काठमाडौं- नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले आर्थिक वर्ष २०८२/८३ को बजेट १६ औं योजनाको उद्देश्य र सोचसँग तालमेल नमिलेको बताएका छन् ।
शनिबार प्रतिनिधिसभा बैठकमा विनियोजन शीर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद सापकोटाले १६ औं योजनाको उद्देश्यमा समेटिएका सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्नेतर्फ स्पष्ट मार्गचित्र नभएको दाबी गरे । उनले बजेटमा र यस आर्थिक वर्षमा डेडिकेटेड र ट्रंक लाइनको विवादित बक्यौता रकम उठाउने बारेमा स्पष्ट योजना नभएको भन्दै ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्रीको ध्यानाकर्षण गराए ।
सांसद सापकोटाले विवादित बक्यौता नउठाउँदा राष्ट्रप्रति गम्भीर घात हुने बताउँदै बजेटमा व्यवस्था गरिएको टेक एन्ड पे गम्भीर प्रकारको कमजोरी भएकोले मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण मेरुदण्ड मानिएको ऊर्जा क्षेत्र ध्वस्त हुने बताए । यो प्रस्तावबाट सरकार पछि हटेर ऊर्जा क्षेत्रको वातावरण सङ्लो बनाउन मेहनत गर्नुपर्नेमा जोड दिए ।
सांसद सापकोटाले भने, ‘विरोधमा रहनुभएका माननीयज्यूहरूको माग सम्बोधनका लागि सरकारको जोडदार पूर्वक ध्यानाकर्षण गराउन चाहन्छु । निरङ्कुश शैलीमा बलजफत संसद् चलाउने यो सुहाउँदो र उपयुक्त तरिका भएन । यसले लोकतन्त्रलाई गिज्याइरहेको छ र हाम्रो संसद्को ओज गरिमालाई बढाएन भनेर दुःख समेत व्यक्त गर्न चाहन्छु । र विकास निर्माणका बारेमा हामी चर्चा गरिरहेका छौँ । विकासको छलफल गर्दा अहिले हामी १६ औं योजनालाई मार्गदर्शन मानेर विकास निर्माणका सबै बजेटका योजनाहरू सम्पादन गरिनुपर्ने हो । आज १० वटा विषयगत छलफलमा सहभागी छौँ । समग्र बजेटको ट्रेन्ड हेर्दा र विनियोजन गरिएका शीर्षकहरूको समेत छलफलमा भाग लिँदा के भन्न सकिन्छ भने १६ औं योजनाको उद्देश्य र यसको सोचसँग तालमेल मिलेको देखिँदैन ।’
उनले टेक एण्ड पे को प्रस्तावबाट सरकार पछाडि हट्नुपर्नेमा समेत जोड दिए । उनले विरोधमा रहेका दलको माग सम्बोधनका लागि ध्यानाकर्षण गराउँदै निरंकुश शैलीमा बलजफत संसद् चलाउनु सुहाउँदो नभएको टिप्पणी गरेका छन् ।
प्रतिक्रिया