काठमाडौं- नेकपा एमाले कोशी काठमाडौं सम्पर्क मञ्चले नेता कार्यकर्तालाई पार्टी,सरकार र समाजका विषयमा आधारभूत ज्ञान दिने उद्देश्यले प्रशिक्षण दिएको छ ।
प्रदेश र जिल्लाका पदाधिकारी तथा सदस्यहरूलाई अलग अलग विषयहरूमा नियमित प्रशिक्षण सञ्चालन भइरहेको सम्पर्क कमिटीका अध्यक्ष नवराज घिमिरेले जानकारी दिएका हुन् ।
घिमिरेका अनुसार प्रदेश तहका नेता कार्यकर्तालाई १६ वटा विषय र जिल्ला तहका कार्यकर्तालाई ४ वटा विषयमा प्रशिक्षण भइरहेको छ । यो प्रशिक्षण गत वर्ष देखि नियमित सञ्चालन भइरहेको छ । आगामी दुई हप्तामा पहिलो चरणको प्रशिक्षण समापन हुने घिमिरेले जानकारी दिए ।
च्यासलमा हरेक शनिबार करिब तीन घण्टा यो प्रशिक्षण सञ्चालन हुने गरेको छ । घिमिरेका अनुसार प्रदेश तहका पदाधिकारी तथा सदस्यलाई उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले मार्गदर्शन सिद्धान्त मार्क्सवाद र जनताको बहुदलीय जनवाद र ऐतिहासिक भौतिकवाद विषयमा प्रशिक्षण दिएका छन् । स्थायी कमिटी सदस्य डा।राजन भट्टराईले नेपालको भूराजनीति र कूटनीतिक सम्बन्ध बारेमा प्रशिक्षण दिएका छन्।
यसैगरी पार्टी लेखा आयोगका अध्यक्ष डा।पुष्प कँडेलले मार्क्सवादी अर्थशास्त्र र मार्क्सवादी राजनीतिका विषयमा प्रशिक्षण दिएका छन् । यस्तै मार्गदर्शक सिद्धान्त लेनिनवाद र केपी ओली सरकारका काम भ्रम र यथार्थ विषयमा सांसद ईश्वरी रिजालले प्रशिक्षण दिएका छन् ।
समाजको परिचय र विकास क्रमका बारेमा प्रा.डा. रमेश भट्टराई र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्व अर्थमन्त्री युवराज खतिवडाले अर्थतन्त्र र सकारका कामका विषयमा प्रशिक्षण दिएको घिमिरेले जानकारी दिए। यसै गरी प्रचारात्मक कामको महत्त्व र सूचना प्रविधिका विषयमा स्थायी समितिका सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले प्रशिक्षण दिएका छन् ।
प्रतिक्रिया