नेपालका लागि २.३ अर्ब डलर लगानी गर्ने एडीबीको रणनीति सार्वजनिक

विहीबार, ०५ असार २०८२, १३ : २६

काठमाडौं- एसियाली विकास बैंक (एडीबी) ले सन् २०२५ देखि २०२९ सम्मका लागि नेपालको नयाँ कन्ट्री पार्टनरसिप स्ट्राटेजी सार्वजनिक गर्दै हरित, निजी क्षेत्र–लक्षित र जलवायु प्रतिरोधी विकास मोडेललाई रणनीतिक प्राथमिकताका रूपमा अघि सारेको छ।

एडीबीका नेपालका कन्ट्री डाइरेक्टर आर्नो कुस्वाले दिएको जानकारी अनुसार, यो रणनीतिले नेपालको दिगो, समावेशी तथा रोजगारीमूलक आर्थिक विकासलाई उत्प्रेरित गर्दै निजी लगानी, पूर्वाधार विस्तार, सीप विकास, अन्तर्राष्ट्रिय व्यापार एकीकरण र विपद्–प्रतिकूलताबाट जोगिने क्षमता वृद्धिमा जोड दिनेछ।

तीन प्रमुख प्राथमिकताहरूमा रोजगारी सिर्जना हुने खालको हरित रूपान्तरण, गुणस्तरीय मानव पुँजी विकास, तथा जलवायु परिवर्तनप्रति सहनशील सार्वजनिक सेवाको विस्तार उल्लेख गरिएको छ।

साथै, नेपाल सरकारको ‘हरित, सहनशील र समावेशी विकास’ अवधारणालाई समेत समेटिएको यो रणनीति १६औं पञ्चवर्षीय योजनासँग मेल खाने गरी तयार पारिएको एडीबीले स्पष्ट पारेको छ। रणनीतिमा संघीय क्षमता निर्माण, डिजिटल रूपान्तरण, महिला तथा पछाडि पारिएका वर्गको सशक्तीकरणजस्ता विषय पनि समावेश छन्।

एडीबीले नेपालका लागि आगामी चार वर्षमा करिब २.३ अर्ब डलर लगानी गर्ने बताएको छ। यसमा अनुदानसहितका परियोजना पनि समावेश हुनेछन्। साथै, हरित बन्ड, विषयगत बन्ड र नेपाली मुद्रामा आधारित बन्डहरू जारी गरी वित्तीय स्रोतको विस्तार गर्ने योजना पनि अघि सारिएको छ।

यो रणनीति विश्व बैंक समूहसँगको साझेदारीमा तयार पारिएको जनाउँदै एडीबीले सहलगानी, नीतिगत संवाद र परियोजना समीक्षा प्रक्रियाहरूलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएको छ। नेपालमा एडीबी र विश्व बैंक संयुक्त रूपमा कुल विकास सहयोगको झन्डै ७० प्रतिशत हिस्सा ओगट्ने संस्थाका रूपमा रहेको छ।

एडीबीको यो रणनीति वर्तमान विश्व आर्थिक अस्थिरता र नेपालको संक्रमणकालीन अवस्थालाई दृष्टिगत गर्दै लचिलो, समावेशी र दीर्घकालीन आर्थिक सुदृढीकरणमा केन्द्रित रहेको बताइएको छ।

विहीबार, ०५ असार २०८२, १३ : २६

प्रतिक्रिया