
सोमबार बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्नेगरी देउवाले पदाधिकारी बैठक बोलाएको मुख्यसचिव कृष्ण पौडेलले बताएका छन् ।कांग्रेसका एक पदाधिकारीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएपछि मुख्यगरी यस विषयमा छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए ।
बैठकमा क्रियाशील सदस्यता नवीकरणबारे क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक गगन थापाले पाटी पदाधिकारीलाई ब्रिफिङ गर्नेछन् । मुख्यसचिव पौडेलले महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्थाबारे बैठकमा जानकारी गराउने बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार गृह मन्त्रालय अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईलाई कार्यालयमा छापा मारेर नियन्त्रणमा लिएर उनका डिभाइस जफत गरेपछि शंकाको सुई गृहमन्त्री लेखकसम्म पुगेको छ ।
यसबारे कांग्रेसका नेताहरूबिच लेखकले राजीनामा दिनुपर्ने र दिन नहुने भन्नेमा फरक फरक धारणा बाहिर आइसकेका छन् ।
प्रतिक्रिया