काठमाडौं- चीनले वातावरणमैत्री उर्जा उत्पादन र अन्तरदेशीय विद्युत् सञ्जाल विस्तारलाई प्रोत्साहन गर्नका लागि सातवटा नयाँ अन्तर्राष्ट्रिय मापदण्ड सार्वजनिक गरेको छ ।
राजधानी बेइजिङमा आयोजित कार्यक्रममा वैश्विक उर्जा अन्तरजडान विकास तथा सहयोग संस्थाले यी मापदण्डहरु घोषणा गरेको हो । मापदण्डहरुमा हावा, घाम र पानीबाट तयार हुने उर्जा प्रणालीको योजना कसरी बनाउने, स्रोतको मूल्याङ्कन कसरी गर्ने, उपकरणहरुको जाँच र परीक्षण कसरी गर्ने तथा एक देशबाट अर्को देशसम्म विद्युत् सञ्जाल कसरी विस्तार गर्ने भन्ने विषय समेटिएका छन् ।
संस्थाका अध्यक्ष श्सिन बाओआनले यी मापदण्डहरु चीनसहित विभिन्न देशहरुमा गरिएको अनुसन्धान र सफल अभ्यासहरुको आधारमा तयार गरिएको जानकारी दिए उनले भने, “यी मापदण्डहरुले स्वच्छ उर्जा विकासलाई तीव्र बनाउने र अन्तरदेशीय सञ्जाल विस्तारमा नयाँ ढोका खोल्ने छन् ।”
चीनको बजार व्यवस्थापन निकायका प्रमुख सियाओ हानले एउटै मापदण्डको प्रयोगले प्राविधिक अवरोध हटाउने, काम गर्ने प्रक्रिया सरल बनाउने र उर्जा आदानप्रदानलाई प्रभावकारी बनाउने उल्लेख गरे ।
मलावीका चीनस्थित राजदूत एलन चिन्टेढ्जाले मापदण्डको प्रभाव विशेषगरी विकासोन्मुख देशहरुमा अझ बढी हुने बताए उनले भने, “यसले उर्जा विस्तारको लागत घटाउने, काम गर्ने गति बढाउने र उद्योगधन्दा विकासमा सहयोग पुर्याउनेछ ।”
कार्यक्रममा करिब ३० वटा देश तथा संस्थाका प्रतिनिधिहरु र तीन सयभन्दा बढी उर्जा विज्ञहरुको सहभागिता थियो । वैश्विक उर्जा अन्तरजडान विकास तथा सहयोग संस्था चीनमा स्थापना गरिएको एक गैरनाफामुखी अन्तर्राष्ट्रिय संस्था हो, जसमा १४३ देशका एक हजार ३९० सदस्य छन् । संस्था उर्जा, यातायात, मौसम, प्रविधि, वित्त र अनुसन्धानका विभिन्न क्षेत्रमा क्रियाशील छ । -सिन्ह्वा
प्रतिक्रिया