बागमती सरकारको नीति तथा कार्यक्रम संसद्‌मा प्रस्तुत (पूर्णपाठ)

बुधबार, १४ जेठ २०८२, १५ : ३५

काठमाडौं- बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संसद्‌मा प्रस्तुत भएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार बसेको प्रदेशसभा बैठकमा सरकारका आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गरेका हुन् ।

संविधान प्रदत्त तथा कार्य विस्तृतीकरण प्रतिवेदनमा उल्लिखित प्रदेशको एकल अधिकार कार्यान्वयनमा विशेष जोड दिएको उनले संसदमा प्रस्तुत गरेको सरकारको नीति कार्यक्रममा उल्लेख गरिएको छ । संविधानको व्यवस्था भए अनुसारको साझा अधिकारको कार्यान्वयनमा समन्वय र  सहकार्य गर्न नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रदेशका सबै क्षेत्रगत नीति कार्यक्रम कार्यान्वयनमा विपद् संवेदनशीलतालाई आत्मसात् गर्दै तहगत सरकारको समन्वयमा भौतिक संरचनाको पुनर्निर्माण र पुनःस्थापनालाई प्राथमिकता दिने जनाएको छ । 

सरकारले भौतिक पूर्वाधार निर्माणमा एकद्वार प्रणाली अवलम्बन गर्ने, बहु वर्षीय योजनाहरूको मापदण्ड निर्धारण गरी आर्थिक वर्षको पहिलो चौमासिकभित्रै स्रोत सुनिश्चितता प्रदान गर्ने जनाएको छ ।

प्रदेश गौरवका आयोजना, बहु वर्षीय आयोजना र क्रमागत आयोजनाहरू तोकिएको समयभित्रै सम्पन्न गर्ने,  आयोजना छनौट पद्धतिलाई व्यवस्थित र पारदर्शी बनाउने तथा बजेट निर्माण र कार्यान्वयन प्रक्रियामा सुशासन कायम गर्न प्रदेश आयोजना बैङ्क व्यवस्थापन सूचना प्रणालीलाई तहगत आबद्धता कायम गरी सञ्चालन गर्ने सरकारको नीति कार्यक्रम रहेको छ ।

सरकारी भवनहरूको निर्माणमा एकद्वार प्रणाली लागू गर्ने, ‘एकीकृत बस्ती, समृद्ध सहरको नीति’ अन्तर्गत भौतिक पूर्वाधारका क्षेत्रमा सार्वजनिक तथा निजी लगानीलाई प्रवर्द्धन गर्दै एकीकृत बस्ती विकास गुरुयोजना तर्जुमा गरी प्रदेशभित्रका उदीयमान सहर स्थापना गर्ने कार्यक्रम अघि बढाउने सरकारको तयारी रहेको छ ।

बुधबार, १४ जेठ २०८२, १५ : ३५

प्रतिक्रिया