विपद्जन्य सूचना प्रवाह प्रभावकारी बनाउन कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्रीबीच छलफल

सोमबार, १६ असार २०८२, १४ : ०३

काठमाडौं– विपदजन्य सूचना प्रवाह प्रणालीलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङबीच छलफल भएको छ । 

शहरी विकास मन्त्रालयमा आज भएको भेटमा सूचना प्रवाहका लागि सञ्चार मन्त्रालयले गर्न सक्ने कामका बारेमा छलफल भएको हो । आइतबार कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् जोखिमलाई ध्यान दिँदै मौसम पूर्वानुमानपछिको पूर्व सूचनालाई प्रभावकारी बनाउने निर्णय भएको थियो । 

भारी वर्षा भएको समय र क्षेत्र वरपर सुरक्षित रहन स्थानीयवासीलाई एसएमएस पठाउने, स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम बुलेटिन तथा सूचना प्रसारण गर्ने, मोबाइलमा ‘अर्ली वार्निङ रिङ’ बजाएर जोखिम क्षेत्रमा समयमै सचेत गराउने विषयमा कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्री गुरुङबीच छलफल भएको छ । सो क्रममा सञ्चारमन्त्री गुरुङले सरोकारवाला निकायहरूसँग छलफल गरेर आवश्यक समन्वय गर्ने बताए । 

कार्यवाहक प्रधानमन्त्री सिंहले विपद्को समयमा मौसमपूर्वानुमानअनुसार पूर्व सूचनालाई प्रभावकारी बनाउन सके सम्भावित जोखिम कम गर्न र क्षति हुन नदिन महत्त्वपूर्ण भूमिका रहने भन्दै सूचना प्रवाह प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए ।

 
 
सोमबार, १६ असार २०८२, १४ : ०३

प्रतिक्रिया