बजारमा अखाद्य बस्तु मिसिएका खाद्य तथा पेय पदार्थ छ्यापछ्याप्ती, उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड

नियामक निकाय मौन

आइतबार, २२ असार २०८२, १० : ४९

काठमाडौं– बजारमा पाइने खाद्य तथा पेय पदार्थमा अखाद्य बस्तु मिसावट गरेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको पाइएको छ । काब्रा ग्रुपद्वारा उत्पादित क्वालिटी डाइजेस्टिभ बिस्कुटमा अखाद्य बस्तु प्लाष्टिक भेटिएको छ भने बरुण बेभरेज आधिकारिक वितरक रहेको पेय पदार्थ स्लासइमा समेत फाहोर मिसिएको पाइएको हो ।

काब्रा ग्रुपको क्वालिटी बिस्कुट प्रालिद्वारा उत्पादित डाइजेस्टिभ बिस्कुटमा प्लाष्टिकजन्य पदार्थ भेटिएको छ । यस्तै बरुण बेभरेज प्रालि वितरक रहेको स्लाइसमा पनि फोहोर जस्तो देखिने कालो बस्तु फेला परेको हो ।  एक पटक नभइ अखाद्य बस्तु मिसिएको बिस्कुट पटक पटक भेटिएर जानकारी गराउँदा पनि कुनै सुधार नभएको उक्त सामग्री बिक्री गर्न राखेको पसल तथा होटेल व्यवसायीले गुनासो गरेका छन् ।

सामाखुसीको शेर्पा होटलका सञ्चालक रहेका जाम्याङ शेर्पाले पटक पटक अखाद्य बस्तु मिसावट भएका सामग्री फेला परेको बताएका छन् । उनले यसबारेमा सम्बन्धित वितरकलाई पटकपटक सचेत गराउँदा  समेत नियन्त्रण गर्नुको साटो झनै दाहोरिँदै फेला परेको बताए ।

शेर्पाका अनुसार उनको पसलमा बेच्न राखिएका स्लाइस र बिस्कुट उपभोक्ताले किनेर उपयोग गर्न खोज्दा त्यसमा अखाद्य बस्तु देखिएपछि बिक्रेतालाई नै र्फिता गरेका थिए ।  

‘यसअघि पनि दुई पटक सम्म कोक र बिस्कुटमा पनि भेटिएको थियो । त्यसबारे आधिकारिक वितरकलाई जानकारी गराउँदा पनि कुनै रोकथाम भएको छैन ।’, होटल सञ्चालक शेर्पाले गुनासो गरे ।

स्लासमा फोहोर जस्तो देखिने कालो बस्तु भेटिएको छ भने बिस्कुटभित्र प्लाष्टिक फेला परेकोबारेमा सम्बन्धित खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनीका आधिकारिक  बिक्रेतालाई सम्पर्क गर्दा उनीहरुले त्यसबारेमा सामान्य त्रुटि भएको भन्दै पन्छिए । उनीहरुले उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड गर्दै यसलाई सामान्य ढंगले लिँदै गैर जिम्मेवार जवाफ दिएका छन् ।यसरी दैनिक उपभोग्य सामग्रीमा अखाद्य वस्तु मिसावट भएको पटक पटक भेटिँदा पनि नियामक निकायको ध्यान जान सकेको छैन ।

यसबारेमा खाद्य गुणस्तर तथा उपभोक्ता हित संरक्षण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनलाई सम्पर्क गर्दा उनले नियमन बढाएर कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

 
 
 
 
 
आइतबार, २२ असार २०८२, १० : ४९

प्रतिक्रिया