काठमाडौं- चीनले दम्पतीहरुलाई सन्तान जन्माउन प्रोत्साहन गर्नका लागि परिवारहरुलाई नगद सहायता उपलब्ध गराउने योजना बनाएको छ ।
ब्लुमबर्गका अनुसार वर्षौंदेखिको जनसंख्या घट्दो प्रवृत्तिले विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई चुनौती दिएपछि यस्तो योजना अघि सारिएको छ । सरकारले सन् २०२५ देखि नै सुरु हुने राष्ट्रव्यापी योजनाअन्तर्गत प्रत्येक बच्चालाई ३ वर्ष पुग्दासम्म वार्षिक ३६ सय युआन अर्थात् करिब ५०३ अमेरिकी डलर प्रदान गर्ने तयारी गरिरहेको जानकार व्यक्तिहरुलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । चीनले लगभग एक दशकअघि नै एक सन्तान नीति त्यागे पनि, सन् २०२४ सम्म लगातार तीन वर्षसम्म जनसंख्या घटेको देखिएको छ । गएको वर्ष चीनमा जम्मा ९५.४ लाख नयाँ जन्म दर्ता भएका थिए । जुन सन् २०१६ मा एक सन्तान नीति हटाउँदा दर्ता भएका १.८८ करोड जन्मको लगभग आधा मात्र हो ।
घट्दो जन्मदर विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनका लागि एक चुनौती बनेको छ । काम गर्ने उमेरको जनसंख्या घट्दै जाँदा श्रम आपूर्ति र उत्पादकत्वमा खतरा उत्पन्न गरेको छ । सन् २०२३ मा भारतसँग सबैभन्दा धेरै जनसंख्या भएको राष्ट्रको उपाधि गुमाएको चीनको जनसंख्या संयुक्त राष्ट्रसंघको जनसांख्यिक पूर्वानुमान अनुसार सन् २०५० सम्ममा घटेर १.३ अर्ब र सन् २१०० सम्ममा ८० करोडभन्दा तल झर्ने अनुमान गरिएको छ । चिन्ताजनक रुपमा घट्दो विवाह दरका कारण जनसंख्या घट्ने उक्त प्रक्षेपण गरिएको हो ।विवाह दर पछिल्ला करिब ५० वर्षको सबैभन्दा न्यून स्तरमा झरेको छ । एजेन्सी
प्रतिक्रिया