काठमाडौं - प्रतिनिधिसभामा बजेट पुस्तिका च्यातिएपछि प्रदेशमा पनि च्यात्न थालिएको छ । संघीय संसदमा त सत्तारुढ दलकै सांसदहरुले बजेटप्रति निकै अप्रिय शब्दमा आलोचना गरेका छन् । सरकारमा हालीमुहाली गरेका केही मन्त्रीहरुले राज्यको सम्पत्तिमाथि बजेटको नाममा लुट मच्चाएको उनीहरुले आरोप लगाएका छन् । यस्तै घटना गण्डकी प्रदेश सभामा पनि दोहोरिएको छ । प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री समेत रहेका रेशम जुग्जालीले रोष्ट्रममै बजेट पुस्तिका च्यातेका छन् ।
बजेटले म्याग्दीलाई सम्बोधन गर्न नसकेको भन्दै उनले आजको प्रदेश सभा बैठकमा बजेटको किताव च्यातचुत पारेका हुन् ।
सांसद जुग्जालीले ‘प्रदेशका अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दी भन्ने भूगोल पनि छ भन्ने थाहा छ कि छैन ?’ भन्दै आक्रोशपूर्ण प्रश्न गरेका थिए ।‘थाहा छैन भने मैरे खर्चमा एकपटक अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउँछु’, उनले भने, ‘त्यो साढे तीन करोड पनि चाहिएन, भौतिक मन्त्री ज्यू, मेरो भागमा परेको दुई करोड पनि फिर्ता लैजानुस्, सरकारको यो बजेट बहिष्कार गर्दै पीडित माननीयहरुको तर्फबाट म सभामुखको अनुमति लिएर यो पुस्तिका च्यात्न चाहन्छु, ९च्यात्दै ०।’
प्रतिक्रिया