सरकारले सबै वर्ग, क्षेत्र र समुदायलाई समेट्ने गरी बजेट बनाएको छ : मन्त्री यादव

शनिबार, ०७ असार २०८२, १२ : ३१

काठमाडौं- खानेपानीमन्त्री प्रदीप यादवले यस पटक बनाइएको बजेट सबै क्षेत्र, वर्गलाई समेट्ने र जनमुखी भएको बताएका छन् । 

जनता समाजवादी पार्टीको प्रथम संघीय परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटले सबै वर्ग, क्षेत्र र समुदायलाई समेट्ने गरी बनाएको बताएका हुन् ।

उनले भने, “बजेट मन्त्री मुखी र क्षेत्रमुखी बनायो बनायो भन्ने केहीले हल्ला चलाएका छन् । त्यो गलत हो, यस पटकको बजेट जनमुखी, समावेशी र विकासमुखी छ, यतिहासिक छ ।”

वर्तमान सरकारको प्राथमिकता ग्रामीण तथा दुर्गम क्षेत्रमा आधारभूत सेवा पुर्‍याउने रहेको बताउँदै, मन्त्री यादवले खानेपानी, सिचाँई, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा बजेटले विशेष ध्यान दिएको जानकारी दिए।

उनले भने, “यस पटकको बजेट मन्त्री मुखी भयो भन्नु गलत हो । रातो किताब हेर्नु होला मैले मेरो निर्वाचन क्षेत्रमा बजेट नै हालेको छैन । म चुनौती दिन्छु, सबैलाई एकै तराजुमा जोख्नु हुँदैन । जहाँ आवश्यकता छ त्यहाँ बजेट हालेका छौँ ।”

मन्त्री यादवले बजेटले मुलुकको आर्थिक सुधार, रोजगारी सृजना,सामाजिक न्याय र समतामूलक समाज निर्माणमा सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गर्दै सबैले सकारात्मक सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।
 

शनिबार, ०७ असार २०८२, १२ : ३१

प्रतिक्रिया